कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोराको आसमा १२ सन्तान

मोहन शाही

डोटी — केआईसिंह–१ की धना जेठाराले ४७ वर्षको उमेरमा १२ सन्तान जन्माइन् । बाह्रौ गर्भमा बल्ल छोरा पाइन । १६ वर्षे कलिलो उमेरमै बुहारी बनेकी उनले छोरा पाउन ज्यानकै जोखिम उठाएकी हुन् । छोराकै आसले पटकपटक गर्भवती हुँदा उनको पाठेघर झरेको वर्षौं भयो ।

छोराको आसमा १२ सन्तान

पाठेघर झर्दा जीवन–मरणको दोसाँधमा पुगिन् । धनाको उपचार हुन सकेको छैन । झरेको पाठेघर बोक्न थालेको लामो समय भइसक्यो । शल्यक्रिया गरेर पाठेघर फाल्नुपर्ने अवस्थामा पुग्दा पनि उपचार गर्न सकिरहेकी छैनन् ।

केहीको कलिलो उमेरमै मृत्यु भएपछि अहिले धनाका सात सन्तान जीवित छन् । श्रीमान् कर्णप्रसाद रोजगारीका लागि भारत गएका छन् । छोरीहरू अझै परिपक्व भइनसकेकाले उपचारका लागि सहयोग गर्न सक्दैनन् । जुन छोराको आसमा उनले रोग पालेकी थिइन्, ऊ पनि कलिलै छ । ‘के गर्ने छोराको आसले बिजोग भयो,’ उनले दुखेसो पोखिन्, ‘अप्रेसन गर्न कोहलपुर जानुपर्ने रे, डाक्टरले नत्र जे पनि हुन सक्छ भने । मेरो त जिन्दगी नै बर्बाद भयो ।’

धनाजस्तै छोराको आशले जिन्दगीभर पछुताइरहेकी छन्, ६० वर्षीया जमुना रावल । उनको कथा पनि धनासँग मिल्दोजुल्दो छ । उनले ११ सन्तान जन्माइन् । ११ मध्ये ९ को मृत्यु भयो । ९ सन्तान बितेपछि उनले दुई छोरा पाइन् । छोरा जीवित भए पनि उनको बुढेसकाल सुखसयलमा छैन । पाठेघर झरेको छ ।‘छोराछोरी, बराबरी’ नारा लगाउन थालेको वर्षौं भए पनि सन्तानबीचको विभेद ग्रामीण क्षेत्रमा अझै घट्न सकेको छैन । अघिल्लो पुस्ताका यस्ता थुप्रै उदाहरण भेटिन्छन्, जसले छोराको आसमा आफैंलाई बर्बाद पारेका छन् । छोरीलाई सन्तानका रूपमा अझै मानिएको पाइँदैन । छोरा नहुनेलाई समाजमा अपहेलित हुने, सम्पत्तिको संरक्षण नहुँने र बुढेसकालमा दु:ख पाइनेजस्ता अन्धविश्वास समाजमा कायमै छन ।

डोटी बहुमुखी क्याम्पसका सहप्रध्यापक तीर्थराज जोशी भन्छन्, ‘महिलालाई वंश जोगाउनका लागि छोरा जन्माउन सामाजिक दबाब हुन्छ । छोराबिनाकी आमालाई घरपरिवारसँगै समाजमा अपहेलना गरिन्छ । छोरी जन्मेकी भए पनि अपुरो भनेर दोष लगाउँछन्, यस्तो सामाजिक बाध्यताले ज्यान बाजीमा राखेर छोरा जन्माउन अनेक दुख: भोग्ने महिला धेरै छन ।’

डा. सृजना गौचन धेरै पटक गर्भपतन वा गर्भवती भएमा पाठेघर झर्ने समस्या निम्तिने बताउँछिन् । ‘महिलाहरूमा जनचेतनाको अभाव छ, समाजकै कारण पनि बाध्यता छ,’ उनले भनिन् ‘धेरै पटक गर्भवती हुँदा पाठेघरको झिल्ली पातलो हुने र लत्रिने भएकाले झर्ने समस्या बढी हुन्छ, यस्तोमा सजग रहन आवश्यक छ ।’ पछिल्लो शिक्षित पुस्ता थोरै सन्तानप्रति आकर्षित हुँदै गएको भए पनि दुर्गम क्षेत्रमा अझै समस्या ज्यूँका त्यूँ छ । छोराप्रतिको चाहनाले महिलामाथि घरेलु र यौनजन्य हिंसा हुने गरेको छ । छोराछोरीबीचको विभेदले परिवारलाई मात्र नभएर सिङ्गो समाजलाई नै प्रभाव पारिरहेको मानवअधिकारकर्मी लवदेव भट्टले बताए ।

प्रकाशित : आश्विन ३, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?