अपी आरोहणमा अवरोध

मनोज बडु

दार्चुला — अपी हिमाल आरोहणका लागि यहाँ पुगेको विदेशी पर्यटकको टोली बाटो नहुँदा आधा बाटोबाट फर्केको छ । भाद्र अन्तिम साता सदरमुकाम खलंगाबाट अपी हिमाल आरोहणका लागि हिंडेको चेक रिपब्लिकको टोली बाटो नहुँदा सोमबार व्यास गाउँपालिका २ दुम्लिङबाट फर्केको हो ।

अपी आरोहणमा अवरोध

अपी हिमाल आरोहण गर्न आएको विदेशी पर्वतारोही पर्यटकहरूको टोली बाटो नपाएर व्यास गाउँपालिकाको तम्पाकुबाटै फिर्ता भएको स्थानीयले बताएका छन् । व्यास जानलाई दुम्लिङमाथिको बाटो भत्केको हुनाले टोली दुम्लिङ्बाट फर्केको व्यास २ का स्थानीय हरकसिंह बुढाथोकीले बताए । व्यास गाउँपालिका २ को तम्पाकु र थी भीर क्षेत्रमा पहिरोका कारण व्यास जाने घोरेटो बाटो अवरुद्ध भएको करिब दुई महिना पुग्न लागेको स्थानीयले बताएका छन् ।

अपी हिमालको बेस क्याम्प पुग्नलाई ३ रुट छन् । सदरमुकाम खलंगाबाट २ र गोकुलेश्वरबाट एउटा रुट रहेको छ । त्रिदेशीय सीमासित जोडिएको व्यासबाट सजिलो रुट पर्ने भएकाले टोलीले उक्त बाटो प्रयोग गरेको थियो तर दुम्लिङमाथिको घोडेटो बाटो वर्षातमा क्षति पुगेको हुनाले अवरुद्ध हुँदा टोली दुम्लिङबाट सोमबार नै सदरमुकामका लागि हिंडेको बुढाथोकीले जानकारी दिए । आधार शिविर पुग्न खलंगाबाट हुती, सुन्सेरा, राप्लाको दुम्लिङ, व्यास हुँदै जानुपर्छ ।

युरोपियन मुलुक चेक गणतत्रका ८ जना र २ जना नेपालीसहित १० जनाको टोली त्यसतर्फ प्रस्थान गरेको थियो । अपी हिमाल आरोहण गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागबाट ६० दिनको अनुमति लिएर साताअघि यहाँ पुगेको थियो । अझै खलंगा, हिकिला, इयरकोट, सितोला तथा गोकुलेश्वर लटिनाथ, खण्डेश्वरीका दुइटा रुटबाट बेस क्याम्पसम्म पुग्न सकिन्छ ।

पर्यटन मन्त्रालयबाट उक्त टोलीसित आएका सदस्यहरूले उक्त क्षेत्रका बारेमा जानकार निकाय तथा व्यक्तिहरूसित समन्वय नगरी हिंडेको हुनाले आधा बाटोबाट फर्कनुपर्ने स्थिति सिर्जना भएको अपी हिमाल गाउँपालिकाले समाजसेवी कल्यानसिंह बोहराले बताए । ‘अपी हिमालको आधार शिविरसम्म पुग्ने बाटाका बारेमा अपीनाम्पा संरक्षण क्षेत्र कार्यालयका कर्मचारी र स्थानीय नागरिकलाई थाहा हुन्छ,’ उनले भने, ‘उक्त टोलीले जिल्लामा रहेको संरक्षण क्षेत्रको कार्यालयसित सम्बन्धित ठाउँका स्थानीयसित समन्वय गरेको देखिँदैन ।’

व्यासम्म पुग्ने पदमार्ग निर्माण गर्न गत वर्ष व्यास गाउँपालिकाले २५ लाख र चालु आवमा २० लाख बजेट विनियोजन गरेको छ । गत वर्ष ठेकेदारले सम्झौताअनुसार काम नगर्दा ९ लाख मात्रै भुक्तानी गरिएको व्यास गाउँपालिकाले जनाएको छ । बर्सेनि हजारौँ पर्यटक यहाँ घुम्न आउने सम्भावना बोकेका क्षेत्र भए पनि प्रचारप्रसार अभाव र उपयुक्त रुट निर्माण गर्न नसक्दा काठमाडांैबाट फर्कने गरेको स्थानीय बताउँछन् ।

सात हजार १३२ मिटर उचाइमा रहेको अपी हिमाल पर्यटकहरूको आकर्षणको गन्तव्य भए पनि पर्यटकहरू यहाँ कमै आउने गर्छन् । द्वन्द्वकालपछि यहाँका हिमाल आरोहणका लागि आएको यो पहिलो टोली हो । ०५५/०५६ सालपछि विदेशी नागरिक अपी हिमाल आरोहणका लागि आएको छैन ।

यहाँ पर्यटकको मन लोभ्याउने थुप्रै जीवजन्तु, प्राकृतिक स्रोतसाधनले भरिपूर्ण भए पनि यातायात असुविधा, पर्यटकीय पदमार्ग अभाव, दक्ष गाइड र उपयुक्त बसोबासको व्यवस्था, पर्यटकीय क्षेत्रको प्रचारप्रसार अभावलगायत कारणले पर्यटक अपी नाम्पा संरक्षण क्षेत्रमा पुग्न सकेका छैनन् ।

प्रकाशित : आश्विन ६, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?