विद्यालयलाई कम्प्युटर

कञ्चनपुर — सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न भीमदत्त नगरपालिकाले कम्प्युटर वितरण सुरु गरेको छ । आधारभूत तहका विद्यार्थीलाई प्राविधिक शिक्षातर्फ केन्द्रित गर्ने उद्देश्यले कम्प्युटर वितरण सुरु गरेको हो ।

विद्यालयलाई कम्प्युटर

सोमबार नगरपालिकाको ११ नं. वडाका दुई विद्यालयलाई ५/५ थान कम्प्युटर वितरण गरिएको छ । २०७० मा बाढीले बगाएको महाकाली जनज्योति आधारभूत विद्यालय र सिद्धनाथ अमर उच्च माविलाई नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले वितरण गरेका हुन् । दुवै विद्यालयमा ४ लाख ४० हजार बराबरको कम्प्युटरसहितका सामग्री हस्तान्तरण गरिएको छ ।

‘नगर क्षेत्रका सामुदायिक विद्यालयमा शैक्षिक सुधारका लागि हामी प्रयत्नशील छौं,’ नगर प्रमुख विष्टले भने, ‘दरबन्दी मिलान, भौतिक पूर्वाधार र अतिरिक्त क्रियाक्लापमा पनि जोड दिनेगरी काम गरिरहेका छौं ।’ उनले नगर शिक्षा समितिमार्फत शैक्षिक गतिविधि सुधारका लागि आवश्यक पहल गर्न विद्यालयहरूको अनुगमन र निरीक्षण भइरहेको बताए ।

नगरपालिकाले सबै सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा पढाइका लागि सामग्री वितरण गर्ने योजना बनाएको नगर प्रमुख विष्टले बताए । सामुदायिक विद्यालयमा पनि इमेल इन्टरनेटको प्रयोगसँगै प्रविधिमैत्री बनाउने योजना अन्तर्गत १९ वटै वडामा वितरण गर्ने योजना रहेको उनको भनाइ छ ।

उनले पठनपाठन नियमित गर्न सबै विद्यालयमा विद्युतीय हाजिरीको सुरुवात समेत भइरहेको जानकारी दिए । भीमदत्त नगरपालिका ९ को सिद्धनाथ माविबाट विद्युतीय हाजिरी सुरुवात भइसकेको छ । ‘अब सबै विद्यालयमा ई–हाजिरी सुरु गर्दै छौं,’ उनले भने, ‘स्थानीयबाटै यसको अनुगमन र मूल्यांकन गरिनेछ ।’

कम्प्युटर वितरण कार्यक्रममा अभिभावक र शिक्षकहरूले भौतिक पूर्वाधार अभाव तथा विषयगत शिक्षकको अभावका कारण पठन–पाठनमा समस्या भइरहेको गुनासो गरेका थिए । दरबन्दी मिलानको माग राखेका थिए ।

प्रकाशित : आश्विन २, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?