१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

बालश्रमिक राखे सुविधा वञ्चित

मोहन शाही

डोटी — दिपायल–सिलगढी नगरपालिकामा ४३ जना बालश्रमिक फेला परेका छन् । बालश्रम निषेध घोषणाको तयारी गरिरहेको नगरपालिकाले बालबालिकाको तथ्यांक संकलन गर्ने क्रममा यस्तो तथ्य फेला पारेको हो ।

बालश्रमिक राखे सुविधा वञ्चित

तिनलाई मुक्त गर्न राष्ट्रिय बाल दिवसका अवसरमा नगरपालिकाले केही योजना सार्वजनिक गर्ने तयारी गरेको छ । बालश्रमिक राख्ने परिवारलाई सेवा सुविधाबाट वञ्चित गराउनुका साथै जरिवाना तिराउने, सञ्चार माध्यममा उनीहरूको ३ पुस्ते प्रकाशन गर्ने तथा बालश्रमिक नभएका घरमा हरियो झन्डा लगाउने योजना सार्वजनिक गर्न लागेको हो ।


नगरपालिकाको कार्यदलले असोज १ बाट बालश्रमिक रहेका बाहेक सहरी क्षेत्रका सबै घरमा हरियो झन्डा लगाउने निर्णय गरेको छ । साबिकको क्षेत्रीय सदरमुकाम रहेको वडा नम्बर ४, जिल्ला सदरमुकाम रहेको वडा नम्बर ६ र त्यससँगै जोडिएको ९ नम्बर वडामा बालश्रमिक फेला परेका छन् ।


बालश्रमिकको नाम, ठेगाना तथा उनीहरूका मालिकको विवरणसहित तथ्यांक संकलन गरिएको छ । यहाँका बालबालिकालाई जिल्ला बाहिर पनि बालश्रमिकका रूपमा लगिएको छ । बालश्रम न्यूनीकरणका लागि नगरपालिकाले गठन गरेको कार्यदलले बालश्रमिकको सम्पूर्ण तथ्यांक अझै संकलन गर्न नसकेको जनाएको छ । ‘पहिलो चरणमा लिइएको तथ्यांकबाट ४३ जना फेला परेका छन्,’ निमित्त प्रशासकीय अधिकृत रमेश जोशीले भने, ‘कार्यदलले बालश्रमिकको संख्या अझै छुटेकाले पुन: तथ्यांक संकलन गर्न सुझाव दिएको छ ।’


कमजोर आर्थिक अवस्था भएका र अभिभावकविहीन बालबालिका श्रमिकका रूपमा कार्यरत छन् । पढाउने बहानामा साना बालबालिकालाई श्रमिकका रूपमा राखेको भेटिएको छ । वडा नम्बर ४ मा ११, वडा नम्बर ६ मा २० र वडा नम्बर ९ मा १२ जना बालश्रमिक फेला परेको नगरपालिकाले जनाएको छ । बाल दिवसको अवसर पारेर नगरपालिकाले पत्रकार सम्मेलनमार्फत बालश्रमिकविरुद्ध कडा कार्यक्रम चाल्ने उपप्रमुख शिवराज खड्काले बताए ।


आर्थिक अवस्था कमजोर भएका बालश्रमिकका अभिभावकलाई जीविकोपार्जन कार्यक्रमका लागि नगरपालिकाले सहयोग गर्न चालु आर्थिक वर्षका लागि १० लाख बजेटसमेत विनियोजन गरेको छ । बालश्रमिकको उद्धार गरी विद्यालय पढाउने बन्दोबस्तसमेत गरिने नगरप्रमुख मञ्जु मलासीले बताइन् । ‘हामी कडा रूपमा अघि बढदै छौं, थुप्रै चुनौती पनि छन्,’ उनले भनिन्, ‘अझै हामीले बालश्रमिकहरूको संख्या ल्याउन सकेका छैनौं, दोस्रो चरणमा सबैको पहिचान गरिसक्छौं ।’


होटल र सार्वजनिक सवारी साधनमा रहेका भन्दा घरमा राखिएका बालश्रमिकको व्यवस्थापन बढी चुनौतीपूर्ण रहेको निमित्त प्रशासकीय अधिकृत जोशीले बताए । बालबालिकालाई पढाइदिने बहानामा बालश्रमिक राखेको आरोप छ । डोटीमा घरेलु कामका लागि राखिएका बालश्रमिकबारे बढी विवाद छ । सदरमुकाम सिलगढीमा पहुँच भएका तथा सम्पन्नहरूले अभिभावकविहीन, बेसहारा तथा विपन्न परिवारका बालबालिकालाई पढाउने सर्तमा घरमा राखेका छन् ।

प्रकाशित : भाद्र २९, २०७५ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?