कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

‘मर्ज’ र तह घटाउने निर्णयको विरोध

विद्यालय समायोजन
घोडाघोडी नगरपालिकाले ८ विद्यालयलाई समायोजन र ९ को तह घटुवा गरे पनि अदालतको अन्तरिम आदेशपछि केही विद्यालय सञ्चालनमा
मोहन बुढाऐर

काठमाडौँ — कैलालीको घोडाघोडी–१२ स्थित राजाराम आधारभूत विद्यालयमा एक जना विद्यार्थी पनि भर्ना नभएपछि त्यो विद्यालय स्वत: बन्द भयो । भौतिक पूर्वाधार बेवारिसे अवस्थामा छन् ।

‘मर्ज’ र तह घटाउने निर्णयको विरोध

‘विद्यालयको संरक्षण गर्न पनि विद्यालय समायोजनको निर्णय आवश्यक थियो,’ सोही वडाका वडाध्यक्ष पर्नाकुमार चौधरीले भने, ‘नगर कार्यपालिकाले असार ४ गते विद्यार्थी नभएका विद्यालय समायोजन र तह घटुवा गर्ने निर्णय गर्‍यो ।’ उनले सोही निर्णयअनुसार राजाराम आधारभूत विद्यालयलाई राष्ट्रिय माविमा गाभेको बताए ।

त्यही वडामा ५ कक्षासम्म सञ्चालन भएको शिव प्राथमिक विद्यालयको तह घटुवा गरिएको छ । ‘कक्षा ४ र ५ मा ९ जना विद्यार्थी थिए,’ उनले भने, ‘विषयगत शिक्षक र आवश्यक पूर्वाधार पनि थिएन ।’ उक्त विद्यालयमा अध्ययनरत ५ कक्षाका विद्यार्थीलाई सोही वडाको राष्ट्रिय माविमै गाभिएको छ ।

वडा नम्बर १२ मै ३ कक्षासम्म पढाइ हुने शिव आधारभूत र १२ कक्षासम्म पढाइ हुने राष्ट्रिय मावि मात्रै अस्तित्वमा रहनेछन । यसले समायोजन भएका विद्यालयको सम्पत्ति एकीकरणले भौतिक पूर्वाधार र स्रोतमा वृद्धि भएको वडाध्यक्ष चौधरीले बताए । ‘स्रोत वृद्धिले विद्यालयमा गुणस्तरीय शिक्षा कायम गर्न सकिन्छ,’ उनले भने, ‘अहिले १ देखि १० कक्षासम्म पूर्ण नि:शुल्कमा पढाइ सुुरु गरेका छौं । ६ कक्षासम्मका १ सय ९० विद्यार्थीहरूलाई विद्यालय पोसाक उपलब्ध गराएका छौं ।’

वडाध्यक्ष चौधरी विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गर्न साताको एक/दुई दिन विद्यालयमा आउँछन् । शिक्षक र अभिभावकसँग छलफल चलाएर फर्किन्छन् । सामुदायिक विद्यालयको गुणस्तर खस्केपछि विद्यार्थीको अभाव हुने गरेको चौधरीको बुझाइ छ । ‘अभिभावकहरू संस्थागत र निजी विद्यालयमा बालबालिका पढाउन थाले,’ उनले भने, ‘सामुदायिक विद्यालय व्यवस्थापक समितिमा बस्न नक्कली अभिभावक हुन थाले ।’

कैलालीका १३ वटा स्थानीय तहमा घोडाघोडी नगरपालिकाले मात्रै विद्यालय समायोजन प्रक्रिया सुरु गरेको शिक्षा विकास तथा समन्वय एकाइका उपसचिव विष्णुदत्त भट्टले जानकारी दिए । ‘पहिल्यै जिल्ला शिक्षा कार्यालयले विद्यार्थी संख्या कम भएका विद्यालयलाई समायोजन गर्न खोजेको थियो,’ उनले भने, ‘राजनीतिकरणले समस्या भयो ।’ उनले जिल्लाभरका ५ सय ७० विद्यालयको पुनर्मूल्यांकन र अवस्थाको अवलोकन गरी समायोजन प्रक्रियामा लैजान सकिएमा विषयगत शिक्षकको दरबन्दीको अभाव नहुने बताए । घोडाघोडी नगरपालिकाले गरेको समायोजनको काम अत्यन्तै राम्रो भएको उनको दाबी छ । नगरपालिकाले ८ विद्यालयलाई समायोजन र ९ को तह घटुवा गरेको छ । तर नगरपालिकाको उक्त निर्णयविरुद्ध केही विद्यालय उच्च अदालतमा पुगेको नगरप्रमुख ममताप्रसाद चौधरीले बताए ।

उक्त नगरपालिकाले विद्यालयमा न्यून विद्यार्थी संख्या, आसपासमा अन्य सामुदायिक विद्यालय, भौतिक पूर्वाधार र शिक्षकको आवश्यकतालगायत विभिन्न पक्षको अध्ययन गरी समायोजन र विद्यालयको तह घटुवा गर्ने निर्णय सर्वपक्षीय सहिमतिमै गरेको नगर प्रमुख चौधरीको भनाइ छ ।‘नजिकै अर्काे पूर्वाधार सम्पन्न विद्यालयमा विद्यार्थी संख्या नभएका स्कुल गाभिएका हुन्,’ उनले भने, ‘माध्यमिक तहको एउटा कक्षामा ४/५ जना विद्यार्थी हुने, विषयगत शिक्षक र पूर्वाधार पनि नभएका विद्यालयको तह घटाइएको हो ।’

नगरप्रमुख चौधरीले नगरपालिकाको उद्देश्य समुदायिक गुणस्तरमा वृद्धि, विद्यालय लगानीमा सुनिश्चितता र व्यवस्थापनमा सुधार गर्ने रहेको बताए । समायोजन प्रक्रियाको विरोध आफ्नो स्वार्थका कारण गरिरहेको उनको आरोप छ । घोडाघोडी नगरपालिकाले असार ४ गते ७ विद्यालयको समायोजन र ९ विद्यालयको तह घटुवाको निर्णय गरेको थियो । सरस्वती मावि शिखर, मलेकट्टी मावि जोनापुर, शिव प्रावि वनवर्षा, बाल प्रावि खोया, दशरथ प्रावि शिशैया, शान्ति निमावि रतिपुर र मसाने निमाविका विद्यालय व्यवस्थापक तथा अभिभावकहरूले उच्च अदालतमा नगरपालिकाको निर्णयविरुद्ध रिट निवेदन दर्ता गराएका थिए ।

रिट निवेदनमाथि गत २१ गते बिहीबार अदालतले विद्यालयलाई यथावत् अवस्थामा सञ्चालन गर्न दिने भनेर नगरपालिकालाई अन्तिम आदेश दिएको छ । सरस्वती माविका विद्यालय व्यस्थापक समिति अध्यक्ष खडक बुढाले गाउ‘लाई शिक्षाको पहुँचबाट टाढा राख्ने गरी केही विद्यालय समायोजन र तह घटुवा गर्ने नगरपालिकाको हचुवा निर्णयका विरुद्ध उच्च अदालतमा रिट निवेदन दर्ता गराएको बताए ।

‘शिक्षक, विद्यार्थी र भौतिक पूर्वाधार सबै भएका विद्यालयलाई समेत हटाउने र तह घटाउने काम नगरपालिकाले मनमरि ढंगले गर्‍यो,’ उनले भने, ‘यस्तो निर्णयको विरोध भयो, एक महिना नगरपालिकामा ताला लगाउनेसम्मका आन्दोलन भए ।’ अहिले उच्च अदालतद्वारा अन्तरिम आदेश दिएको उनले बताए । उनले अन्तरिम आदेशपछि नगरपालिकाको समायोजनमा परेका शिक्षकले पहिलेकै विद्यालयमा हाजिर लगाउनुपर्ने बताए । स्थानीय नेता लक्षमण शाहीले जनताले बनाएका स्कुल, जनताकै स्रोतमा चलिरहेको अवस्थामा समायोजनको नाममा हटाउने निर्णय गलत भएको बताए ।

नगर प्रमुख चौधरीले अदालतबाट भएको अन्तरिम आदेशको सम्मान गर्दागर्दै पनि विद्यालय समायोजन भइसकेको अवस्थामा अब पछि फर्किन नसकिने बताए । ‘समायोजनको निर्णय कार्यान्वयनपछि अन्तरिम आदेश आयो,’ उनले भने, ‘अब यस नगरभित्र विद्यालय व्यवस्थापन गर्ने कामलाई कसैले रोक्न सक्दैन ।’
उनले स्थानीय सरकार सञ्चालन कार्यविधि ०७४ अन्तर्गत शिक्षासम्बन्धी नीति निर्माण आफूहरूले गर्न सक्ने बताए । विद्यालय समायोजनको आधार पनि स्थानीय सरकार सञ्चालन कार्यविधि रहेको उनको भनाइ छ ।

विद्यालय स्रोतव्यक्ति राजकिशोर लाल कर्णका अनुसार घोडाघोडी नगरपालिकामा ५७ विद्यालय छन् । नगरपालिको वडा नम्बर २ मा रहेको मसानी निमाविलाई दशरथ उच्च माविमा, वडा ८ को दीपज्योति प्राविलाई राष्ट्रिय मावि तारानगर, वडा नम्बर ९ को शान्ति आधारभूतलाई सीताकुण्ड रीतपुरमा, वडा नम्बर ११ को दशरथ मावि र अमर सहिद निमाविलाई वडा १२ को राष्ट्रिय निमाविमा गाभिएको छ । नगरपालिकाले सरस्वती मावि, मेलकट्टी मावि, मोहनी निमावि, अनुग्रह प्रावि, मोहन्याल निमावि, कालिका मावि र बाल प्राविको तह घटुवा गरेको छ ।

प्रकाशित : आश्विन ३, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?