बाख्रा बेचेर मालामाल

वसन्तप्रताप सिंह

बझाङ — नामजस्तो जिन्दगी कहाँ हुन्छ र ? नाम आनन्द भए पनि थलारा–६ पिखेतका आनन्द रोकायाको जीवन भने बेचैन थियो । उनी गरिब परिवारमा जन्मिएका थिए । पाँच छोराछोरीको लालनपालन गर्न उनका आमाबाबुलाई हम्मे थियो ।

बाख्रा स्याहार्दै बझाङका रोकाया दम्पती । तस्बिर : वसन्तप्रताप

अभावैअभावमा हुर्कंदै गए, आनन्द । २० वर्षको उमेरमा २०५३ सालमा उनको विवाह भयो, छिमेकी मालुमेलाकी धनलक्ष्मी रोकायासँग । त्यसलगत्तै बाबु बनेका उनका बर्सेनि सन्तान थपिंदै गए । अरू भाइहरूको पनि विवाह भयो । गरिबीले झन् च्याप्दै गयो । परिवारको संख्या बढदै गएपछि उनीहरूका चार भाइ सँगै बस्न नसक्ने अवस्थामा पुगे । अलगअलग भए । अब झन् परिवारको पूर्ण जिम्मेवारी उनकै थाप्लोमा आइलाग्यो । आनन्दको दैनिकी बेचैनीले भरिन थाल्यो ।


‘आफू पढ्नु कि तीन छोरा छोरीलाई पाल्नु ?’ उनले त्यो बेलाका दु:ख सम्झिए, ‘छोरीहरू पनि पढ्ने उमेरका भइसकेका थिए । उनीहरूको शुल्क तिर्नकै लागि रकम जुटाउन पढाइ छोडेर भारत गएँ ।’ विवाहपछिका १० वर्ष उनी ६ महिना घर आएर खेतीपातीको काम गर्थे ६ महिना भारतमै मजदुरी गर्थे ।

Yamaha


२०६३ माघ महिनाको कुरा । धनलक्ष्मी भर्खरै जन्मेकी छोरी लिएर अग्रान्न (माघको महिना छोरीलाई घरमा बोलाएर खुवाउने चलन) खान माइत गएकी थिइन् । फर्किंदा माइतीले नातिनीको मुख हेरेबापत एउटा बाख्रा दक्षिणा दिए । उनका माइतीको आर्थिक अवस्था पनि त्यति राम्रो थिएन । धनलक्ष्मी भन्छिन्, ‘दक्षिणा दिनलाई पैसा नभएर आमाले बाख्रो दिनुभएको थियो । मलाई त्यही बाख्रो फल्यो ।’


हुन पनि बाख्रो फल्यो । माइतीबाट ल्याएको बाख्रोले ३ महिनापछि तीनवटा पाठी पायो । उनको घरमा यसरी चमत्कार हुन थाल्यो कि प्रत्येक बाख्राले ६/६ महिनामा २ देखि ३ वटा पाठापाठी पाउन थाले । २ वर्षमै बाख्राको संख्या ३३ पुग्यो । आनन्द पनि भारत जान छाडेर बाख्राकै स्याहारमा लागे । चौथो वर्षमा बाख्राको संख्या बढेर ९७ पुगिसकेको थियो । वर्षमा एक/डेढ लाखका खसी–बोका बिक्री गर्न थालिसकेका थिए ।


अहिले उनी वर्षमा ३ लाखसम्मका बोका बाख्रा बेच्छन् । १ सय २० बाख्रा उनको खोरमा छन् । ‘मेरो त भाग्य नै फेरियो,’ आनन्द भन्छन्, ‘बाख्रा बेचेर छोराछोरीलाई काठमाडौं पढाइरहेको छु । यस्तो दिन पनि आउला भनेर सपनामा पनि सोचेको थिएन ।’


उनले बाख्रा बेचेको रकम भाइको पढाइमा पनि खर्चिए । उनका भाइ अहिले नायब सुब्बा पदमा कार्यरत छन् । आनन्दले दाजुलाई व्यापार थाल्न सहयोग गरे । ‘त्यस्तो त कसैको पनि भएको थिएन,’ स्थानीय जगदीश रोकाया भन्छन्, ‘आनन्दको घरमा चमत्कार नै भएको हो ।’ गाउँलेहरूले यसको श्रेय उनकी पत्नीलाई दिने गरेका छन् । गाउँमा सबैले साँच्चिकै धनलक्ष्मीको रूपमा हेर्ने गरेका छन् ।


बाख्राको मलको उपयोग गर्दै अहिले आनन्द दम्पतीले व्यावसायिक तरकारी खेती थालेका छन् । थलारा गाउँपालिकाको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाबाट तालिम र प्रविधिको सहयोग पाएपछि उनले दुईवटा प्लास्टिक घरमा बेमौसमी तरकारी खेती सुरु गरेका छन् । आनन्द दम्पती अहिले आफ्नो टोलका अरूलाई पनि व्यावसायिक तरकारी खेती गर्न हौस्याइरहेका छन् ।


गाउँलेले जे भने पनि धनलक्ष्मी भने लगनशीलता र धर्यले यहाँसम्म पुगेको बताउँछिन् । ‘गरिबीले गाँजेको थियो । त्यो बेला पनि कहिले आत्तिएनौं,’ उनले भनिन्, ‘अहिले पनि छोराछोरी हुर्काएजस्तो गरी बाख्राका पाठापाठी हुर्काउँछौ । मेहनत गर्‍यौं, त्यही फलेको हो ।’ उनले अहिले आफूहरूको जिन्दगीमा दु:खको पाटो हराएको र घरमा आनन्दको बहार छाएको बताइन् ।


बाख्रापालनसँगै व्यावसायिक तरकारी खेती थालेका उनको बारी र बाख्रा फर्म हेर्नका लागि अहिले छिमेकी गाउँका मानिस पनि आउँछन् । आनन्द र धनलक्ष्मीलाई गाउँपालिकाले अगुवा किसानको दर्जा दिएको छ । उनीहरूलाई बाख्रापालन र तरकारी खेतीको बारेमा सिकाउनका लागि स्रोत व्यक्तिको रूपमा गाउँपालिकाले परिचालन गर्ने गरेको गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए ।

प्रकाशित : भाद्र २७, २०७५ १०:१७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

ठूलो मात्रामा ‘ट्रामाडोल’ बरामद

कान्तिपुर संवाददाता

टीकापुर — टीकापुर –८ डाराबोझीबाट प्रहरीले ३५ हजार २ सय क्याप्सुल ट्रामाडोल औषधि बरामद गरेको छ । उक्त औषधि लागूऔषधको सूचीमा नभए पनि दुर्व्यसनीहरूले प्रयोग गर्छन् ।

ठूलो परिमाणमा ट्रमाडोल औषधि बोकेर जान लागेको से१प ७९८६ नम्बरको मोटरसाइकल र चालकलाई नियन्त्रण गर्न खोज्दा चालक मोटरसाइकिल छोडेर फरार भएको प्रहरीले जानकारी दिएको छ । बरामद औषधि र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रहरीले लागूऔषध दुव्र्यसनीविरुद्धको अभियानअन्तर्गत गाँजा, चरेस र ब्राउन सुगरलगायतको ओसारपसार नियन्त्रण अभियान तीव्र बनाएपछि दुर्व्यसनीले ट्रमाडोललाई लागूऔषधका रूपमा प्रयोग गर्न थालेको इलाका प्रहरीका डीएसपी शिवबहादुर सिंहले बताए ।


‘दुव्र्यसनीले यो औषध्रि प्रयोग गर्दै आएका छन् । औषधिपसलेले पनि बदमासी गरेका हुन् कि भन्ने लागेको छ,’ उनले भने, ‘यसबारे पनि अनुसन्धान अघि बढाउँछौ ।’ टीकापुर अस्पतालमा कार्यरत डा . राकेशकुमार झाका अनुसार यो औषधि चिकित्सकको प्रेसकिप्सनबिना बिक्री गर्न पाइँदैन । औषधिपसलमा पनि अनुमति लिएर मात्र राख्न पाइन्छ । ‘यो औषधि बेचेपछि डाक्टरको प्रेसकिप्सनको फोटोकपी राख्नुपर्छ,’ डा. झाले भने, ‘कानुन कार्यान्वयन गरे औषधिलाई लागूऔषधको रूपमा प्रयोग गर्ने सम्भावना न्यून हुन्छ ।’


लागूऔषध नियन्त्रण अभियानका क्रममा गाउँ, टोल र विद्यालयमा प्रशिक्षण, भेला, अन्तक्र्रिया, पर्चा पम्पलेटिङलगायतका जनचेतनामूलक कार्यक्रम गरिएको डीएसपी सिंहले बताए । उनले भने, ‘लागूऔषध दुव्र्यसनीको विकराल समस्या छ । दुर्व्यसनी शून्यमा झार्ने लक्ष्य छ । लागूऔषध दुव्र्यसन नियन्त्रणमा करिब ९५ प्रतिशत सफलता प्राप्त भएको छ ।’


उनका अनुसार खुला सीमाका कारण लागूऔषध दुर्व्यसनन्यूनीकरण चुनौतीका रूपमा रहेको छ । लुकीछिपी सीमा बजारबाट लागूऔषधका रूपमा प्रयोग हुने औषधि सजिलै ल्याउन सकिने भएकाले लागूऔषध दुर्व्यसनीचुनौतीका रूपमा रहेको हो ।

प्रकाशित : भाद्र २७, २०७५ १०:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT