कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

केरा गनेर होइन, तौलेर बिक्री

गणेश चौधरी

टीकापुर — केराका कोसा गनेर दर्जनको हिसाबले बिक्री गर्ने चलन छ । टीकापुरमा भने गनेर होइन, अब तौलेर बिक्री गर्न थालिएको छ । केरा किसान र व्यापारीले तौलेर बेच्ने सहमति गरेका हुन् ।

केरा गनेर होइन, तौलेर बिक्री

यसअघि दर्जनको हिसाबले केरा खरिद–बिक्री हुँदै आएको थियो । केरा किसान र थोक व्यापारीका बीचमा केरालाई दुई श्रेणीमा विभाजन गरेर मूल्य निर्धारण भएको छ । पहिलो श्रेणीको काँचो केरा प्रतिकिलो २३ रुपैयाँ २५ पैसा र दोस्रो श्रेणीको काँचो केरा प्रतिकिलो १८ रुपैयाँमा बिक्री गरिनेछ ।

दर्जनको हिसाबले केरा बिक्री गर्दा कतिपय किसानले केरा परिपक्व नभएरै काट्ने र उपभोक्ताले नेपाली केरा राम्रो हुन्न भन्ने गुनासो गरेपछि त्यसो गर्नुपरेको प्रस्तावित कैलाली केरा उत्पादक सहकारी संस्थाका अध्यक्ष रामबहादुर कुँवरले बताए । ‘किलोको हिसाबले केरा बिक्री गर्दा किसानले परिपक्व बनाएर काट्छन् । यसो गर्दा तौल पनि बढ्छ र उपभोक्ताको गुनासो पनि रहन्न,’ उनले भने । अध्यक्ष कँुवरका अनुसार केरा गनेर बेच्दा झन्झटिलो हुन्छ । गन्दा ओल्टाइपल्टाई गर्नुपर्छ । त्यसो गर्दा केरा बिग्रिने सम्भावना रहन्छ । त्यसैले तौलेर बेच्ने सहमति भएको हो । ‘अन्य सबै फलफूल तौलेर बिक्री वितरण हुन्छ । केरा मात्र किन गनेर बेच्नु ?’ उनले भने ।

किलोको हिसाबमा खरिद बिक्री गर्दा केरा उत्पादक किसान र उपभोक्ता दुवैलाई फाइदा हुने उनले बताए । ‘यो सिस्टम उपभोक्तासम्ममा विस्तारै जाला,’ उनले भने । कैलालीको टीकापुर क्षेत्रमा अहिले करिब ४ सय १५ बिघा क्षेत्रफलमा केरा खेती गरिन्छ । बर्सेनि करिब २० हजार ७ सय ५० मेट्रिक टन केरा उत्पादन हुने गरेको छ । टीकापुर क्षेत्रमा बर्सेनि केरा उत्पादन गर्ने व्यावसायिक किसान बढिरहेका छन् ।

रानी जमरा कुलरिया सिँचाइ कुलो आयोजनाको सहयोगले टीकापुरमा केरा खेती विस्तार हुँदै गएको छ । केराको उत्पादन र खेती विस्तार हँुदै गएपछि टीकापुरबाट बर्दिया, बाँके र दाङलगायत जिल्लामा बिक्री वितरण हुँदै आएको छ । पूर्वको इलाम चिया बगानले चिनिएझैं पश्चिम कैलालीको टीकापुरले अहिले केरा बगानका रूपमा ख्याति कमाउन थालेको छ । अरू खेतीमा भन्दा केरा खेतीमा किसानको आकर्षण बढेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषितर्फको कार्यालयले जनाएको छ ।

केरा खेती गरेरै यहाँका तीन जना किसानले सर्वाेत्कृष्ट कृषक राष्ट्रपति पुरस्कार पाइसकेका छन् । कालु हमाल, विनोद शाह र रामबहादुर कुँवरले केरा खेतीमै पसिना बगाएर सम्मान पाएका हुन् । उनीहरूका अनुसार केराले पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुर्‍याएको छ । जिल्लाको पूर्वी क्षेत्रमा रहेको टीकापुर पहिले सुन्दर पार्कका लागि प्रसिद्ध मानिन्थ्यो भने अहिले केराले चिनिन थालेको छ ।

टीकापुरका कालु हमालले व्यावसायिक रूपमा केरा खेती गरेर यसबाट बन्ने विभिन्न परिकारको ‘ब्रान्डिङ’ गरेका छन् । यहाँ आउने पर्यटक केराका परिकार स्वादिलो मानेर खान्छन् । कोसेलीका रूपमा लैजान्छन् । टीकापुर पार्क र केराका कारण आन्तरिक पर्यटक बढ्दै गएका छन् ।

प्रकाशित : आश्विन ८, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?