१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

जोखिम मोलेर घरमै सुत्केरी

कालिकास्थान, धमाली र रानीवन नजिक माइत भएका महिला दिन नजिकिन थालेपछि सुत्केरी हुन माइतीघर आउँछन्
मेनुका ढुंगाना

अछाम — घरैमा सुत्केरी गराउने प्रयास असफल भएपछि पञ्चदेवल विनायक २ की २३ वर्षीया चन्द्र धामीलाई केही दिनअघि जिल्ला अस्पताल हुँदै नेपालगन्ज रेफर गरियो । उनको समयमै उपचार नपाएर मृत्यु भयो । रगतको अभावले शरीरमा कम्पन हुन थालेपछि घरमा सुत्केरी हुन सकेकी थिइनन् ।

जोखिम मोलेर घरमै सुत्केरी

गर्भावस्थामा नियमित जाँच र प्रसूति गराउन समयमै स्वास्थ्य संस्था लैजान नसक्दा उनलाई बचाउन नसकिएको स्वयंसेविका दुर्गा विकले बताइन् । कमलबजार ३ बयालाकी २६ वर्षीया यशोदा खत्रीले एक महिनाअघि घरमै छोरालाई जन्म दिइन् ।

गाउँमा प्रसूति केन्द्र नहुँदा उनले जोखिम मोलेर सुत्केरी हुनुपर्‍यो । ‘बयालाबाट कालिकास्थानको स्वास्थ्य चौकी जान ५ घन्टा लाग्छ । त्यता जान सक्ने अवस्था थिएन । मरे पनि मरिएला भन्ने सोचेँ । घरमै छोरा जन्मियो,’ उनले भनिन्, ‘नजिकै प्रसूतिगृह छैन, टाढा लैजान घरमा मान्छे कोही थिएन । श्रीमान् भारतमा छन् ।’ यहाँका धेरै महिला अहिले पनि घरमै सुत्केर हुने गरेको स्वास्थ्य स्वयंसेविका धौली ढकालले बताइन् ।

कालिकास्थान, धमाली, रानीवनमा नजिक माइतीघर भएका महिलाहरू सुत्केरीको दिन नजिकिन थालेपछि माइती घर जान्छन् । ‘धेरै महिलाले घरमै सुत्केरी हुनुपरेको छ,’ उनले भनिन्, ‘यहाँका अधिकांश गर्भवती महिलाले स्वास्थ्य संस्थामा नगई घरमै जोखिम मोलेर बच्चा जन्माउने गरेको पाइएको छ ।’ सुरक्षित सुत्केरी गराउन संघीय सरकार र स्थानीय सरकारले आकर्षक सुविधा उपलब्ध गराए पनि त्यसले सबैलाई समेट्न सकेको छैन ।

स्वास्थ्यमा हेलचेक्रयाइँ गर्नु हुँदैन भनेर गर्भ जाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराउनलाई बर्थिङ सेन्टरका लागि भवन निर्माण भइरहेको वडा नम्बर ३ का वडाध्यक्ष हर्कबहादुर भण्डारीले बताए । ‘दसैंअगाडि नै बर्थिङ सेन्टर सञ्चालनमा ल्याउन पहल गरिरहेका छौं,’ उनले भने ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार घरमै सुत्केरी हुने महिलाको संख्या २५ प्रतिशत रहेको छ । जिल्लाभरि ६५ वटा बर्थिङ सेन्टर भए पनि अधिकांश ग्रामीण महिला सुविधा लिनबाट वञ्चित छन् । जिल्लाभरका स्वास्थ्य संस्थाले संकलन गरेको तथ्यांकले सुरक्षित सुत्केरी गराउनेमा बढी सहर बजारका महिला रहेको देखाएको छ । अधिकांश ग्रामीण भेगका महिलाले घरमै बच्चा जन्माउने गरेका छन् ।

सरकारी प्रयास असफल
स्वास्थ्य कार्यालयको तथ्यांक हेर्दा सबै गर्भवतीलाई स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने सरकारी प्रयास असफल सावित भएको छ । सरकारले सुत्केरीका निम्ति उपलब्ध गराउँदै आएको यातायात खर्चभन्दा स्वास्थ्य संस्थामा लैजाँदा लाग्ने खर्च अधिक हुने भएकाले घरैमा बच्चा जन्माउनेको संख्या बढी देखिएको हो ।

भौगोलिक असुविधा र यातायातको समस्याका कारण पनि जिल्लाको दुर्गम गाउँका गर्भवतीलाई प्रसूति गराउन स्वास्थ्य संस्था लैजान कठिनाइ हुने गरेको जनस्वाथ्य अधिकृत झनक ढुंगानाले बताए । ‘भौगोलिक विकटता र ठूलो जिल्ला भएकाले अछाममा सय जति बर्थिङ सेन्टर आवश्यक पर्छन्,’ उनले भने, ‘स्थानीय तहले बर्थिङ सेन्टरका लागि पहल नगरेसम्म समस्या यथावत् रहन्छ ।’

परिवारको असहयोग
यहाँका विपन्न र दलित समुदायका महिलालाई गर्भवती भएपछि भारी सामान उठाउनु हुँदैन र अस्पताल गएर समय समयमा चिकित्सकलाई चेकजाँच गराउनुपर्छ भन्ने ज्ञान भए पनि उनीहरूलाई परिवारबाटै सहयोग हुँदैन ।

गर्भवती भएपछि के गर्न हुने, के नहुने धेरै कुरा थाहा पाउन थाले पनि यो कुरा व्यवहारमा भने लागू नभएको बयालाकी एक महिलाले बताइन् । ‘मलाई सबै कुरा थाहा छ तर पनि मैले घरैमा चारवटा बच्चा जन्माएँ,’ उनले भनिन्, ‘घरका सदस्यले अग्रसरता नलिएपछि आफ्नो मात्र जानकारी खासै काम नलाग्ने रहेछ ।’

सरकारले घोषणा गरेको सुरक्षित मातृत्व कार्यक्रम अछाममा प्रभावकारी भएको छैन । गर्भवती भएको बेला, सुत्केरी हुँदा र सुत्केरीपश्चात् ६ हप्ताभित्र गरिने ‘विशेष सेवा’ नै सुरक्षित मातृत्व सेवा हो । तर, यही सेवा नपाएका कारण आमा र बच्चाले ज्यान गुमाउने क्रम रोकिएको छैन ।

प्रकाशित : आश्विन १, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?