कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

राम्रा अक्षर कसरी लेख्ने ?

करिब एक साताको प्रशिक्षणपछि बालबालिकाले राम्रो अक्षर लेख्न थाले
गणेश चौधरी

टीकापुर — कर्णाली माध्यमिक विद्यालय टीकापुरका प्रधानाध्यापक धर्मराज शर्मालाई विद्यार्थीको हेन्डराइटिङ देख्दा दिक्क लाग्छ । ‘विद्यार्थीले लेखेका अक्षर उनीहरूलाई पढाउने शिक्षकले नै बुझ्न मुस्किल हुन्छ,’ उनले भने, ‘विद्यार्थीले लेखेकै बुझिएन भने परीक्षाको उत्तरपुस्तिका नै कसरी जाँच्ने ?’

राम्रा अक्षर कसरी लेख्ने ?

शिक्षक मात्रै होइनन्, अभिभावक पनि आफ्ना छोराछोरीका अक्षर राम्रो नहुँदा खुसी हुन सकेका छैनन् । टीकापुर–१ समितिपुरका बालकृष्ण चौधरीले भने, ‘छोरालाई राम्रो अक्षर बना भन्छु, राम्रो बनाउनै सक्दैन ।’ धेरै शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका अधिकारी बालबालिकाका अक्षर देखेर असन्तुष्ट छन् ।


कर्णाली माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष खडक शाहले यो समस्या समाधानको उपाय खोज्दै राम्रो अक्षर लेख्न सिकाउने प्रशिक्षक खोजे । करिब एक साताको प्रशिक्षणपछि बालबालिकाले अक्षर राम्रो लेख्न थालेको उनले सुनाए । ‘प्रशिक्षक साधना जोशीले राम्रो अक्षर लेख्ने तरिकाहरू सिकाइदिइन् । लेखेर देखाइन् । बालबालिकाले पनि सिके । शिक्षकले पनि सिके,’ उनले भने ।


अध्यक्ष शाहले बालबालिकालाई भन्दा यस्तो प्रशिक्षण शिक्षकहरूलाई आवश्यक रहेको औंल्याए । उनले भने, ‘शिक्षकले जस्तो लेखे, साना बालबालिकाले त्यस्तै लेख्न खोज्छन् । शिक्षकले नै राम्रो अक्षर लेख्न सिक्नु जरुरी छ ।’ हेन्डराइटिङ प्रशिक्षक सानु जोशीले भनिन्, ‘जुन मान्छे अल्छी छ, त्यसले राम्रो अक्षर बनाउन सक्दैन । राम्रो अक्षर बनाउन केही तरिका छन् । अभ्यास त्यत्तिकै आवश्यक छ ।’


राम्रा अक्षर बनाउन कति ठूलो या कति सानो, एउटा अक्षरलाई कत्रो ठाउँ दिने, अक्षरबीचको दूरी कति हुने ? लाइनवाला कापीमा माथिको लाइन र तलको लाइनमा अक्षरले छुुन हुने–नहुने ? अक्षर लेख्दा दायाँबायाँ कता ढल्काउने लगायतका कुरामा ध्यान दिन जरुरी रहेको जोशीले बताइन् ।

उनले भनिन्, ‘तपाईंले लेखेका अक्षर राम्रा छन् । तपाईं पक्कै राम्रो हुनुहुन्छ । तपाईंका अक्षर राम्रा छैनन् । तपाईं अल्छी हुुनुहुन्छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । मिहिनेत गरे राम्रो बन्ने हो । मिहिनेत गर्ने मान्छे नै राम्रो हो ।’

प्रकाशित : आश्विन १९, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?