२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

वर्षदिन नपुग्दै भत्किए टेवा–पर्खाल

८ किलोमिटर क्षेत्रमा निर्माण भएका डेढ दर्जन बढी पक्की टेवा पर्खालमध्ये एक वर्ष नपुग्दै अधिकांश भत्किएपछि स्थानीय आन्दोलित
डीआर पन्त

डडेलधुरा — उग्रतारा–मेलौली मार्गमा निर्माण गरिएका पक्की टेवा पर्खाल वर्षदिन नपुग्दै भत्किन थालेका छन् । अमरगढी नगरपालिकाको उग्रतारा मन्दिर छेउबाट अजयमेरु गाउँपालिका– १ सम्मको ८ किलोमिटर सडकमा निर्माण गरिएका संरचना भत्किन थालेका हुन् ।

वर्षदिन नपुग्दै भत्किए टेवा–पर्खाल

यहाँ पहिलो चरणअन्तर्गत कालोपत्रे निर्माण हुनेछ । ८ किलोमिटर क्षेत्रमा निर्माण भएका डेढ दर्जन बढी पक्की टेवा पर्खालमध्ये एक वर्ष पनि नपुग्दै अधिकांश भत्किएका हुन् । बाँकी रहेका पर्खाल पनि कतै भासिएका छन् । केही भासिन थालेका छन् ।


स्थानीयले सडक निर्माणमा आर्थिक अनियमितता भएको बताएका छन् । निर्माण कम्पनी र सडक डिभिजन कार्यालयका कर्मचारीको मिलेमतोमा डडेलधुराको उग्रतारादेखि बैतडीको मेलौली हुँदै पञ्चेश्वर जोड्ने सडक निर्माणमा अनियमितता भएको उनीहरूको दाबी छ ।


यो बैतडी र डडेलधुराका दुर्गम क्षेत्रसहित पञ्चेश्वरलाई र आसपासका गाउँहरूलाई सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो मार्ग हो ।


तर कालोपत्रे निर्माणको पहिलो चरणमा नै अनियमितता भएको स्थानीयले बताए ।


आगामी असोजमा काम सम्पन्न हुनेगरि ०७४ मा ठेक्का सम्झौता गरेको केएस कन्सट्रक्सन र सडक डिभिजन कुलपातेका कर्मचारीको मिलोमतोमा गुणस्तरहीन निर्माण गरेको स्थानीयहरूले गुनासो गरेका छन् । गाउँपालिकाका कार्यालय अजयमेरुले पटकपटक कालोपत्रे गर्न निर्माण हुन थालेका संरचना गुणस्तरहीन भएको भन्दै निर्माण कम्पनीको ध्यानाकर्षण गराए पनि कम्पनीले चासो नराख्दा एक वर्ष नपुग्दै प्राय: सबै संरचना भत्किएका छन् ।


पहिलो चरणमा १२ करोड बजेट रहेको उक्त सडक निर्माणको ठेक्का पाएको केएस कन्स्ट्रक्सनले पेटी ठेक्काका रूपमा अन्य निर्माण व्यवसायीमार्फत निर्माण गराइरहेको छ । ‘३ दशकपछि ८ किलोमिटर सडक कालोपत्रे गर्ने काम सुरु भएको हो,’ अजयमेरु गाउँपालिका अध्यक्ष उमेश भट्टले भने, ‘एक/दुई वटा संरचना निर्माणमा कमजोरी हुन सक्छ, तर बनेका सबै पर्खाल भत्किएर काम नलाग्ने भएका छन् ।’


बनेका पर्खालसँगै साविकको सडकसमेत भत्किएको अध्यक्ष भट्टले बताए । उनले भने, ‘मेसिनरी पर्खाल चिनाई गर्दा मसला प्रयोग नगरिएको, बाहिरबाट लिपपोत गरिएको र सिमेन्ट न्युन मात्रामा प्रयोगर्दा सेट हुन नसकेर पर्खाल भत्किएका हुन् ।’


गाउँपालिका अध्यक्ष भट्टले अनुगमनका क्रममा भत्किन थालेका र भासिएका सबै मेसिनरी पर्खालमा गुणस्तहीन सामग्री प्रयोग गरिएको भेटिएको बताए । डडेलधुरा र बैतडीका साविकका दर्जनौं दुर्गम बस्तीलाई जोड्ने र विकासका लागि महत्त्वपूर्ण मानिएको राजमार्ग अलपत्र जस्तै बनेको उनले गुनासो गरे ।


गाउँपालिका प्राविधिक रतन ऐरले निर्माण कम्पनीलाई धेरै पटक यस विषयमा जानकारी गराइएको बताए । ऐरले भने, ‘गुणस्तरहीन काम भइरहेको जानकारी गराउँदा कम्पनीले आफुले पेटीमा ठेक्का दिइसकेकाले केही गर्न नसक्ने बताएको हो ।’ निर्माण कम्पनीको लापरबाहीले गर्दा कालोपत्रे सुरु नहुँदै सडकमा अनियमितता सुरु भएको उनले गुनासो गरे ।


सडक निर्माणमा कमजोरी भएको हुनसक्ने भन्दै कुलपाते सडक डिभिजन कार्यालयका इन्जिनियर महानन्द जोशीले यस विषयमा आवश्यक छानबिन गरिने बताए । उनले भने, ‘वर्षात्का कारण नाली अवरुद्ध भएर क्षति हुनु स्वाभाविक भए पनि गुणस्तरहीन सामग्री प्रयोग गरी नियतवश गलत भएको भए कारबाही हुन्छ ।’


इन्जिनियर जोशीले अझै कालोपत्रे भइनसकेका कारण निर्माण कम्पनीले पुन: भत्केका र भासिएका पर्खाल निर्माण गर्नुपर्ने प्रावधान रहेको बताए । उनले भने, ‘निर्माण सम्पन्न भएको छैन, भत्किएका सबै पर्खाल नयाँ निर्माण हुन्छन् ।’


निर्माण कम्पनीका प्रतिनिधि जितबहादुर तामाङले पनि कम्पनीले सबै काम आफैं हेर्न नसक्ने भएका कारण समस्या भएको बताए । ‘पेटी ठेक्कामा काम दिँदा त्रुटि भएको छ,’ उनले भने, ‘निर्माण कम्पनीले समस्या देखिएका सबै संरचना पुनर्निर्माण गरेर मात्र कालोपत्रे गर्ने काम गर्छ ।’


उग्रतारा–मेलौली सडकमा गत आर्थिक वर्षमा मात्र बैतडी सिमाना सुरनया नदीसम्म नयाँ ट्रयाक खोलिएको हो । निर्माणाधीन उक्त सडकले डडेलधुराका साबिकका समैजी, अजयमेरु, भद्रपुर, चिपुर, देवलसहित बैतडीको दुर्गम तल्लो स्वराड क्षेत्रका ८ बढी गाविसलाई धनगढी–डडेलधुरा मुख्य राजमार्गसँग जोड्नेछ ।

प्रकाशित : भाद्र २८, २०७५ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?