१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

संहिता विरोधमा चालक हडताल

भारतबाट फर्कने यात्रु अलपत्र
बन्दको मौका छोपेर चर्काे भाडा
अछाममा हवाई फायर र अश्रुग्यास
प्रदेश ब्युरो

धनगढी — मुलुकी संहितामा सवारी चालकहरूका लागि ल्याइएको कारबाही सम्बन्धी प्रावधानमा संशोधनको माग गर्दै आहवान गरिएको बन्दले कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित भएको छ ।

संहिता विरोधमा चालक हडताल

अछामको साँफेबगरमा प्रहरी र यातायात मजदुरका बीच झडप भएको छ । हवाई फायर र अश्रुग्यास प्रहारले साँफे दिनभर तनावग्रस्त बन्यो ।

भारतको चण्डीगढमा कुकको काम गर्ने रोल्पा जंगकोटका वीरबहादुर ओली ३ दिनदेखि महेन्द्रनगरमा अलपत्र छन् । आमाको मृत्युपछि दाहसंस्कारका लागि हतार गरेर आएका उनी बसपार्कमा यातायात खुल्ने प्रतीक्षामा बसेका छन् । चण्डीगढबाट आउँदा यहाँको बन्दबारे केही जानकारी नपाएका कारण समस्या झेल्नुपरेको उनले बताए ।

‘आमाको अन्तिम संस्कारका लागि पनि घर पुग्न सकिएन,’ उनले भने, ‘किरिया सकिँदासम्म पनि पुग्न पाउछु कि पाउँदिनँ, केही थाहा छैन ।’ बुधबार साँझ केही बसहरू चले । तर आधा बाटोसम्मको भाडा नै हजार/पन्ध्र सय माग्न थालेपछि उनी गएनन् । ‘एक हजारमा त घरसम्म पुगिन्छ,’ उनले भने, ‘त्यहाँ पनि आधा बाटोमा अलपत्र परिने पो हो कि भन्ने चिन्ता लाग्यो ।’

साना सवारीमा चर्काे भाडा
भारतको दिल्लीमा काम गर्ने बैतडी शिवनाथ ३ शर्मालीका नीरज साउद सशस्त्र प्रहरीमा भर्नाका लागि आवेदन दिन मंगलबार महेन्द्रनगर पुगेका थिए । उनले अत्तरियास्थित सशस्त्र प्रहरीको वाहिनीमा आवेदन दिन अटो वा मोटरसाइकलमा जान खोजे । अरू बेला अत्तरिया पुग्न सय रुपैयाँ भाडा लाग्थ्यो । तर, अटो र मोटरसाइकलले एक हजार भाडा लिन खोजेको उनले बताए ।

‘सय रुपैयाँ मात्रै भाडा पर्ने ठाउँमा पनि हजार/बाह्र सय भनिरहेका छन्,’ महेन्द्रनगर बसपार्कमा भेटिएका साउदले भने, ‘यति चर्को भाडा तिरेर जानुभन्दा यहीं बस्नुपर्ला ।’ उनी तीन दिनदेखि महेन्द्रनगरमै साथीको कोठामा बसेका छन् । बन्दका कारण घर पुग्न समस्या भएको उनले बताए । धनगढी बसपार्कमा टिकट काउन्टर खुला छ । बसको रुटिन पनि सूचना पाटीमा टाँसिएको छ । बसपार्कमा बस पनि स्ट्यान्डबाइ छन् । तर, बस रुटिनमा नचल्दा यात्रु हैरानी खेप्न बाध्य छन् ।

‘काउन्टरमा भएका कर्मचारी बस कहिलेदेखि चल्छ भन्दा चालकहरूलाई सोध भन्छन्,’ बझाङ देउथलाका हर्कबहादुर धामीले भने । उनका अनुसार सुदूरका पहाडी लगायत विभिन्न स्थानमा जाने सयौं यात्रु बसपार्कमा अलपत्र छन् । यस्तै भारतको दिल्लीबाट घर फर्कन लागेका अछाम बैचडा गाउँका सर्पे साउदले जहिले पनि बन्दको मारमा परिरहेको गुनासो गरे । उनले वर्षदिन भारतमा काम गरेर कमाएको पैसा पनि बाटोमै सकिने गरेको बताए ।

सुदूरपश्चिम बस व्यवसायी समितिका अध्यक्ष पदम सापकोटाले बस चालकहरूले बन्द गरेको बताए । उनले स्वतन्त्र चालक संघर्ष समिति पर्सा वीरगन्जको आह्वानमा बन्द भएको जानकारी दिए । संघर्ष समितिले नयाँ संहितामा सवारी चालक सम्बन्धी कडा कानुन आएकाले त्यसको परिर्वतनको माग राखेको छ ।

‘चालकहरूले आफ्नै नेटवर्कमा बन्द गरिरहेका छन्,’ अध्यक्ष सापकोटाले भने, ‘बस समिति र बस मालिकले गाडी चलाउन अनुरोध गरेको छ । तर उनीहरूले मानेका छैनन् ।’ प्रदेश ७ को राजधानी धनगढीबाट जिल्लाभित्र र बाहिर सञ्चालित हुने सार्वजनिक सवारी साधन ३ दिनदेखि बन्द छन् । सञ्चालनका लागि स्थानीय प्रशासनले पहल गरिरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए । उनले बिहीबार बस समिति, मजदुर संघसंगठन र चालक लगायत सरोकारवाला पक्षसँग यातायात सेवा सञ्चालनका लागि छलफल गरेको बताए । ‘हामीले सुरक्षा व्यवस्था दिन्छौं, गाडी चलाउनु भन्यौं,’ प्रजिअ श्रेष्ठले भने, ‘बन्दका जिम्मेवार पक्ष छलफल कार्यक्रममा कोही पनि देखिएनन्, तर चालकहरूले बन्दको अवज्ञा गरेर चलाउन नसकिने बताए ।’

चालक र प्रहरीबीच झडप
सार्वजनिक यातायात मजदुरहरूको आन्दोलनमा अछामको साँफेबगरमा प्रहरीसँग झडप हुँदा हवाई फायर र अश्रुग्यास प्रहार गरिएको छ । आन्दोलनमा संलग्न एक मजदुर घाइते छन् ।सवारी चालक अर्जुन कुँवर घाइते भएका हुन् । उनको आँखामा गम्भीर चोट लागेपछि थप उपचारका लागि धनगढी रिफर गरिएको बयालपाटा अस्पतालले जनाएको छ । साँफेबगर बजार बन्द छ । स्थिति तनावग्रस्त भएको स्थानीयले बताए ।

प्रहरीलाई ढुंगामुढा गरेपछि भीडलाई नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर र केही अश्रुग्यास प्रहार गरेको डीएसपी जनकबहादुर शाहीले जानकारी दिए । सदरमुकाम मंगलसेनमा सार्वजनिक यातायात बन्द गर्दै हिँडेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बन्दले सदरमुकाम मंगलसेनसहित जिल्लाभर सवारी साधन प्रभावित भएका छन् । छोटो र लामो दूरीका कुनै सवारी साधन बुधबारबाट चल्न सकेका छैनन् । जनजीवन प्रभावित भएको छ । यात्रु गन्तव्यसम्म पुग्न नपाउँदा अलपत्र छन् ।


भवानी भट्ट (कञ्चनपुर), मोहन बुढाऐर (धनगढी) र मेनुका ढुंगाना (अछाम)

प्रकाशित : आश्विन ५, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?