कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

चाडबाडको मुखमा खाद्यवस्तुमा अत्यधिक मूल्य वृद्धि 

प्रदेश ब्युरो

धनगढी — चाडबाड नजिकिँदै जाँदा दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि हुन थालेको छ । प्रदेश ७ को प्रमुख सहर तथा व्यापारिक केन्द्रमा उपभोग्य वस्तुको अभाव र मूल्य वृद्धिको असर पहाडी जिल्लामा समेत परेको छ । 

चाडबाडको मुखमा खाद्यवस्तुमा अत्यधिक मूल्य वृद्धि 

सरोकार पक्षबाट मूल्य वृद्धि नियन्त्रणको प्रयास तथा अनुगमन नहुँदा उपभोक्ताहरू मर्कामा परिरहेको राष्ट्रिय उपभोक्ता महासंघका जिल्ला अध्यक्ष हरिप्रसाद रेग्मीले बताए । ‘चाडबाडका बेला बजार अनुगमन आवश्यक हो,’ उनले भने, ‘माग बढ्ने बेला व्यापारीले अनावश्यक रूपमा मूल्य बढाएका हुन्छन् ।’

यसै बेला खाद्यवस्तुमा मिसावट र सडेगलेका वस्तुहरू बिक्री हुने गरेको पनि उनले बताए । अध्यक्ष रेग्मीले प्रमुख जिल्ला अधिकारीले बजार अनुगमन गरी बजार भाउ नियन्त्रणमा पहल गर्नुपर्ने बताए । धनगढी बसपार्कका ऋषि किराना पसल सञ्चालक हरि पौडेलले गत वर्षको तुलनामा यसबेला १० देखि ५० प्रतिशतसम्म खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको बताए । उनका अनुसार गेडागुडी, तेल, चामलमा मूल्य बढेको छ । ‘चना र तेलमा झन्डै ५० प्रतिशत वृद्धि भएको छ,’ उनले भने, ‘तेल प्रतिलिटर २ सयसम्म पुगेको छ ।’

धनगढीमा तरकारीको भाउसमेत अकासिएको छ । ‘नयाँ आलुको मूल्य ७० रुपैयाँ प्रतिकिलो पुगेको छ । तीते करेला २ सय रुपैयाँ पुगेको छ । अन्य हरियो तरकारी पनि खाइनसक्नुभएको छ,’ उपभोक्ता टीका विष्टले भने, ‘यो अचाक्ली मूल्य वृद्धि कसरी हुन्छ, उपभोक्ताले पनि थाहा पाउने संयन्त्र हुनुपर्‍यो ।’

धनगढी सब्जीमण्डीका व्यापारी सोनु कामी आन्तरिक उत्पादनमा कमी र भारतबाट आयातमा हुने वस्तुमा उतैबाट खरिद मूल्य बढेको बताउँछन् । उनी यसलाई नियमित वृद्धि भन्छन् । ‘गत वर्षको तुलना गर्न नै मिल्दैन,’ उनले भने, ‘हरेक महिना खाद्यवस्तुमा मूल्य बढेको छ ।’

धनगढीमा भएको मूल्य वृद्धिको असर प्रदेश ७ का सबै उपभोक्तामा परेको उपभोक्ता समितिका रेग्मीले बताए । त्यसैले मूल्य वृद्धि नियन्त्रण, बजार अनुगमन धनगढीमै हुनु आवश्यक रहेको उनको भनाइ छ ।

धनगढीमा वाणिज्य, गुण नियन्त्रण, नाप तौल लगायतका बजार अनुगमन गर्ने क्षेत्रीय तथा जिल्ला कार्यालय छन् । ‘यी कार्यालयहरूले कुनै कामै गरेनन्,’ रेग्मी भन्छन् ।


कञ्चनपुरमा पनि उस्तै

कञ्चनपुरमा पनि कर वृद्धिको कारण देखाउँदै नुन, तेलदेखि दाल, चामलमा चर्काे मूल्य वृद्धि गरिएको छ । एक महिनायता खाद्यान्न र तरकारीमा १० देखि १५ रुपैयाँसम्म वृद्धि भएको छ । एक महिना अघिसम्म ३० देखि ३५ पर्ने मोटो चामल ४० देखि ४५ रुपैयाँ पुगेको छ । यसैगरी ५० रुपैयाँ पर्ने मसिनो चामल ५५ देखि ६० पुगेको छ । एक महिना अघिसम्म १ सय ३० रुपैयाँ पर्ने तोरीको तेल अहिले १ सय ५० नाघेको छ ।

‘हरेक कुरामा मूल्य वृद्धि भएको छ,’ महेन्द्रनगर बजारका थोक तथा फुटकर व्यवसायी प्रेम सामन्तले भने, ‘चामलदेखि नुन, तेल र तरकारी सबैमा मूल्य बढेको छ ।’ उनका अनुसार तोरीको तेल र रिफाइन्ड तेलमा धेरै मूल्य वृद्धि भएको छ ।

बिस्कुट, चाउचाउ, साबुनलगायतको मूल्य पनि बढेको छ । चालु आर्थिक वर्षपछि हरेक थोकको मूल्य अकासिएको व्यवसायीहरू बताउँछन् ।

महेन्द्रनगर बजारभन्दा ग्रामीण भेगमा मूल्य वृद्धि अझ बढी भएको छ । म्याद नाघेका र गुणस्तरहीन खाद्यवस्तुहरूसमेत ग्रामीण भेगमा बिक्री हुने गरेको पाइन्छ । लामो समयदेखि बजार अनुगमन नहुँदा काला बजारी मौलाउँदै गएको उपभोक्ताहरू बताउँछन् ।

एक महिनायता तरकारीमा पनि दोब्बर मूल्य वृद्धि भएको छ । लौका, फर्सी, मूला, काउली र बन्दा सबैको मूल्य दोब्बर भएको व्यवसायीहरू बताउँछन् । अहिले लौका, फर्सी र मूला र बन्दाको प्रतिकिलो ६०, काउलीको १ सय २० प्रतिकिलो पुगेको छ । ‘एक महिनादेखि तरकारीको मूल्य छोइनसक्नु छ,’ व्यवसायी नारायण पाण्डेयले भने, ‘अहिले तरकारी अभाव हुने सिजन नै हो, तर यो वर्ष अलि बढी नै मूल्य बढेको छ ।’

कामदारलाई समस्या

दिपायल पिपल्लाका नरीभान नेपाली गत वर्षसम्म पाँच रुपैयाँको एक मुठो साग बजारबाट किनेर खान्थे । यो वर्ष बजारमा हरियो साग आएदेखि चाख्न पाएका छैनन् । ‘१५ रुपैयाँ मुठो साग छ,’ उनले भने, ‘तेल, चामल, दाल त छोइनसक्नुभएको छ ।’

नरीभान दिनभरिको मजदुरी गरेको आम्दानीले परिवार पाल्ने गर्छन् । पिपल्लास्थित दलित परिवारको ८० घरधुरीमा अहिले महँगीले सास्ती थपेको छ । जिल्लाका अधिकांशको दैनिकी कष्टकर बनाएको दिपायल सिलगढी नगरपालिका ५ का बहादुर विकले गुनासो सुनाए । चाडबाड नजिकिँदै जाँदा बढेको मूल्यले जीवन धान्न कठिनाइ भएको उनले बताए । ‘गत वर्ष १८ सय पर्ने चामलको बोरा योपालि २२ सय ५० भएको छ,’ उनले भने, ‘आम्दानी बढेको छैन, खर्चले भने आकाश छुँदा चाडबाड कसरी मनाउने भन्ने चिन्ता अहिल्यैबाट सुरु भइसक्यो ।’

खाद्यान्नमा २ देखि साढे तीन प्रतिशतजति मूल्य बढेर आएको घटाल सप्लायर्सका व्यापारी विक्रम साउँद बताउँछन् । उनका अनुसार तरकारी, नुन, तेल, दाल, चामलमा मूल्य बढेको छ ।

मदिरा र सुर्तीजन्यमा मूल्य दोब्बर भएको छ भने शृंगारका सामानमा न्यूनतम १० प्रतिशत मूल्य बढेको स्थानीय व्यापारीहरू बताउँछन् ।

(मोहन बुढाऐर धनगढी, भवानी भट्ट कञ्चनपुर र मोहन शाही डोटी)


प्रकाशित : आश्विन ५, २०७५ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?