कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

राष्ट्रिय प्रसारणमा जोडिँदै बझाङ

वसन्तप्रताप सिंह

बझाङ — लामो समयदेखि विद्युत् अभाव झेल्दै आएका बझाङवासी अब छिट्टै यो समस्याबाट छुटकारा पाउने भएका छन् । असोज पहिलो साताबाट यो जिल्ला नेपाल विद्युत् प्राधिरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।

राष्ट्रिय प्रसारणमा जोडिँदै बझाङ

‘बझाङभित्र गर्नुपर्ने पोलिङ र लाइनिङको सबै काम सकिएको छ,’ नरेन्द्र दावा जेभी निर्माणका प्राविधिक महेश जोशीले भने, ‘हाललाई अस्थायी रूपमा विद्युत् सेवा आपूर्ति गर्न चैनपुरमा दुई वटा ट्रान्सफर्मर जडान गर्ने काम पनि सकिएको छ ।’


जोशीले बैतडी जिल्लाको बचपानी क्षेत्रका केही ठाउँमा लाइन तान्नका लागि रुख काट्नुपर्ने भएकाले सामुदायिक वनसँग समन्वय भइरहेको बताए । यस महिनाको अन्तिमसम्ममा विद्युत् प्रवाह गर्न सकिने उनको भनाइ छ । असोजबाट सदरमुकाम र आसपासका गाउँका करिब ५ हजार घरपरिवारले राष्ट्रिय प्रसारण लाइनको विद्युत् उपभोग गर्न पाउनेछन् । खप्तड छान्ना गाउँपालिकाबाहेक जिल्लाका अन्य ११ वटा स्थानीय तहमा पनि लाइन विस्तारको काम भइरहेको छ ।


राष्ट्रिय प्रसारण लाइन वितरण गर्नका लागि केदारस्युँ गाउँपालिकाको बागथला र जयपृथ्वी नगरपालिकाको सेलाखेतमा सबस्टेसन निमार्णको काम तीव्र गतिमा भइरहेको र यस वर्षको अन्तिमसम्म निर्माण भइसक्ने ठेकेदार कम्पनीहरूले जनाएका छन् ।


सदरमुकाम र आसपासका गाउँहरूलाई विद्युत् सेवा उपलब्ध गराउँदै आएको नेपाल विद्युत प्राधिकरणको सुर्मादेवि साना जलविद्युत् आयोजना पटकपटक बिग्रन थालेपछि विद्युत् अभावले यहाँका बासिन्दाहरू हैरानी खेप्दै आएका थिए ।


वैशाखयता यस जिल्लामा ३ महिना बढी समय विद्युत् आपूर्ति बन्द भइसकेको छ । विद्युत् बन्द भएपछि यहाँको व्यापारदेखि लिएर कार्यालय र घरायसी कामकाज समेत प्रभावित भएको छ । लामो समयसम्म विद्युत् अवरुद्ध हुँदा मोबाइल चार्ज गर्न पनि समस्या छ । सबैभन्दा ठूलो मार कार्यालय, होटल, मासु पसल र दुग्ध व्यवसायीहरूलाई परेको छ ।


विद्युत् नभएका कारण बिक्री नभएको मासुलाई भण्डारण गर्ने व्यवस्था नहँुदा अधिकांश मासु पसल बन्द भएका छन् । दुग्धजन्य पदार्थ पनि भण्डारण गर्न समस्या भएर खेर फाल्नुपरेको छ । सदरमुकाम चैनपुरमा मात्र ३० भन्दा बढी मासु पसल र ५ वटा डेरी रहेका छन् ।


नगरपालिकाभित्र भएका ग्रिल उद्योग, कुटानी पिसानी मिल, फर्निचर उद्योग, बेकरी उद्योगहरू पनि बन्द भएका छन् । जिल्लाको विद्युत् पटकपटक अवरुद्ध हुन थालेपछि बझाङका सांसद भैरवबहादुर सिंह, आशा विक, पूर्वमन्त्री भानुभक्त जोशी र पूर्वसभासद अफिलाल ओखेडाले प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई भेटेर सब–स्टेसन नबन्दासम्म वैकल्पिक उपाय लगाएर राष्ट्रिय प्रसारण लाइन सञ्चालन गर्न ध्यानाकर्षण गराएका थिए ।


यस्तै विद्युत् सेवा पटकपटक अवरुद्ध हुँदा जिल्लाको जनजीवन नै प्रभावित भएको र यसको समाधानका लागि पहल नगरिएको भन्दै जिल्लावासीले प्राधिकरणको क्षेत्रीय कार्यालय अत्तरियामा धर्नासमेत दिएका थिए ।


‘असोज एक गतेबाट परीक्षण प्रसारण सुरु हुन्छ,’ प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले भने, ‘असोजको ९/१० गते औपचारिक कार्यक्रम गरेर नियमित प्रसारण सेवाको शुभारम्भ हुनेछ ।’ उनले राष्ट्रिय प्रसारण लाइनमा बझाङ जिल्ला जोडिनु यहाँको विकासका लागि ऐतिहासिक उपलब्धि भएको बताए ।


बर्षांैदेखि विद्युत् अभावको मार खेप्दै आएका बझाङीहरू राष्ट्रिय प्रसारण लाइन पुग्ने खबरले हर्षित छन् । विद्युत् नियमित भएपछि यसले शिक्षा स्वास्थ्य र अन्य क्षेत्रमा पनि सहजता आउने भएकाले निकै उत्साहित बनाएको सत्यवादी उच्च माविका शिक्षक ईश्वरनाथ जोशीले बताए ।


जिल्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिन लागेको खबरले सबैभन्दा बढी उद्योगी व्यवसायीहरूमा उत्साह छाएको छ । ‘केही उद्योग गर्न चाहानेहरूलाई पनि विद्युतको समस्याले हैरानी बनाएको थियो । अब यो समस्या हट्ने भयो,’ युवा उद्यमी नरेन्द्र खडकाले भने, ‘विद्युत् आउने खबरले निकै खुसी लागेको छ’ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले विद्युत् नियमित नभएका कारण यहाँ लगानी गर्नेहरू पनि डराइरहेको र कतिपयको लगानीसमेत डुबेको बताए । ‘राष्ट्रिय प्रसारण लाइन आउने खबरले सम्पूर्ण उद्योगी–व्यवसायीहरू उत्साहित भएका छन् । बझाङमा ठूलो लगानी आउन सक्छ,’ उनले भने ।

प्रकाशित : भाद्र २८, २०७५ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?