कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

काली तर्न तुइनको त्यान्द्रो

जाली बुन्ने मसिनो ग्याबिन तारबाट तुइन बनाइन्छ । त्यसमा बाँदरले जस्तो उल्टो झुन्डिएर हात सार्दै अगाडि बढ्नुपर्छ ।
मनोज बडू

दार्चुला — व्यास गाउँपालिका ५ नाजीकी जानकी धामी तुइनमार्फत महाकाली वारपार गर्छिन् । तुइन तर्दा उनलाई कति बेला तार चुँडिएर कालीको भेलमा खसिन्छ भन्ने पिरलोले सताइरहन्छ । ‘तुइनबाट नदी पार गरेपछि मात्र बाचेको आभास हुन्छ,’ उनले सकस सुनाइन, ‘घर पुग्दा ठूलो लडाइँ जितेजस्तो लाग्छ ।’

काली तर्न तुइनको त्यान्द्रो

जाली बुन्ने मसिनो ग्याबिन तारबाट तुइन बनाइएको हुन्छ । त्यसमा बाँदरले जस्तो उल्टो झुन्डिएर हात सार्दै अघि बढ्नुपर्छ । वारिपारि काठको खम्बामा तारलाई अड्याएर तुइन सञ्चालन गरिन्छ । यात्रुलाई कति बेला तार चुँडिने हो भन्ने डर सधैं लागिरहन्छ । जस्तोसुकै पीडा भए पनि तुइन तरेर सीमापारिको भारतीय बजार र आफ्नै जिल्ला सदरमुकाम जानुको विकल्प छैन ।


ज्यान जोखिममा राखेर महाकाली तर्नुपर्ने जानकीको मात्र पीडा होइन । यस्तो दैनिकी दार्चुलाको उत्तरी भेगका बासिन्दाको नियति नै बनिसकेको छ । व्यास गाउँपालिकाका बासिन्दालाई नजिक बजार नहुँदा दैनिक उपभोग्य सामान किनमेल गर्न जिल्ला सदरमुकाम वा भारतीय बजार नपुगी सुखै छैन । तर, सदरमुकाम पुग्न भने सहज छैन । तुइन तरेर मात्रै सदरमुकाम पुगिन्छ ।


व्यासका गाउँपालिकाका स्थानीय वर्षौंदेखि तुइनको पीडा खेप्दै आएका छन् । स्वदेशको बाटो एक दिन पूरै लाग्छ, सदरमुकाम पुग्न । तुइनबाट महाकाली तरेर भारतीय भूभाग पुगेपछि त्यहाँबाट गाडी चढे एक दिनमै सजिलै आउजाउ गर्न सकिन्छ । सदरमुकामको काम भ्याएर घर फर्कन सकिने भएकाले व्यास क्षेत्रका बासिन्दा जोखिम मोल्न बाध्य भएका हुन् । ‘सदरमुकाम जाने दिन नजिकिँदै जाँदा अघिल्लो दिनदेखि नै तुइन कसरी होला भनेर मनमा पिरलो लागिरहन्छ,’ जानकीले भनिन्, ‘महिला भएर होला तुइन तर्न निकै समस्या हुन्छ । तुइन नतरे बालबच्चा भोकै रहन्छन् ।’ घरमा पुरुष नहँुदा यहाँका कैयौं महिला आफैं सदरमुकाम आउजाउ गर्छन् ।


व्यास गाउँपालिका ३ का जयदेव धामीका अनुसार थोरै मात्र खेतबारीले ३/४ महिना मात्र घरपरिवारको खाद्यान्न समस्या हल हुन्छ ।


‘उच्च लेकाली क्षेत्र भएकाले यहाँ पर्याप्त उब्जनी हुँदैन,’ उनले भने, ‘अधिकांश बासिन्दा भारतीय बजारबाट खाद्यान्न आपूर्ति गर्छन् । वर्षका ८/९ महिना भारतीय बजारबाट खाद्यान्न किनेर गुजारा चलाउनुपर्ने बाध्यता छ ।’


तुइन नभए साँझ बिहानको छाकसमेत टार्न मुस्किल हुने व्यास गाउँपालिका–५ का हरि धामीले बताए । ‘तुइन तरेर पारि भारत पुग्यो, त्यही दिनभर मजदुरी गर्‍यो । साँझ फर्कंदा दाल चामल पिठो किनेर फर्कन्छौं,’ उनले भने । तुइनको सहायताले सकी नसकी काली वारपार गर्दा डरले शरीर काप्ने गरेको उनले सुनाए । खेतीपातीको समयमा घरको काम गर्ने र बाँकी समय भारतमै ज्यालादारीमा काम गरी परिवार पाल्दै आएको व्यास गाउँपालिका–४ का रामसिंह कुँवरले बताए । गााउँ आसपासमा भरपर्दो स्वास्थ्य संस्थासमेत नभएकाले बिरामी पर्दा तुइन तरेरै भारतीय बजार धार्चुला र जिल्ला अस्पताल खलंगामा उपचारका लागि पुग्ने गरेको स्थानीय बताउँछन ।


महिला गर्भवती भएको बेला सुत्केरी गराउन तुइनमै तराएर जिल्ला अस्पताल वा भारतका विभिन्न सहरहरूमा लैजाने गरिन्छ । नेताहरूले चुनावमा महाकाली नदीमा झोलुंगेपुल निर्माण गर्ने आश्वासन दिन्छन् । तर, वाचा पूरा नगरेको स्थानयिको गुनासो छ ।

प्रकाशित : आश्विन २२, २०७५ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?