कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कैलाली र कञ्चनपुरमा हात्तिपाइले रोग निवारण अभियान

अर्जुन शाह

धनगढी — हात्तिपाइले रोग निवारणको लक्ष्य भेटाउन प्रदेश ७ का कैलाली र कञ्चनपुर असफल भएका छन् । सन् २०२० भित्र निवारणको लक्ष्य लिइएको थियो । ७ नं प्रदेशका अन्य ७ जिल्ला भने प्रारम्भिक सर्भेक्षणमा सफल भएका छन् ।

कैलाली र कञ्चनपुरमा हात्तिपाइले रोग निवारण अभियान

१९९७ मा विश्व स्वास्थ्य संगठनको सभाले २०२० लाई हात्तिपाइले रोग निवारणको लक्ष्य निर्धारण गरेको थियो ।


प्रारम्भिक सर्भेक्षणमा असफल भएपछि तराई यी दुई जिल्लामा आगामी दुई वर्ष लगातार थप औषधि सेवनको अभियान सञ्चालन गर्नुपर्ने भएको छ ।

त्यसो हुँदा सन् २०२० को लक्ष्य विफल हुनेछ । डोटी, डडेल्धुरा, अछाम, बाजुरा, बझाङ, बैतडी र दार्चुलामा भने प्रारम्भिक सर्भेक्षणमा सफल देखिएका हुन् । सबै जिल्लामा लगातार ५ वर्ष हात्तिपाइलेविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो ।

प्रदेश ७ का स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीका अनुसार पहाडी ७ जिल्लामा एक प्रतिशतभन्दा कम देखियो । तराईका दुई जिल्लामा त्योभन्दा माथि देखिएको बताए । ‘कैलाली र कञ्चनपुरमा पुन २ वर्ष लगातार औषधि सेवन अभियान सञ्चालन गर्नुपर्ने भएकाले सन् २०२० को लक्ष्य पूरा नहुने भएको हो,’ डा. अवस्थीले भने, ‘प्रारम्भिक सर्भेक्षणमा हरेक जिल्लामा ६ सयको संख्यामा हात्तिपाइले रोगको परीक्षण गरिएको थियो ।’

लामखुट्टेको टोकाइबाट शरीरमा माइक्रोफाइलेरिया प्रवेश गरेको दश वर्षमा हात्तिपाइले रोगका लक्षणहरू देखिने चिकित्सकहरूले बताए । हात्तिपाइले निको नहुने रोग हो । यो रोग लागेको ब्यक्तिको शरीर (खासगरी गोडा मोटो हुने, अण्डकोष ठूलो हुन्छ ।

प्रारम्भिक चरणमा सफल देखिएका जिल्लामा औषधि बन्द गर्न सकिने नसकिने सम्बन्धमा सर्भे हुने बताइएको छ । नयाँ पुस्तामा यो रोग छ /छैन भन्ने जानकारी अन्तिम सर्भेक्षणले दिने स्वास्थ्यकर्मीहरूले बताए । ७ जिल्लामा कक्षा २ सम्म अध्ययनरत ५ हजार बालबालिकाहरूमा अन्तिम सर्भे गरेर हेर्ने योजना रहेको स्वास्थ्य सेवा विभाग, महामारी तथा रोग नियन्त्रण विभाग, हात्तिपाइले एकाइका अधिकृत प्रदीप रिमालले बताए ।

भौगोलिक अवस्था, स्थानीय तहको संख्या सबै समेटेर एउटा जिल्लामा १८ वटा विद्यालयमा अध्यनरत २ कक्षामूनिका बालबालिकाहरूमा रोगको लक्षण जाँच गरिने रिमालले बताए । सेन्टर फर हेल्थ एन्ड डिजिज स्टडिजले प्रारम्भिक सर्भेक्षणमा उत्तीर्ण भएका जिल्लामा फाइनल सर्भे गर्न लागेको हो ।

‘उक्त सर्भेक्षणमा उत्तीर्ण देखिएपछि हात्तिपाइलेविरुद्धको औषधि अभियान बन्द गरिनेछ,’ अधिकृत रिमालले भने, ‘कैलाली र कञ्चनपुरमा भने दुई वर्ष लगातार औषधि अभियान सञ्चालन गरिसकेपछि पुन: प्रारम्भिक सर्भेक्षण गर्नुपर्ने हुन्छ ।’ हालसम्म ३७ जिल्लामा हात्तिपाइले शून्यमा झारिएको स्वास्थ्यकर्मीहरूले बताए । ती जिल्लाहरूमा हात्तिपाइलेविरुद्धको औषधि बन्द भइसकेको छ ।

प्रकाशित : आश्विन १, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?