३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

शुक्लाफाँटामा घटे बाघ

भवानी भट्ट

कञ्चनपुर — आहारा प्रजातिका वन्यजन्तु र उपयुक्त बासस्थान भए पनि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या घटेको छ । यसै वर्ष गरिएको राष्ट्रिय गणनामा १६ वयस्क बाघ भेटिएका छन् ।

शुक्लाफाँटामा घटे बाघ

अघिल्लो वर्षको आन्तरिक गणना र अनुगमनमा यहाँ १७ वटा वयस्क बाघ फेला परेका थिए ।

माघ २४ देखि क्यामेरा ट्रयापिङ प्रविधिबाट गणना गरिएको थियो । उक्त गणनाको नतिजा आइतबार सार्वजनिक गरिएको हो । शुक्लामा २०१३ को राष्ट्रिय गणनामा पनि बाघको संख्या १७ थियो । राष्ट्रिय गणना हरेक ४/४ वर्षमा हुन्छ । निकुञ्जले आन्तरिक अनुगमन तथा मूल्यांकनका लागि हरेक वर्ष बाघ गणना गर्दै आएको छ ।

४ वर्षको अवधिमा बाघको संख्या बढ्नुको साटो घटेको छ । ‘पोथीको तुलनामा भालेको संख्या बढी भएकाले बाघको संख्या वृद्धि हुन नसकेको हो,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले भने, ‘भालेभन्दा पोथी बढी हुनुपर्छ, तर यहाँ ठीक उल्टो भएको छ ।’ शुक्लामा ९ भाले र ७ पोथी रहेको अनुमान छ ।

प्रमुख संरक्षण अधिकृत घिमिरेका अनुसार एक भालेका लागि २ देखि ३ पोथी चाहिन्छ । पोथीले बच्चा नहुर्काउँदासम्म भालेसँग सम्पर्क गर्दैन । यस्तो अवस्थामा भाले बाघले बच्चा मारेर भए पनि पोथीसँग सम्पर्क गर्न खोज्छ । ‘यही कारणले यहाँ बाघको संख्या वृद्धि हुन नसकेको हो,’ उनले भने, ‘गत वर्ष २ वटा बच्चा मृत अवस्थामा भेटिएका थिए ।’ उनका अनुसार यस वर्ष पनि २ वटा बच्चा क्यामेरामा देखिएका छन् ।

उनले भालेको संख्या बढी भएकाले आपसमा लड्ने क्रम बढेर फेरि पनि वयस्क बाघ तथा बच्चाहरू मर्ने खतरा रहेको बताए । शुक्लाफाँटा कम क्षेत्रफलमा बढी बाघ पाइने निकुञ्जका रूपमा चिनिन्छ । आहारा प्रजातिको जनावरको उपलब्धता सहज हुनु र चोरीसिकार शून्य भएका कारण बाघका लागि सुरक्षित स्थान भएको संरक्षणकर्मीले बताए । ‘तर भाले र पोथीको अनुपात नमिलेकै कारण यहांँ वृद्धि हुन नसकेको हो,’ राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा कार्यक्रमका प्रमुख सुदीपराज निरौलाले भने, ‘संरक्षणका लागि त सबै मिलेर सक्दो प्रयास गरेकै छौं ।’

गत वर्ष निकुञ्जसँगै मध्यवर्ती क्षेत्र र ब्रह्मदेव–लालझाडी तथा डडेलधुराको जोगबुढा कम्प्लेक्समा बाघ गणना गरिएको थियो । तर निकुञ्जभन्दा बाहिर बाघ नदेखिएको प्रमुख संरक्षण अधिकृत घिमिरेले बताए । ‘लालझाडी संरक्षित क्षेत्रमा एक वयस्क बाघ देखिएको छ, त्यो पनि निकुञ्जकै हो,’ उनले भने ।

शुक्लाफाँटा भारतको लग्गाबग्गा संरक्षित वन क्षेत्रसँग जोडिएको छ । सीमा स्तम्भ २३ देखि २८ सम्म करिब १२ किलोमिटर क्षेत्र उक्त वनसँग जोडिएकाले वन्यजन्तुको ओहोरदोहोर पनि हुने हुँदा क्यामेरामा नपरेको हुन सक्ने घिमिरेले बताए ।

नेपालमा २००९ देखि बाघको राष्ट्रिय गणना सुरु भएको हो । पहिलो गणनामा शुक्लाफाँटामा १० वटा वयस्क बाघ भेटिएका थिए । २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा सम्पन्न बाघ पाइने राष्ट्र प्रमुखहरूको सम्मेलनले २०२२ सम्म बाघको संख्या दोब्बर पुर्‍याउने घोषणा गरेपछि हरेक ४/४ वर्षमा गणना गरिन्छ । यस्तै उच्च पहाडी क्षेत्रमा पनि बाघ पाइने सम्भावना देखिन थालेपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले सर्भे सुरु गरेको छ ।

डोटी, डडेलधुरा, बैतडी र दार्चुलाका विभिन्न ठाउँमा बाघ पाइनेबारे सर्भेको काम सुरु भएको राष्ट्रिय प्रकृति संरक्षण कोषका निरौलाले जानकारी दिए । अन्य देशहरूमा उच्च पहाडी भेगमा पनि बाघ देखिएको कुरा आएपछि यहाँ पनि अध्ययन सुरु भएको उनले बताए । ‘कहिलेकाहीँ पहाडमा पनि बाघ देखिएको कुरा आउँछ,’ उनले भने, ‘यो कुरा कति सत्य हो र कति सम्भावना छ भनेर अध्ययन थालेका छौं ।’

प्रकाशित : आश्विन ८, २०७५ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?