कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अनुदानका लागि सिफारिसको सकस

कान्तिपुर संवाददाता

टीकापुर — रानी जमरा र कुलरिया कुलो सिँचाइ आयोजनाको कृषितर्फको कार्यालयले आयोजनाको कमाण्ड क्षेत्रका किसानलाई विभिन्न प्रकारको अनुदान दिने गरेको छ  । तर अनुदान पाउने नपाउने ठेगान नभए पनि अनुदानका लागि सिफारिस पत्र बनाउन किसानले सकस झेल्नुपरेको छ  ।

अनुदानका लागि सिफारिसको सकस

उनीहरूलाई सिफारिसपत्र बनाउन दौडधुप गर्नुपर्ने समस्या त छँदैछ सिफारिस दस्तुर बुझाउनुपर्ने पनि चिन्ता छ ।


कृषि अनुदानका लागि आवेदन गर्न किसानले स्थानीय तह र जल उपभोक्ता समितिको कार्यालयको सिफारिस पेस गर्नुपर्छ । थोरै रकमका लागि निकै झन्झट व्यहोर्नुपरेको उनीहरूको गुनासो छ ।


‘अनुदान रकमका लागि २ ठाउँबाट सिफारिस लिनुपर्ने बाध्यता छ तर अनुदान पाइन्छ नै भन्ने ग्यारेन्टी छैन’ जानकी गाउँपालिका–६ का भोजबहादुर चौधरीले भने, ‘स्थानीय तह र जल उपभोक्ता समितिमा सिफारिसबापत रकम पनि तिर्नुपरेको छ । अनुदान नपाए सिफारिस रकम स्वाहा हुन्छ ।’ उनले २/४ कट्ठामा तरकारी खेतीका लागि अनुदान माग्दा बीउ किन्ने रकम त सिफारिसमै खर्च हुने गरेको बताए ।


टीकापुर नगरपालिकाको वडा कार्यालयले १ सय ६० रुपैयाँ र जल उपभोक्ता समितिले व्यक्तिगत किसानका लागि ३५ रुपैयाँ र किसानको समूहका लागि १ सय ५ रुपैयाँ रकम अनुदान माग्दा सिफारिस गरेबापत किसानबाट लिने गरेको छ । यसअघि यस्तै अनुदान रकम माग गर्दा सिँचाइ कार्यालय अन्तर्गतको कृषिको पहिलो चरणको कार्यक्रममा सिफारिसको कुनै समस्या नभएको किसानहरू बताउँछन् । पहिलो चरणमा प्रचारात्मक र कृषक जागरण कार्यक्रम मात्र सञ्चालित थियो ।


दोस्रो चरण अन्तर्गत सिँचाइ आयोजनाको कमाण्ड क्षेत्रमा कृषि उत्पादन र बजारीकरणका लागि आवश्यक प्राविधिक सेवा र सामान्य पूर्वाधारहरू सहयोग गरिने जनाइएको छ । यसका लागि किसानले अनुदान पाउन स्थानीय तह र जल उपभोक्ता समितिको सिफरिस लिएर रानी जमरा कुरिया सिँचाइ आयोजनाको कृषितर्फको कार्यालयमा आवेदन दिनुपर्ने प्रावधान राखिएको छ ।


दोस्रो चरणमा मागमा आधारित कार्यक्रम संचालन गरिएको कृषि कार्यालयका प्रमुख सुनिल सिंहले बताए । उनले भने, ‘केही कार्यक्रममा लागत सहभागिता ५०:५० र केहीमा ७५:२५ को पनि हुनेछ ।’ ‘सिफारिसको प्रावधान त्यति नराम्रो होइन तर किसानबाट सिफारिसको रकम नलिएको भए राम्रो हुन्थ्यो’ सिंहले भने ।


उनका अनुसार यो कार्यालयबाट कृषि उत्पादनका लागि अनुदान पाउन रानी कुलो सिँचाइ अन्तर्गतका १९ जना, जमरा कुलो सिँचाइ अन्तर्गतका १ सय ४ जना र कुलरिया कुलो सिँचाइ अन्तर्गतका ९० जना किसानले आवेदन दिएका छन् ।


उनले भने, ‘पोस्ट हार्वेस्ट केन्द्र स्थापना, कृषि यान्त्रीकरण उपकरण, नर्सरी ग्रिन हाउस, सेड हाउस स्थापना सहयोग, प्रविधि अवलम्बन सहयोग लगायतका कार्यक्रम दोस्रो चरणमा छन् ।’ उनका अनुसार उद्यमी, कृषक, कृषक समूह, कृषि सहकारीहरू, बजारीकरणका लागि पहिचान जोगाउन लागिपरेका क्लबहरूलाई दोस्रो चरणमा सहयोग गरिने कार्यक्रम छ ।


दोस्रो चरणको कृषि सहयोग कार्यक्रमको अवधि ५ वर्षको रहेको छ । रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सहयोगले व्यावसायिक खेतीपातीका लागि किसानमा आएको जागरुकता र कृषि प्राविधिकहरूको सहयोग र अनुदानले कृषि उत्पादन बढ्ने आशा गरिएको स्थानीय किसानहरू बताउँछन् ।

प्रकाशित : आश्विन २७, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?