टिकट पाउनै सकस

मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको बसपार्कबाट बाहिरिने र भित्रिने यात्रुले दसैंका बेला जहिल्यै चाडपर्वका बखत बसको टिकट पाउन सकस हुने गरेको बताएका छन्  । उनीहरूले बसका कण्डक्टरको व्यवहार र बाटोमा खाना खाने ठाउँप्रति गुनासो व्यक्त गरेका छन्  ।

टिकट पाउनै सकस

संघीय राजधानी काठमाडौंको बसबाट धनगढी बसपार्कमा उत्रेका बैतडी खोडपेका गोपाल सिंह बिष्टले ‘जहिले पनि दसैंका बेला यात्रा गर्न निकै सास्ती हुने बताए । उनले टिकट पाउनसमेत मुस्किल हुने बताए । ‘केही दिनको प्रयासपछि मात्रै धनगढीका लागि टिकट पाइयो’ उनले भने, ‘यहाँबाट फेरि पहाड बैतडीको टिकट पाउनै गाहे भएको छ ।’ उनले टिकट बिहीबार नपाए होटलको खर्च बढ्ने बताए । सरकारले यात्रुको समस्या र खाना खाने ठाउँका होटलको अनुगमन गर्नुपर्ने बताए ।


राजधानी लगायत नेपालको पूर्वबाट घर फर्कने सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाले धनगढीबाट अर्काे बसको टिकट लिनुपर्ने हुन्छ । ‘उता राजधानीमा १० दिनअघि टिकट बुकिङ गरे पनि यहाँ गरिएको हँुदैन’ एकजना विद्यार्थीले भने, ‘अलपत्र परिने डर भयो ।’


यतिखेर धनगढीको बसपार्कमा भारतबाट घर फर्कनेहरूको भीडभाड पनि उत्तिकै छ । धनगढीको बसपार्कबाट सुदूर र कर्णाली प्रदेशका पहाडी जिल्लामा दैनिक सयभन्दा बढी बस चल्ने गर्छन् । डोटी बाघछाडाका नरुवा तिरुवाले भारतको काम गर्ने ठाउँदेखि घर नपुग्दासम्म बाटोभरि ठगिने, लुटिने देखि टिकट नपाएर बसपार्कमै अलपत्र पर्ने समस्या २० वर्षदेखि भोग्दै आएको बताए ।


‘म २० बर्ष देखि भारतको महाराष्ट्रमा काम गर्छु’ उनले भने, ‘जहिले पनि मेरो बस र रेलको कम्तीमा ४ दिनको यात्रा हुन्छ । यो यात्रामा कहिले म लुटिएको छु । बसपार्कमा बन्द लगायतले अलपत्र परेको छु ।’


उनी सँगैका लालबहादुर बिकले दलालहरूबाट बसको टिकट र सिट किन्नुपरेको बताए । ‘इन्डियामा रेलको सिट किन्नुपर्छ’ उनले भने, ‘५० रुपैयाँ बढी तिरेर सिट किन्यौ ।’ उनले एक रात बस्नुभन्दा दलालबाट टिकट लिएर चाँडो गन्तव्यमा पुग्न राम्रो भने । उनले बसपार्कको बुकिङ केन्द्रबाट ३ दिनपछिको टिकट बल्ल पाउन लागेको बताए । यात्रुहरूले यतिबेला बस तथा हवाईजहाजको टिकट पाउन निकै ठूलो पहुँचको खोजी गरिरहनुपरेको बताए । ‘बसपार्कका होटल व्यवसायीहरूले समेत बसका कैयौं सिटहरू बुकिङ गरिराखेका छन्’ उनले भने, ‘आफ्नो होटलमा खाना खाने र रात्रि बास बस्नेलाई टिकट दिने गरेका छन् ।’ उनले बसपार्कमा हुने टिकटको दलाली रोकेर यात्रुहरूलाई सहज ढंगले आफ्नो गन्तव्यतर्फ जाने व्यवस्था मिलाउन सरकार र प्रहरी प्रशासनले सहयोग गर्नुपर्ने बताए ।


सुदूरपश्चिम बस व्यवसायी समितिका अध्यक्ष पदम सापकोटाले यात्रुहरूको सजिलोका लागि अग्रिम बुकिङ खोलेको बताए । अहिले सबै रुटमा अतिरिक्त बसहरू सञ्चालन गरेको बताए । पहाडी रुटमा पहिलेको तुलनामा झन्डै दोब्बर गाडी चलेको अध्यक्ष सापकोटाले बताए ।


क्षेत्रीय ट्राफिक प्रहरीले पनि दसैंैको बेला यात्रा सुरक्षित पार्ने काम गरिरहेको बताएको छ । क्षेत्रीय ट्राफिक प्रहरीका इन्चार्ज प्रहरी उपरीक्षक केदार रजौरेले यात्रामा सवारी साधन रात्रिकालीन र दिवा चेकजाँच प्रदेशको १२ ठाउँमा यात्रु सहायता कक्ष, र रिफ्रेस सेन्टर, लामो रुटका सवारी साधनमा २ जना चालक अनिवार्य, चालक र सह चालकलाई प्रशिक्षण र बसका यात्रुलाई सुरक्षित यात्रा गर्दा अपनाउनुपर्ने सावधानीका पर्चा/पम्पलेट दिने काम गरिरहेको छ । उनले टिकटमा भइरहेको दलालीमा पनि ट्राफिक प्रहरीको ध्यान गएको बताए ।

प्रकाशित : आश्विन २७, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?