कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

प्राकृतिक स्रोतमा खिचातानी

स्थानीय तह
मोहन बुढाऐर

कैलाली — बगलैया तालबाट प्राप्त आम्दानीले घोडाघोडी ३ स्थित गंग्री आधारभूत विद्यालयका ३ जना शिक्षकलाई तलब दिइन्छ । गाउँको बाटो निर्माण लगायत सामुदायिक विकासका अन्य काममा समेत तालकै रकम खर्चिने गरिएको छ । अहिले भने गाउँको यो स्रोत बन्द भएको छ ।

प्राकृतिक स्रोतमा खिचातानी

स्थानीयले संरक्षण र उपभोग गरेको तालको आम्दानी नगरपालिकामा जाने भएको हो । नगरपालिकाले चार वर्षका लागि ४० लाखमा माछा ठेक्का दिएको छ । यसअघि स्थानीय बगलैया सामुदायिक वनले ठेक्का लगाउँथ्यो । त्यसबाट वार्षिक ५/७ लाख आम्दानी हुन्थ्यो । त्यो रकम विद्यालय र गाउँको समाजिक विकासमा खर्च गरिन्थ्यो ।

‘अब स्कुल चलाउनै मुस्किल भयो,’ स्थानीय गणेश दहितले भने, ‘तालको आम्दानीले निजी स्रोतका शिक्षकलाई तलब दिइन्थ्यो । गाउँघरका अन्य सामाजिक विकासको काम हुन्थ्यो ।’ उनले यो तालमा नगरपालिकाको कुनै अधिकार नभएको बताए । ‘यो प्राकृतिक ताल पनि होइन,’ उनले भने, ‘स्थानीयले खेत सिञ्चित गर्न वर्षाको पानी जमाएर निर्माण गरेको तलैया हो ।’ उनले ०३२ सालमा स्थानीयले गाईगोरुलाई पानी पिउन र खेत सिँचाइ गर्न पोखरी निर्माण गरेको बताए ।

‘उतिबेला तराईका किसानहरू नजिकको जंगलमा वर्षाको पानी रोकेर सिँचाइ गर्न ताल बनाउँथे,’ उनले भने, ‘जमेको पानीले खेत सिञ्चित गर्ने र गाईगोरुलाई पानी पिउन सुविधा हुन्थ्यो ।’ त्यसैले यो ताल स्थानीयले बनाएकाले नगरपालिकाले ठेक्का लगाउन नपाउने उनको दाबी छ । दहितले स्थानीय तहसँग समुदायको अधिकारको लडाइँ भइरहेको बताए ।

यस्तै यो वर्ष वडा १२ वनवर्षामा पर्ने गुरही तालको ठेक्का पनि नगरपालिकाले लगाएको छ । १८ लाखमा चार वर्षका लागि ठेक्का दिएको छ । यो ताल पनि वर्षामा जमेको पानीबाट बनेको हो । मेगनम सामुदायिक वन उपभोक्ता समितिमार्फत स्थानीयले संरक्षण र उपभोग गर्दै आएका छन् ।

वर्षौंदेखि संरक्षण गर्दै आएको स्रोत नगरपालिकालाई कुनै हालतमा नछोडिने दहितले बताए । ‘यसअघि तालको आम्दानीबाट गाउँको विकासमा लगानी गरिन्थ्यो,’ उनले भने, ‘संरक्षणप्रति स्थानीयको मोह थियो ।’ वनजंगल र तालतलैयाको संरक्षणमा स्थानीयको सहभागिता उपभोग गर्न पाउने अधिकारसँग जोडिएको उनको भनाइ छ ।

घोडाघोडी नगरपालिकाले वसन्ता जंगल क्षेत्रभित्रका ५७ वटा तालतलैयामा माछा मार्ने ठेक्का दिएको छ । सामुदायिक वन भित्रका तालतलैयाको ठेक्कामा स्थानीय र नगरपालिकाबीच विवाद जारी छ । यस्तै भजनी नगरपालिकाले २५ भन्दा बढी सामुदायिक तालमा माछाको ठेक्का दिएको छ । यहाँ पनि स्थानीय समुदायसँग नगरपालिकाको विवाद कायमै छ ।

घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले प्राकृतिक स्रोत नै स्थानीय सरकारको आम्दानीको मुख्य स्रोत भएको बताए । ‘प्राकृतिक स्रोत–साधनको उपभोग गर्न नपाए स्थानीय सरकारको आम्दानी कहाँबाट आउँछ ?’ उनले भने, ‘अहिले तालतलैया र खोलानालाको बालुवा–गिट्टी मूल आम्दानीको स्रोत भएको छ ।’

प्रकाशित : आश्विन २, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?