कर्मचारीद्वारा १८ लाख ‘हिनामिना’

बझाङ — जिल्लाको साइपाल गाउँपालिकाका अध्यक्षले रकम हिनामिना गरेको आरोप लगाउँदै कर्मचारीविरुद्ध उजुरी दिएका छन् । अध्यक्ष राजेन्द्र धामीले कर्मचारीले भ्रष्टाचार गरेको भन्दै कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।

कर्मचारीद्वारा १८ लाख ‘हिनामिना’

उनले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशी र लेखापाल गजाधर सार्कीले १८ लाख २१ हजार रुपैयाँ हिनामिना गरेको उजुरीमा उल्लेख गरेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निकासा लिएको खातामा मात्र जम्मा गर्नुपर्ने चेक सोझै साटेर गाउँपालिकाको रकम अपचलन गरिएको अध्यक्ष धामीको दाबी छ ।


अध्यक्ष धामी, वडा नम्बर २ का वडाध्यक्ष हरिलाल बोहरा र १ का वडाध्यक्ष गोपाल बोहराले जिल्ला प्रशासन कार्यालय बझाङमा उजुरी दिएका हुन् । उजुरीमा आर्थिक वर्षमा जोशी र सार्कीले कोलेनिकाबाट गाउँपालिकाको खातामा जम्मा गर्नुपर्ने ६ वटा चेक सोझै साटेको वा आफ्नो र आफन्तको खातामा जम्मा गरी रकम हिनामिना गरेको उल्लेख छ ।


स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) को ६ लाख, बहुक्षेत्रीय पोषण कार्यक्रमको ५ लाख ६२ हजार र अन्य विभिन्न शीर्षकमा विनियोजन भएको ६ लाख ५९ हजार गरी १८ लाख २१ हजार रकम कर्मचारीले हिनामिना गरेको गाउँपालिका अध्यक्ष धामीले बताए ।


उनले कर्मचारीले कोष तथा लेखा नियन्त्रक कार्यालय र राष्ट्रिय वाणिज्य बैंकसँग पनि सेटिङ मिलाएर चेक साटेको हुन सक्ने शंका व्यक्त गरे । ‘सरकारी कार्यालयको एसी चेक कसरी व्यक्तिले साट्यो, यसमै शंका छ,’ धामीले भने, ‘कोलेनिका र बैंकका कर्मचारीहरूको पनि यसमा मिलेमतो छ जस्तो लाग्छ ।’ उनले यो रकम खर्च भएको विषयमा आफूहरूलाई कुनै पनि जानकारी नभएको बताए ।

प्रकाशित : आश्विन ९, २०७५ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?