बच्चा तौलनेको ताँती

कुपोषण न्यूनीकरण गर्न डोटीको आदर्श गाउँपालिकाले बच्चाको तौल लिन थालेको हो
मोहन शाही

डोटी — स्थानीय नमिता ओझाको १२ महिने छोराको तौल ६ किलो मात्र भयो । उनी अल्लि खिन्न देखिइन् । लगत्तै स्वास्थ्यकर्मीले खानपानबारे सुझाव दिए । अर्कोपल्ट फेरि तौलिने भन्दै उनी स्वास्थ्यचौकीबाट घरतिर लागिन् ।

बच्चा तौलनेको ताँती

हरेक महिनाको २० गते मौवास्थित नगरदह स्वास्थ्यचौकीमा साना नानीहरू तौलिन ल्याउनेहरूको लर्को लाग्छ । त्यो दिन स्वास्थ्यचौकीमा बेग्लै चहलपहल हुन्छ । बिहान १० बजेको हुँदैन, स्वास्थ्यकर्मी हस्याङफस्याङ गर्दै स्वास्थ्यचौकी पुगिसक्छन् । सधैं सुई, कपास र औषधिमा ध्यान दिने उनीहरू त्यो दिन भने तराजु खोज्न थाल्छन् । पुछपाछ र जाँचबुझ गरी तम्तयारीमा बस्छन् ।


क्षणभरमा सेवाग्राहीको लर्को लाग्छ । आमाहरू कलिला बालबालिका बोकेर ओइरिन्छन्् । तयारी अवस्थामा राखेका तराजुमा बच्चालाई तौल्न सुरु गर्छन् । तौलिसकेपछि उनीहरूबीच कसको बढी, कसको कम भनेर हिसाबकिताब हुन्छ । कम तौल भएको बच्चाका आमा त्यसबारे कारण खोज्छन्, स्वास्थ्यकर्मीसँग । यस्तो क्रम चलेको तीन वर्ष पुगिसकेको छ ।


पोषणसम्बन्धी जानकारी पाएपछि नमिताको अनुहारमा केही चमक थियो । भनिन्, ‘अरू साथीहरूले पनि सान्त्वना दिएका छन् । स्वास्थ्यकर्मीले भनेअनुसार व्यवहार गर्‍यो भने सुधार पक्कै आउला । त्यसैले केही खुसी छु ।’


काली खड्काका छोरा लोकेश ६ महिनाको हुँदा ६ किलोको मात्र थिए । दुई महिनाअघिबाट छोराको नियमित तौल लिएर स्वास्थ्यकर्मीको सुझावअनुसार खानपानमा ध्यान दिइन् । यसपटक स्वास्थ्य संस्थामा जाँच्दा लोकेश ८ किलो भए । ‘म त चिन्तामुक्त भएँ, छोराको साह्रै चिन्ता लागेको थियो,’ कालीले खुसी हँुदै भनिन्, ‘म मात्र होइन, गाउँका थुप्रै आमाहरूले बालबच्चालाई समयमै स्वस्थ राख्न पाउँदा खुसी छन् ।’ बुधबारमात्र मौवा नगरदह स्वास्थ्य संस्थामा ५१ जना महिला बच्चाको तौल नाप्न आएका थिए ।


आदर्श–२ स्थित मौवा नगरदह स्वास्थ्यचौकीले त्यहाँका बालबालिकाको कुपोषण न्यूनीकरण गर्न यस्तो अभियान नियमित चलाइरहेको सिनियर अहेब तथा स्वास्थ्यचौकी इन्चार्ज दीपकराज ओझाले जानकारी दिए । ‘यसरी मासिक रूपमा तौलेर बालबालिकाहरूको स्वास्थ्य अवस्था के कस्तो छ भनी विश्लेषण गर्न लागेको तीन वर्ष भयो,’ उनले भने, ‘त्यसबाट कुपोषित बालबालिका पत्ता लगाएर खानपान तथा उपचारका लागि अघि बढ्ने गरेका छौं ।’ मौवा नगरदह स्वास्थ्यचौकीले पोषण बहिरंग उपचार केन्द्र पनि स्थापना गरेको छ । केन्द्रमा कुपोषित बालबालिका भर्ना गरी उपचार गरिन्छ ।


गत वर्ष मात्रै यस्तै अभियानबाट ४९ कुपोषित बालबालिका पत्ता लगाइएको थियो । ‘पोषण बहिरंग उपचार केन्द्रमा भर्ना गरेर ४९ जनालाई समयमै स्वस्थ बनाउन सफल भयौं,’ सिनियर अनमी यशोदा ओझाले भनिन्, ‘आवश्यकताभन्दा कम तौल भएका कुपोषित बालबालिकालाई तयार पारेको उपचारात्मक खाना तथा तिनका अभिभावकलाई पोषणसम्बन्धी शिक्षा दिने गरेका छौं ।’


चालु आर्थिक वर्षको साउनयताबाट ५ जना कुपोषित बालबालिका पोषण बहिरंग उपचार केन्द्रमा भर्ना भइसकेका छन् । चौकीमा वडा नं. २ स्थित दुगराला, मौवा र कारिंगे गाउँका आमाहरू बालबच्चाको स्वास्थ्यबारे बुझ्न आउँछन् ।


७ नं. प्रदेशका क्षेत्रीय स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले आदर्श गाउँपालिकामा भइरहेको कार्यको प्रशंसा गरे । बहुक्षेत्रीय पोषण कार्यक्रम लागू भएका प्रत्येक जिल्लाहरूमा स्वास्थ्यचौकीदेखि महिला स्वास्थ्य स्वयंसेविकासम्मलाई बालबालिकाको स्वास्थ्य स्थितिबारे जानकारी लिने, तौल नाप्नेजस्ता कार्यक्रमहरू राखिएको बताए । उनले डोटीका सबै स्थानीय तहमा लागू भए पनि सबैले कार्यान्वयन गरे/नगरेको बारे आफूले अध्ययन गरिरहेको जानकारी दिए ।

प्रकाशित : भाद्र २९, २०७५ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?