बारीमै कुहियो तरकारी

डीआर पन्त

डडेलधुरा — बैतडीको पाटन नगरपालिकाको खोड्पे क्षेत्रमा एक महिनादेखिको वर्षाले तरकारी बारीमै कुहिएको छ । कृषकले तरकारीमा कीटनाशक औषधि प्रयोग गर्न नपाएका कारण बारीमै कुहिएको हो ।

बैतडीको पाटन नगरपालिकाअन्तर्गत खोड्पे क्षेत्रमा लगाइएको तरकारी । तस्बिर : डीआर

खोड्पेका कृषक धनबहादुर ऐरले ११ रोपनी जग्गामा लगाएको टमाटर, काउली र सिमी बारीमै कुहिएको बताए । ‘अन्नबाली बँदेलले नष्ट गर्‍यो । वर्षाले तरकारी बारिमै कुहियो,’ उनले भने । तरकारी खेती गर्ने यहाँका ३४ परिवारको बालीनाली नष्ट भएपछि बिचल्लीमा छन् । ‘जंगली जनावरले क्षति पुर्‍याएमा राज्यले कानुनबमोजिम दिनुपर्ने गत वर्षकै क्षतिपूर्ति नपाउँदै यस वर्ष झन् ठूलो क्षति भएको छ,’ ऐरले भने ।


बैतडी डडेलधुरा सिमानाको अनारखोली र अजयमेरुको लेक क्षेत्रमा पनि व्यावसायिक तरकारी खेती गर्ने कृषकहरूले बर्सेनी १ करोड ५० लाख बढीको तरकारी बिक्री गर्थे । यो बर्ष भने वारीमा कुहिएको तरकारी सफा गरिरहेका छन् । सबैभन्दा बढी तरकारी निर्यात हुने समयमा नै बारीमा कुहिएको तरकारी सफा गर्नुपरेको कृषकहरूले गुनासो गरेका छन् ।

Yamaha


डडेलधुराको भागेश्वर गाउँपालिका ५ वटै वडामा जंगली बँदेलले १ सय २३ हेक्टरमा लगाइएको मकै, धान र तरकारी बाली नष्ट गरेको छ । महाभारत पर्वत शृंखला छेउका गाउँमा बँदेलले आतंक नै मथ्थ्चाएको कृषकहरूले बताएका छन् ।


‘फल लाग्ने समयमा निरन्तर बर्षाका कारण तरकारीका बिरुवा नै कुहिएका छन्,’ समैजीका कृषक नन्दराम भट्टले भने, ‘निरन्तर वर्षाले कृषकको लगानीसमेत नउठ्ने गरी क्षति पुगाएको छ ।’ अजयमेरु गाउँपालिकाको चिपुर, पसेला, भद्रपुर, साबिकको अजयमेरु गाविसमा पनि जंगली बँदेलले क्षति पुर्‍याएको छ । साबिकको चिपुर र भद्रपुर गाविसमा लगाइएको अधिकांश मकै बाली बँदेलले सखाप पारेको छ ।


स्थानीय कृषक जयराज ऐरले भने, ‘मकै यस क्षेत्रको मुख्य खाद्य वाली नष्ट भएपछि कृषकहरू बिचल्लीमा परेका छन् ।’ मकैसँगै भट्टमास, सिमी, दालजन्य गेडागुडी सबै बँदेलले नष्ट गरेपछि कृषकहरू ठूलो मारमा परेका हुन् । मकैपछि यस क्षेत्रमा सबैभन्दा बढी उब्जनी हुने दालजन्य गेडागुडी बर्सेनी तराई निर्यात हुने गरेको थियो ।


ठूलो मात्रामा भटमास उत्पादन हुने यस क्षेत्रमा गत वर्षदेखि बदेलले नष्ट गर्न थालेको हो । कृषक बोहरा भन्छन्, ‘जमिनमुनी रहेको कुर्मुलो जातको किरा खानका लागि बँदेलले पुरै बारी खनेर सखाप पार्ने गरेको छ ।’ तरकारी खेतीका लागि प्रसिद्ध रहेको भागेश्वर गाउँपालिकाको वडा नम्बर ४ र ५ मा निरन्तर वर्षाले तरकारी बालीमा ठूलो क्षति पुगेको छ । ‘लगातारको वर्षाले टमाटर फल्ने समयमा बारीमै कुहिएको छ,’ स्थानीय शिक्षक भुवनराज भट्टले भने, ‘बर्षेनि एक हजार मेट्रिक टन बढी टमाटार फल्ने भागेश्वर गाउँपालिका क्षेत्रमा ठूलो क्षति पुगेको छ ।’


वडा नम्बर ४ को किमउला, नौ गाउँ , डुंगरी, धामीगाउँ, बगरकोट, लाकम, एकथरा, कुरगाइल, ऐडुंग्रा, न्यालेक, ग्वलाई लगायतका क्षेत्रमा ठूलो मात्रामा उत्पादन हुने टमाटर धनगढी नेपालगञ्ज हुँदै सीमा क्षेत्रका भारतीय बजारमासमेत पुग्ने गरेको छ । टमाटरसँगै काउली, सिमी, सिमला मिर्च, खुर्सानी, भिण्डी, लौका र फर्सिसमेत ठूलो मात्रामा उत्पादन हुने यो क्षेत्रमा निरन्तर बर्षाले तरकारीवाली वारीमै नष्ट भएको छ । स्थानीय कृषक गणेशबहादुर टेरले भने, ‘अत्यधिक बर्षाका कारण यस बर्ष अन्य बर्षको तुलनामा आधाभन्दा पनि कम तरकारी उत्पान हुने देखिएको छ ।’


किटनाशक बिषादी प्रयोग गर्न नपाउँदा फलेको टमाटर पनि कीरा परेको छ । फल्न नपाएको टमाटरको बोट नै कुहिएको उनले बताए । लहराबाट फल्ने लौकी, फर्सि, मिठो करेला, तितो करेला पनि बारीमै कुहिएको कृषकहरूले बताएका छन् ।


पाएनन् क्षतिपूर्ति
२०७४ देखि सरकारले कानुन बनाएर जंगली जनावरले बालीनाली क्षति भएमा १० हजार देखि १० लाखसम्म क्षतिपूर्ति दिने घोषणा गरे पनि हालसम्म कृषकहरूले क्षतिपूर्ति पाउन सकेका छैनन् । कृषि विकास कार्यालयको सिफारिसमा वन विभागले दिने क्षतिपूर्ति पाउन गत वर्ष डडेलधुराबाट मात्र २ सय ३४ कृषकका फाइल जिल्ला कृषि विकास कार्यालयले सिफारिस गरेको थियो ।


वरिष्ठ कृषि प्राविधिक टेकबहादुर विष्टले भने, ‘गत वर्ष जिल्ला भरीबाट आएका निवेदनमा छानविन पछि २ सय ३४ फाइल सिफारिस भएका हुन् ।’ जिल्ला वन, गाउँपालिका र स्थानीय प्रशासनको छानबिन र सिफारिसपछि क्षति भएका कृषकहरूको फाइल सिफारिस गरिएको उनले जानकारी दिए । ‘गत वर्ष १० लाख माग गरेका हौं,’ बिष्टले भने, ‘तर हालसम्म कसैले पनि क्षति पूर्ति पाउन सकेका छैनन् ।’ यस आर्थिक वर्षको तिन महिना नबित्दै २ सय बढी कृषकले निवेदन दिएको उनले बताए ।


ऐन अनुसार वन विभागले वन्यजन्तुका कारण मानवीय क्षतिमा १० लाख, अंगभंगमा ३ लाख ५० हजार, घाइतेलाई २ लाख, बालीनाली क्षतिको १० हजारदेखि ३० हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था गरेको छ ।

Esewa Pasal

प्रकाशित : भाद्र २७, २०७५ १०:१८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बाख्रा बेचेर मालामाल

वसन्तप्रताप सिंह

बझाङ — नामजस्तो जिन्दगी कहाँ हुन्छ र ? नाम आनन्द भए पनि थलारा–६ पिखेतका आनन्द रोकायाको जीवन भने बेचैन थियो । उनी गरिब परिवारमा जन्मिएका थिए । पाँच छोराछोरीको लालनपालन गर्न उनका आमाबाबुलाई हम्मे थियो ।

बाख्रा स्याहार्दै बझाङका रोकाया दम्पती । तस्बिर : वसन्तप्रताप

अभावैअभावमा हुर्कंदै गए, आनन्द । २० वर्षको उमेरमा २०५३ सालमा उनको विवाह भयो, छिमेकी मालुमेलाकी धनलक्ष्मी रोकायासँग । त्यसलगत्तै बाबु बनेका उनका बर्सेनि सन्तान थपिंदै गए । अरू भाइहरूको पनि विवाह भयो । गरिबीले झन् च्याप्दै गयो । परिवारको संख्या बढदै गएपछि उनीहरूका चार भाइ सँगै बस्न नसक्ने अवस्थामा पुगे । अलगअलग भए । अब झन् परिवारको पूर्ण जिम्मेवारी उनकै थाप्लोमा आइलाग्यो । आनन्दको दैनिकी बेचैनीले भरिन थाल्यो ।


‘आफू पढ्नु कि तीन छोरा छोरीलाई पाल्नु ?’ उनले त्यो बेलाका दु:ख सम्झिए, ‘छोरीहरू पनि पढ्ने उमेरका भइसकेका थिए । उनीहरूको शुल्क तिर्नकै लागि रकम जुटाउन पढाइ छोडेर भारत गएँ ।’ विवाहपछिका १० वर्ष उनी ६ महिना घर आएर खेतीपातीको काम गर्थे ६ महिना भारतमै मजदुरी गर्थे ।


२०६३ माघ महिनाको कुरा । धनलक्ष्मी भर्खरै जन्मेकी छोरी लिएर अग्रान्न (माघको महिना छोरीलाई घरमा बोलाएर खुवाउने चलन) खान माइत गएकी थिइन् । फर्किंदा माइतीले नातिनीको मुख हेरेबापत एउटा बाख्रा दक्षिणा दिए । उनका माइतीको आर्थिक अवस्था पनि त्यति राम्रो थिएन । धनलक्ष्मी भन्छिन्, ‘दक्षिणा दिनलाई पैसा नभएर आमाले बाख्रो दिनुभएको थियो । मलाई त्यही बाख्रो फल्यो ।’


हुन पनि बाख्रो फल्यो । माइतीबाट ल्याएको बाख्रोले ३ महिनापछि तीनवटा पाठी पायो । उनको घरमा यसरी चमत्कार हुन थाल्यो कि प्रत्येक बाख्राले ६/६ महिनामा २ देखि ३ वटा पाठापाठी पाउन थाले । २ वर्षमै बाख्राको संख्या ३३ पुग्यो । आनन्द पनि भारत जान छाडेर बाख्राकै स्याहारमा लागे । चौथो वर्षमा बाख्राको संख्या बढेर ९७ पुगिसकेको थियो । वर्षमा एक/डेढ लाखका खसी–बोका बिक्री गर्न थालिसकेका थिए ।


अहिले उनी वर्षमा ३ लाखसम्मका बोका बाख्रा बेच्छन् । १ सय २० बाख्रा उनको खोरमा छन् । ‘मेरो त भाग्य नै फेरियो,’ आनन्द भन्छन्, ‘बाख्रा बेचेर छोराछोरीलाई काठमाडौं पढाइरहेको छु । यस्तो दिन पनि आउला भनेर सपनामा पनि सोचेको थिएन ।’


उनले बाख्रा बेचेको रकम भाइको पढाइमा पनि खर्चिए । उनका भाइ अहिले नायब सुब्बा पदमा कार्यरत छन् । आनन्दले दाजुलाई व्यापार थाल्न सहयोग गरे । ‘त्यस्तो त कसैको पनि भएको थिएन,’ स्थानीय जगदीश रोकाया भन्छन्, ‘आनन्दको घरमा चमत्कार नै भएको हो ।’ गाउँलेहरूले यसको श्रेय उनकी पत्नीलाई दिने गरेका छन् । गाउँमा सबैले साँच्चिकै धनलक्ष्मीको रूपमा हेर्ने गरेका छन् ।


बाख्राको मलको उपयोग गर्दै अहिले आनन्द दम्पतीले व्यावसायिक तरकारी खेती थालेका छन् । थलारा गाउँपालिकाको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाबाट तालिम र प्रविधिको सहयोग पाएपछि उनले दुईवटा प्लास्टिक घरमा बेमौसमी तरकारी खेती सुरु गरेका छन् । आनन्द दम्पती अहिले आफ्नो टोलका अरूलाई पनि व्यावसायिक तरकारी खेती गर्न हौस्याइरहेका छन् ।


गाउँलेले जे भने पनि धनलक्ष्मी भने लगनशीलता र धर्यले यहाँसम्म पुगेको बताउँछिन् । ‘गरिबीले गाँजेको थियो । त्यो बेला पनि कहिले आत्तिएनौं,’ उनले भनिन्, ‘अहिले पनि छोराछोरी हुर्काएजस्तो गरी बाख्राका पाठापाठी हुर्काउँछौ । मेहनत गर्‍यौं, त्यही फलेको हो ।’ उनले अहिले आफूहरूको जिन्दगीमा दु:खको पाटो हराएको र घरमा आनन्दको बहार छाएको बताइन् ।


बाख्रापालनसँगै व्यावसायिक तरकारी खेती थालेका उनको बारी र बाख्रा फर्म हेर्नका लागि अहिले छिमेकी गाउँका मानिस पनि आउँछन् । आनन्द र धनलक्ष्मीलाई गाउँपालिकाले अगुवा किसानको दर्जा दिएको छ । उनीहरूलाई बाख्रापालन र तरकारी खेतीको बारेमा सिकाउनका लागि स्रोत व्यक्तिको रूपमा गाउँपालिकाले परिचालन गर्ने गरेको गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए ।

प्रकाशित : भाद्र २७, २०७५ १०:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT