पुल निर्माण अलपत्र
काठमाडौँ — ठेकेदारको लापरबाहीले महाकाली राजमार्गको दार्चुला–गोकुलेश्वर खण्डका ६ वटा पुल अलपत्र परेका छन् । म्याद सकिएको लामो समय भए पनि १२ करोड लागतका ती पुलको निर्माण अधुरै छ ।
दिवा चन्द्रा एन्ड वसन्त जेभी र जागृति नरसिंह निर्माण कम्पनीले किम्तडी, धाप, काँकडा खोला, सुरकाडा, उडै र मालिकार्जुन गाउँपालिकाको भर्तोला खोलाका ६ वटा मोटरेबल पुल निर्माण अलपत्र छाडेको हो ।
सुरकाडा पुलबाहेकका अन्य सबैको जिम्मा दिवा चन्द्रा एन्ड वसन्त निर्माण कम्पनीले लिएको डिभिजन सडक कार्यालय पाटन, बैतडीले जनाएको छ । डिभिजन सडक कार्यालयका इन्जिनियर शंकर खनालका अनुसार ठेकेदारले समयमै ठूलो लागतका पुल निर्माण नगर्दा यात्रु समस्या भोग्न बाध्य छन् ।
सरोकारवाला निकायको उदासीनता, ढिलासुस्ती र ठेकेदारको लापरबाहीका कारण महाकाली लोकमार्गअन्तर्गत पर्ने महत्त्वपूर्ण ६ वटा मोटरेबल पुलको निर्माण कार्य अलपत्र परेको महाकाली नगरपालिका ८ का इन्द्रसिंह धामीले बताए । ‘यही निर्माण कम्पनीले काँकडा खोलासँगै ६ ठाउँमा पुल निर्माणको ठेक्का पाएको ४ वर्षभन्दा बढी भइसक्यो,’ उनले भने, ‘भौतिक प्रगति भने देखिंदैन ।’
केही ठाउँमा पिलर ठड्याएको छ । हिउँदमा एक/दुई जना कामदार मजदुरी गरिरहेका देखिन्छन् । बाँकी समय निर्माणस्थलमा न कामदार देखिन्छन्, न त ठेकेदार नै आउने गरेको स्थानीयको भनाइ छ । एक/दुई दिन लगातार वर्षा हुनेबित्तिकै खोलामा पानीको सतह बढ्छ । सडक अवरुद्ध हुँदा यात्रु सास्ती खेप्न बाध्य छन् । ०७१ सालमा आएको बाढीका कारण उक्त खोलाको पुल भत्किएको थियो । पुल निर्माण अवधि ०७४ वैशाख मसान्तमै सकिएको भए पनि अझै पिलर खडा गरिएका छैनन् । वर्षमा एक महिना जति काम गरेको जस्तो गर्ने र बाँकी समय कामै नहुने गरेको स्थानीयले बताए ।
सडक डिभिजन कार्यालय बैतडीका अनुसार उक्त निर्माण कम्पनीले अहिलेसम्म ४० प्रतिशत मात्र काम गरेको छ । ‘यही निर्माण कम्पनीले गोकुलेश्वर–दार्चुला सडक खण्डमा योसँगै ६ पुल निर्माणको ठेक्का पाएको छ,’ इन्जिनियर खनालले भने, ‘सबै ठेक्काको म्याद २०७४ असार मसान्तमै सकिएको हो, काम भने दुई पुलबाहेकमा ५० प्रतिशत जति पनि भएको छैन ।’ भर्तोला र उडै पुलको काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।
ठेक्काको सम्झौता हुँदा निर्माण कम्पनीलाई दिएको म्याद सकाएर दुई/दुई पटक थपिएको थियो । थप समय पनि त्यसै गुजारिएको छ । मा पनि आधा काम गर्न सकेको छैन् । ‘छिट्टै पुल बन्छ भनेर सुनेको ४ वर्षा कटाउँदा पनि पुल नबन्दा यहाँका स्थानीयलाई खोला तर्न निकै समस्या भएको छ,’ महाकाली दत्तुका भोजराज भट्टले भने, ‘प्रत्येक वर्षामा सधैं ज्यान धरापमा राखेर खोला तर्न बाध्य भएका छांै ।’
मालिकार्जुन गाउँपालिकाका मेलखेत, भर्तोला, महाकाली नगरपालिकाका दत्तु, सकार, धाप, असिकाडा र खेट्टेबगडलगायत ठाउँका विद्यार्थी पढ्नका लागि दिनहुँ सदरमुकाम खलंगा आउँछन् । वर्षा भएको दिन उनीहरूको बाटो बन्द हुने गरेको छ । दुई/तीन दिनसम्म यातायातका साधन नचल्ने र बाटो अवरुद्ध हुने समस्याले वर्षामा आफ्ना बालबच्चाहरूको पढाइमा बाधा पुग्ने गरेको स्थानीय अभिभावकहरूको गुनासो छ । जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रीको निर्देशनपछि यहाँका निर्माण व्यवसायीहरूलाई प्रशासनमा डाकेर गत जेठ अन्तिमतिर एक साताभित्र जिल्लाको निर्माण कार्यलाई तीव्रता दिन ताकेता गरेका थिए । त्यसलाई ठेकेदारहरूले वास्ता गरेका छैनन् ।