१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

किनमेल गर्न भारतीय बजार

मोहन बुढाऐर

काठमाडौँ — चाडपर्व नजिकिएसँगै सीमापारिका भारतीय बजारमा नेपाली ग्राहकको चहलपहल बढेको छ । कैलालीको सीमावर्ती पलिया बजारसम्म पुगेर नेपाली ग्राहकले घरायसी प्रयोजनदेखि चाडपर्वका लागि लुगाकपडा खरिद गर्न थालेका छन् ।

किनमेल गर्न भारतीय बजार

सुदूरपश्चिमको महत्त्वपूर्ण गौरापर्वदेखि किनमेल सुरु भएको हो । लगत्तैको तीज र आउँदै गरेका दसैं, तिहारका लागि सामान खरिद गर्न भारतीय बजार जानेको लर्को लाग्न थालेको छ । दुदुवा राष्ट्रिय निकुन्जका कारण गौरीफन्टा बजार विस्थापित भएपछि अहिले नेपालीहरू किनमेलका लागि पलिया पुग्ने गरेका हुन् ।

दसैं र तिहारका बेला पलियामा मात्र दैनिक १० लाख बढीको कारोबार हुने गरेको छ । प्रदेश ७ को प्रमुख सहर धनगढीमा भने ब्यापारिक कारोबार फस्टाउन सकेको छैन । भारतको पलिया बजारका एक व्यापारीका अनुसार यहा भने भदौदेखि कात्तिकसम्म नेपाली ग्राहकको घुइँचो लाग्ने गरेको छ ।

उनले आफ्नो पसलको ३० प्रतिशत सामान नेपाली उपभोक्ताहरूले नै खरिद गर्ने गरेको बताए । ‘सीमावर्ती क्षेत्रका बासिन्दा हुनुको दोहोरो फाइदा हुन्छ,’ उनले भने, ‘धनगढी ठूलो बजार भए पनि सामान भारतमा सस्तो पाउने भएकाले पलिया बजार नेपाली ग्राहकको रोजाइमा परेको हो ।’

औषधि उपचार र किनमेलका लागि धनगढी सिमानाको गौरीफन्टा हुँदै दैनिक २/३ सय नेपाली सीमावर्ती भारतीय बजारमा जाने गरेको सुरक्षाकर्मी बताउँछन् । ‘धनगढीको त्रिनगर भन्सारबाट करिब एक किलोमिटरको दूरीमा रहेको भारतीय गौरीफन्टा बजार हटाइएपछि नेपाली व्यापारी खुसी भएका देखिन्थे,’ धनगढीका व्यवसायी ऋषि पौडेलले भने, ‘तर, सीमावर्ती क्षेत्रका बासिन्दाको प्रवृत्ति घरायसी सामान किनमेल गर्न अलि टाढा भए पनि भारतीय बजार नै धाउने चलन कायमै
रहेको पाइयो ।’

धनगढीबाट पलिया बजार करिब ३० किलोमिटरको दूरीमा पर्छ । त्यस्तै व्यापारी हेमचन्द्र ओझाले भने धनगढीको बजार सुदूरका पहाडी जिल्लामा निर्भर भएको बताए । ‘पहाडी जिल्लाको भरमा धनगढी चलेको छ,’ उनले भने, ‘स्थानीय उपभोक्ता यहाँको बजारमा आकर्षित छैनन् ।’ उनले बरु भारतीय ग्राहक र भारतमा काम गरेर दसैं/तिहारमा घर फर्कने नेपालीहरूले आफ्ना बालबालिकालाई लुगाकपडा र अन्य उपभोग्य वस्तु धनगढी बजारबाटै किनेर लैजाने गरेको बताए । उनीहरूले नेपाली बजारमा विदेशबाट आयात भएका सामान पाउने भएकाले प्राय: नेपालकै बजारमा किनमेल गर्ने गरेका छन् ।

स्थानीय कविता विष्टले भारतीय बजारमा मालसामान सस्तो पाइने गरेको बताइन् । ‘पलियामा हजार रुपैयाँमा पाइने सुटको कपडा धनगढीमा २ हजार पर्छ,’ उनले भनिन्, ‘दस हजार नेपालीमा घरका सबै परिवारलाई एकजोर लुगा किन्न सकिन्छ ।’ धनगढी बजारको तुलनामा सस्तो मूल्यमा सामान पाइने भएर नै सीमा क्षेत्र आसपासका बासिन्दा भारतीय बजार पुग्ने गरेको उनले बताइन् ।

घरायसी उपभोगका लागि धेरै सामान ल्याउनु नपर्ने भएकाले भन्सार नलाग्ने र बस भाडा मात्रै लाग्ने भएकाले भारतीय बजारमा बढी नेपालीले किनमेल गर्ने गरेका छन् । तर पछिल्लो समयमा भने भन्सारका सुरक्षाकर्मीले घरायसी प्रयोजनका सामान ल्याउँदा पनि पैसा माग्ने र दु:ख दिने गरेको स्थानीय बताउँछन् ।

‘चाडपर्वका बेला उपभोक्ताको ढाड सेक्ने गरी सामानको मूल्य महँगो पार्ने अनि सस्तोका लागि भारतीय बजार जाने नेपालीप्रति आक्रोश पोख्ने ?’ स्थानीय रमेश भट्टले भने, ‘उपभोक्ताले घरका लागि २/४ जोर कपडा, ५/७ किलो चिनीलगायत खाद्यवस्तु ल्याउँदा भन्सारको कुरा गर्ने ?’ उनले धनगढीका व्यापारीले भन्सार छली गरेर ल्याएको चिनीलगायत खाद्य तथा गैरखाद्यवस्तु उपभोक्तालाई मारमा पार्ने गरी चर्को मूल्यमा बेच्ने गरेकोसमेत आरोप लगाए ।

यसैगरी चाडमा उपभोक्तालाई मारमा नपर्ने गरी स्थानीय व्यापारीले विभिन्न वस्तुको जायज मूल्य निर्धारण गरेर बिक्री गर्ने हो भने नेपाली उपभोक्ता पारि नजाने स्थानीयले बताए ।

प्रकाशित : भाद्र ३१, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?