चाडबाडमा लुटिन्छन् नेपाली

घर नपुग्दासम्म असुरक्षित
मोहन शाही

डोटी — केआईसिंह गाउँपालिका–१ का काले दमाईले गत साता भारतीय प्रहरीबाट नाकामा लुटिएको दुखेसो गरे  । उनले आफूसँग भएको ७५ हजार भारु र एक तोला सुन भेटेपछि विभिन्न आरोप लगाउँदै १० हजार भारु असुलेको बताए  ।

चाडबाडमा लुटिन्छन् नेपाली

(डोटी) - केआईसिंह गाउँपालिका–१ का काले दमाईले गत साता भारतीय प्रहरीबाट नाकामा लुटिएको दुखेसो गरे । उनले आफूसँग भएको ७५ हजार भारु र एक तोला सुन भेटेपछि विभिन्न आरोप लगाउँदै १० हजार भारु असुलेको बताए । ‘यतिका पैसा र सुन कहाँबाट ल्याइस् भन्दै प्रहरीले ३ घन्टा रोके,’ उनले भने, ‘१० हजार भारु दिएपछि मात्र छाडे, कुटपिट पनि गरे ।’


घर फर्कंदा गत वर्ष शिखर नगरपालिका २ का मानबहादुर बलायर पनि लुटिए । त्यो बेला नगद ८० हजार लुटिएको उनले बताए । बलायरलाई दिल्ली आनन्दबिहार बसपार्कबाट सँगै आएका नेपालीभाषी युवकले लुटेका थिए । ‘म पनि डोटीकै हुँ भनेर सँगै सिटमा टिकट काटेर आए,’ उनले बुधबार दिपायलमा भने, ‘मेरो पैसा कुन बेला लुटेर लग्यो थाहा नै भएन, म बेहोस अवस्थामा बनबासामा उत्रँदा उनीहरू कतै बाटोमै झरिसकेका थिए ।’


आदर्श गाउँपालिका लामीखालका हरिभान लुहार मंगलबार बिहान दिपायल झरे । उनीसँगै दुई छोरा र पत्नी पनि सँगै थिए । दिपायलबाट आदर्श गाउँपालिकाको मौवासम्म अढाई सय रुपैयाँ भाडा निर्धारण गरिएको छ । तर उनले लामीखालसम्म जिप चढेको ९ हजारसम्म भाडा तिर्न बाध्य हुनुपर्‍यो ।


चार जनाको अढाई सयका दरले २ हजारमात्र भाडा तिर्नुपर्ने भए पनि अरू यात्रु नभेटिइएकाले चालकले उनीहरूलाई ९ हजार तिरेमात्र अघि बढ्ने भन्दै बीच बाटोमा मागेजति दिन बाध्य पारिएको उनले गुनासो गरे । ‘बाटोमा जे जस्तो भए पनि आफ्नै जिल्लामा पुगिसक्दा के होला र भनी विश्वास गरियो,’ हरिभानले भने, ‘चार जनाको दुई हजार बढी भाडा लिएरै छोड्यो ।’


चाडपर्वका बेला घर फर्कने नेपाली कामदारहरूको सोझोपनको फाइदा उठाएर लुट्ने क्रम अझै जारी छ । लुटिनुका साथै कुटपिटमा परेको गुनासो पोख्नेहरू बर्सेनि भेटिन्छन् । उनीहरू घर नपुग्दा सम्म लुट्ने क्रम विभिन्न रूपमा भइरहेको हुन्छ । घर आउनका लागि भारतदेखि नै सुरु हुने लुटिने क्रम घरमा नपुग्दासम्म अन्त नहुने अधिकांशको गुनासो छ । खाना र गाडीभाडामा समेत चर्को मूल्य असुलेर थुप्रै ठाउँमा लुटिएको भए पनि कतै पनि उजुरी गर्ने परिपाटी छैन ।


सुदूरपश्चिमका मुख्य दुई नाका गौरीफन्टा र महेन्द्रनगरको गड्डाचौकी नाकाबाट हजारौं नेपाली दसैं तिहारका बेला घर आउँछन् । ती सिमानासँग रहेका ठूला सहर महेन्द्रनगर र धनगढीमै पनि विभिन्न बहानामा लुट्ने गरिएको छ । बनबासा नाकाबाट आउने नेपाली पहाडी क्षेत्र जान महेन्द्रनगरस्थित बसपार्क आउनुपर्छ ।


त्यसका लागि बनबासाबाटै टाँगा, अटोरिक्सा तथा रिक्सामा आउनुपर्छ । त्यहाँ नेपालीले न्यूनतम ४० देखि डेढ सय रुपैयाँ भारुसम्म तिर्नुपर्छ । त्यो रुपैयाँमा उनीहरू महाकाली पुल पारिसम्म मात्र पुर्‍याउँछन् । ‘सोझा तथा सर्वसाधारणलाई झोला बढी छ, चेकजाँच कडा छ भन्ने बहाना देखाएर चर्को भाडा असुल्छन्,’ २७ वर्ष भारतको लुधियानामा काम गर्दै आएका ध्वजबहादुर बोगटीले भने, ‘पुलपारिबाट महेन्द्रनगरसम्म अटोरिक्सा तथा बसहरूमा आउनुपर्छ, त्यहाँ न्यूनतम १५ देखि ६० रुपैयाँसम्म लिन्छन् ।’ महेन्द्रनगरमा होटलमा खाना तथा कोठाको चर्काे पैसा तिर्नुपर्ने बोगटीले बताए ।


गौरीफन्टा नाकामा उत्रने नेपाली अटोरिक्सा तथा बसमा धनगढीसम्म आउने गर्छन् । भारतका विभिन्न सहरबाट गौरीफन्टामा उत्रने नेपालीहरूलाई आफ्नो बस अथवा अटोरिक्सामा बसाउन तँछाडमछाड हुन्छ । त्यहाँ १५ देखि तीन सय रुपैयाँसम्म उनीहरू असुल्ने गर्छन् ।


ठाउँ ठाउँमा लुटिने गरेको भए पनि यस्ता उजुरीहरू प्रहरीकहाँ भने पुग्दैनन् । नेपालीहरू लुटिएको संख्या सरकारी तथ्यांक पनि छैन । यद्यपि सुरक्षित आप्रवासन तथा मानव बेचबिखन रोकथामका क्षेत्रमा काम गर्दै आएको निड्स नेपाल नामक गैरसरकारी संस्थाले गरेको अध्ययन अनुसार ३ वर्षको अवधिमा ९३ जना लुटिएका छन् ।


निड्स नेपालका कार्यक्रम प्रबन्धक प्रकाश मडैका अनुसार सन् २०१६ मा ४९, ०१७ मा २९ र ०१८ मा १५ जना लुटिएका छन् । ‘अनुसन्धानका क्रममा अधिकांश नेपालीभाषीबाटै बेहोस बनाएर लुटिएको पाइएको छ,’ मडैले भने, ‘अस्तिमात्रै दैलेखका दुई जना कृष्ण बुढामगर र दानबहादुर बुढामगर भारतबाट आउने क्रममा बाटोमै बेहोस बनाएर लुटिएका छन् ।’ अनुसन्धानबाट लुटिएका स्थानहरूको पहिचान, लुट्ने तरिका, लुट्ने गिरोहको व्यवहार र लुटिने कारण औंल्याइएको छ ।


अधिकांश भारतमै लुटिन्छन्
सबैभन्दा बढी लुटिने भारतका दस स्थान छन् । निड्स नेपालले पीडितहरूमाथि गरेको अनुसन्धानमा भारत तथा नेपालका विभिन्न स्थानहरूको पहिचान गरिएको छ । नेपाली सीमा बजार महेन्द्रनगर, भारतीय सीमा बजार बनबासामा लुटिने बढी छन् । भारतका विभिन्न सहर दिल्लीको आनन्दबिहार, रुद्रपुर, बरेली, अलमोडा, हरिद्वार, हल्द्वानी, सिमला, ब्रह्मदेवका जंगलमा आफूहरू लुटिएको पीडितहरूले बताए ।


काम गर्ने ठाउँबाटै लुटेराको गिरोहले पिछा गरी अनुकूल स्थान र समय हेरेर लुट्ने गरेको छ । ‘गिरोहको चाल सबैले थाहा पाउन सक्दैनन्’, निड्स नेपालका कार्यक्रम प्रबन्धक मडैले भने, ‘उनीहरूको बोली भाषा ठ्याक्कै नेपाली जस्तो हुन्छ, नेपाली भनेपछि धेरैले शंका गर्दैनन्, त्यसैको फाइदा लिएर उनीहरूले साथमा बोकेको पैसा लुटेको थाहै हुन्न ।’ अधिकांश घटनामा नेपालीलाई बेहोस पार्ने औषधी ख्वाएर लुटिएको छ । ७० प्रतिशत नेपालीलाई बेहोस पारेर लुटिएको मडैले बताए ।


बाटोमा मात्रै होइन । भारतीय भन्सारमा खटिएका प्रहरीबाट पनि लुटिनेको संख्या अधिक छ । भन्सारमा खटिने प्रहरी, नेपाली भाषी लुटेरा र सीमाबजार महेन्द्रनगरबाट बनबासासम्म ओहोरदोहोर गराउने टाँगाचालकको सञ्जालले गर्दा पीडित नेपालीले उजुरी गर्दा पनि न्याय पाउन सकेका छैनन् । बनबासाबाट महाकाली नदीको पुलसम्म आउने बाटो बीचमा पर्ने जंगलमा धाकधम्की तथा कुटपिट गरेर लुटिने गरिएको छ ।


प्रहरीमा पर्दैन उजुरी
लुटिने कारण भने अशिक्षा, यात्रामा चाँडै अपरिचितलाई विश्वास गर्ने, मदिरा पिउने प्रमुख रहेका छन् । ‘बाटोखर्च मात्र साथमा बोकेर बाँकी पैसा बैंकमार्फत पठायो भने लुटिनु नै पर्दैन नि’, डोटी बहुमुखी क्याम्पसका प्राध्यापक टीका फुलाराले भने, ‘अनावश्यक सामग्रीहरू पनि बोक्नु भएन, यतै पाउने सामान उताबाट नल्याएमा भन्सारमा पनि झन्झट हुन्न ।’ लुटिएका नेपालीले अहिलेसम्म न्यायका लागि उजुरी नगरेको डीएसपी उद्धवदेव भट्टले बताए ।

प्रकाशित : आश्विन २६, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?