१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

दोधारा–चाँदनीको पीडा–‘डुबान रोकियो कटान सुरु भयो’

भवानी भट्ट

कञ्चनपुर — वर्षायाममा महाकाली १० को कुतियाकभर सधै डुबानमा पर्छ । वर्षा रोकिएपछि भने कटान सुरु हुन्छ । यस वर्ष पनि जोगबुढा नदीको कटानले ८ परिवार उच्च जोखिममा परेका छन् ।

दोधारा–चाँदनीको पीडा–‘डुबान रोकियो कटान सुरु भयो’

कुतियाकभरलाई दोधारा चाँदनीसंग जोडनका लागि जोगबुडामा गतवर्ष निर्माण भएको झोलुंगे पुल समेत जोखिममा छ ।

भारतिय पक्षले शारदा नहरको पानी नगला कालापुलबाट जोगबुडा नदीमा छाड्ने गरेको छ । उक्त पानीले महाकाली नगरपालिकाको सुन्दरनगर र कुतियाकभरमा करिब एक महिनादेखि कटान भईरहेको स्थानीयले बताए ।

‘जोगबुढाले ५/७ मिटर भन्दा बढी कटान गरिसक्यो,’ स्थानीय तेजबहादुर सुनारले भने, ‘अझै कटान जारी छ, नरोकिए ८/१० परिवार विस्थापित हुन्छन् ।’ उनका अनुसार दानबहादुर मगर, हस्तबहादुर सुनार, कुलबहादुर सुनार, धनबहादुर सुनार र वीरबहादुर सुनारसहित १५ जनाको जमिन कटान गरिसकेको छ ।

एक महिनादेखि लगातार भइरहेको कटानका कारण उक्त क्षेत्रमा १५ परिवारको खेत बगेको छ । नदी किनारमा लगाएको अरहर, परवल र बेसार लगायत खेती बगाएको महाकाली १० का वडाध्यक्ष नरबहादुर सुनारले बताए ।‘कटान नरोकिए झालुंगे पुलको जग पनि भत्किने खतरा छ,’ उनले भने, ‘पारिपट्टि ढुवानीका साधन जान नसक्ने भएकाले पनि नियन्त्रणमा समस्या भएको छ ।’

साउन अन्तिम साताको बाढी सुन्दरनगर र कुतियाकभरमा पसेपछि यहाँका स्थानीय विस्थापित भए । त्यसपछि बाढी आउन रोकियो । तर नहरको पानी जोगबुडामै छाड्ने गरेका कारण वर्षा नभए पनि बाढी जस्तै अवस्था आएको छ । ‘भारतीय पक्षले जथाभावी पानी छाड्दा यो समस्या आएको हो,’ वडाध्यक्ष सुनारले भने, ‘अहिले रोकथामका लागि बास गाडेर जैविक तटबन्ध बनाउने काम भइरहेको छ ।’

जोगबुडा नदीले बर्सेनि जमिन कटान गर्दै गएपछि यहाँका वासिन्दा विस्थापित हुने अवस्थामा पुगेका छन । नदीमा जब पानी कम हुँदै जान्छ कटान झन् तीव्र हुन्छ ।

त्यहि भएर यहाका स्थानीयले पक्की तटबन्ध निर्माणको माग गर्दै आएका छन् । ‘पक्की तटबन्ध बनाउन नसकिने भए यहांको बस्तीलाई सुरक्षित स्थानतर्फ सारिदिनुपर्छ,’ स्थानीय खडक बुढाले भने, ‘बाह्रै महिना बाढीको त्रासमा कति बाँच्ने ?’नदीले करिब ३ सय मिटर लम्बाइमा कटान गरिरहेको छ । यो क्रम बढ्दै गएकाले किनारका अन्य वस्तीमा पनि कटान बढ्दै जाने देखिन्छ ।

खासगरि जोगबुडा पारीका बडुवालटोल, कञ्जभोज, सुन्दरनगर र कुतियाकभर लगायतका वस्ती नदी कटान र डुबानको समस्या झेल्दै आएका छन् । ‘वर्षात् सकिएपछि पनि नदीले कटान गर्ने सधैंको समस्या हो,’ स्थानीय गगन खत्रीले भने, ‘यसका लागि भारतिय पक्षसंग पनि आवश्यक पहल गरिनुपर्छ ।’ उनका अनुसार भारतीय पक्षले बढी भएको पानी मुख्य नहरबाट नदीमा छाड्ने गरेकाले यस्तो समस्या आउने गरेको हो । पानी छाड्दा पनि व्यवस्थित हुनुपर्ने उनले बताए । कुतियाकभरमा करिब ४० परिवारको बसोबास छ । छेउमै भारत उत्तरप्रदेशको पिलिभित जिल्लाको बंगाली कलौनी छ ।

यहाँका बासिन्दा नुनतेल देखि सामान्य औषधी उपचारका लागि पनि सीमावर्ती बजार जाने गर्छन् । नदीले जमिन कटान गर्दै गएपछि विस्थापित हुँदा आश्रय लिने ठाउँसमेत नभएको उनीहरूको गुनासो छ ।

प्रकाशित : आश्विन ४, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?