कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

पुल निर्माण अलपत्र

निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी
डीआर पन्त

डडेलधुरा — जिल्लाको उत्तरी भेगलाई सदरमुकाम र डडेलधुरा–डोटी केआई सिंह राजमार्गसँग जोड्न महत्त्वपूर्ण मानिएको पुल निर्माण ६ वर्षदेखि अलपत्र परेको छ ।

पुल निर्माण अलपत्र

०७३ असार मसान्तसम्म निर्माण सम्पन्न भइसक्ने गरी जागृति निर्माण सेवाले ठेक्का सम्झौता गरे पनि हालसम्म पुल निर्माण नभएको हो । ठेकेदार पुल निर्माण नगरेर फरार रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

६ वर्षअघि १ करोड १० लाख लागतमा निर्माण हुनुपर्ने २५ मिटर लामो पक्की पुलको हालसम्म २ वटा पिलरको आधा भागबाहेक अन्य काम हुन नसकेको हो । स्थानीय पेटी ठेकेदारहरूले निर्माण कम्पनीसँग काम गर्ने सम्झौता गर्ने र केही रकम लिएपछि काम छोडिदिने गरेका कारण पुल निर्माणले गति लिन सकेको छैन । कम्पनीले आफैं काम नगरी स्थानीय पेटी ठेकेदारलाई निर्माणको जिम्मा दिने गरेकाले पुल निर्माण अधुरो रहेको स्थानीयले बताए ।

पुल निर्माण हुन नसक्दा डडेलधुराको साबिकका कोटेली, मणिलेक, बेलापुर र नवदुर्गालगायत गाविसका स्थानीयले समस्या भोग्नुपरेको छ । ‘दुई वर्ष अघिसम्म निर्माण कम्पनीका प्रतिनिधि फाटफुट आउने गरेका थिए,’ जिल्ला समन्वय समिति सदस्य रामचन्द्र अवस्थीले भने, ‘अहिले भने कम्पनीका कुनै पनि व्यक्ति आएका छैनन् ।’

पुल निर्माण हुन नसक्दा यस क्षेत्रका बासिन्दाले निकै समस्या भोग्नुपरेको अवस्थीले बताए । उनले भने, ‘६ वर्षअघि १ करोड १० लाख लागत रहेको पुल अहिले निर्माण गर्दा तेब्बर बढी मूल्यवृद्धि भइसकेकाले तत्काल निर्माण सम्भव होला जस्तो छैन् ।’

कम्पनीलाई पटकपटक जिल्ला समन्वय समितिले ताकेता गरेको अवस्थीले बताए । नवदुर्गा गाउँपालिकाले पनि पटकपटक कम्पनीलाई पुल निर्माण गर्न ताकेता गरेको जनाएको छ । ‘गाउँपालिकाले धेरै पटक लिखित ताकेता गर्दा पनि निर्माण कम्पनीले चासो देखाएको छैन,’ गाउँपालिका अध्यक्ष कवीन्द्र विष्टले भने, ‘मौखिक रूपमा पनि निर्माण कम्पनीका प्रमुखलाई पुल निर्माणका विषयमा आग्रह गरेका हौं ।’

सरोकारवाला निकायले पनि यति लामो समयसम्म पुल निर्माणको विषयमा चासो नराखेको गुनासो स्थानीयले गरेका छन् । ‘पुल निर्माणलाई लिएर स्थानीयवासीले सडक डिभिजन कार्यालयलाई समेत जानकारी गराएका छन्,’ स्थानीय लोकराज अवस्थीले भने, ‘न सडक डिभिजनले कुनै चासो राख्यो, न त निर्माण कम्पनी नै फर्केर आयो ।’ ३ जना स्थानीय पेटी ठेकेदारले पुल निर्माणको काम गरेका थिए ।

प्रकाशित : भाद्र २९, २०७५ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?