कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विपन्नलाई बिमाको सहारा

धनगढी — भजनी–१ का रामलाल डगौरा हर्निया र हाइड्रोसिलले थलिए । तत्काल उपचार गराउनुपर्ने भए पनि घरमा खर्चको जोहो थिएन । तर, उनले स्वास्थ्य बिमा गरेका थिए ।

विपन्नलाई बिमाको सहारा

धनगढीको नवजीवन अस्पतालमा उपचार गराउन पुगेका डगौराका लागि बिमा सहारा बन्यो । लागेको सबै खर्च अस्पतालले डगौराको स्वास्थ्य बिमा रकमबाट कटायो । यस क्षेत्रमा विपन्न वर्गका लागि स्वास्थ्य बिमा सहयोगी हुन थालेपछि आकर्षण पनि बढ्दै गएको छ ।

कैलालीबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम हाल प्रदेशका ५ जिल्लामा सञ्चालित छ । कैलाली, बाजुरा, बैतडी, अछाम र बझाङमा गरी हालसम्म १ लाख १९ हजारले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा बोर्ड धनगढीले जनाएको छ ।

स्वास्थ्य बिमा गराउनेको संख्या हालसम्म सबै भन्दा बढी कैलालीमा छ । कैलालीमा ७९ हजार ८९९ ले स्वास्थ्य बिमा गराएको बोर्डको प्रदेश कार्यालयका संयोजक जनक साउदले बताए । यस्तै बैतडीमा ६ हजार १ सय ६६, अछाममा १० हजार ५ सय १, बझाङमा ११ हजार ४ सय ६७ र बाजुरामा १३ हजार ८ सय २५ ले स्वास्थ्य बीमा गराएको बोर्डले जनाएको छ ।

बिमा गरेकामध्ये कैलालीका ३३ हजार बढीले स्वास्थ्य सेवा लिइरहेको बोर्डले जनाएको छ । गएको साता भजनीकै सुमन लामा सिकिस्त बिरामी भए । कोहलपुर रिफर भएका उनले उपचार गर्न काठमाडौं पुग्नुपर्ने भयो । पाटन अस्पतालमा उपचार गराएका उनको उपचार खर्च एक लाख पुग्यो । ‘तर सबै रकम स्वास्थ्य बिमाबाटै भुक्तानी भएकाले उनलाई सजिलो भयो,’ दर्ता सहायक लक्ष्मी डगौराले भनिन् ।

कैलालीबाट ०७२ चैतमा सुरु भएको यो अभियान हाल ४२ जिल्लामा विस्तार भएको छ । राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमलाई तीव्रता दिएको बोर्डले जनाएको छ । स्वास्थ्य बिमा गर्न प्रदेश ७ मा सञ्चालित ५ जिल्लामा ५ सय १२ जना दर्ता सहयोगी परिचालित छन । ‘हरेक वडामा एकजना दर्ता सहयोगी परिचालन गरेका छौं,’ बोर्डका प्रदेश संयोजक साउदले भने, ‘बिमामा आकर्षण बढ्दै छ ।’

नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउने उद्देश्यअनुरूप राष्ट्रिय स्वास्थ्य बिमा ऐन ०७४ अनुसार बिमा कार्यक्रम सञ्चालित छ । सुरुमा कार्यक्रमको महत्त्व तथा उद्देश्य सर्वसाधारणलाई बुझाउनै कठिन भए पनि पछिल्लो समयमा सर्वसाधारणको आकर्षण बढ्दै गएको दर्ता सहायकहरू बताउँछन् ।

प्रकाशित : आश्विन ४, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?