३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

समयमै काम भएन म्याद पनि थपिएन

सुदूरपश्चिमका विमानस्थल
मोहन शाही

काठमाडौँ — डेढ दशकदेखि हवाई उडान बन्द भएको दिपायल विमानस्थलको कालोपत्रे निर्माण अलपत्र परेको छ  । निर्माण कम्पनीले तोकिएको समयसीमाभित्र काम नसक्दा म्याद थपिएको छैन  ।

समयमै काम भएन म्याद पनि थपिएन

बैतडीको पाटन विमानस्थलको पनि दिपायलको जस्तै अवस्था छ । निर्माण कम्पनीले समयमै काम नसक्दा म्याद थपिएको छैन ।

दिपायल विमानस्थलको काम शेर्पा ग्याल्भा कम्पनीले पाएको छ भने बैतडीमा कैलाश कन्स्ट्रक्सनले पेटीमा ठेक्का किनेर काम गरिरहेको छ । दुवै विमानस्थलको काम तीन महिनादेखि अलपत्र छ । गत असार महिनासम्म ६/६ महिनाको गरी दुई पटक म्याद थपे पनि काम सम्पन्न नभएपछि अहिले म्याद नथपिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर नलविक्रम थापाले जानकारी दिए । दिपायल विमानस्थल ५ करोड र बैतडीको पाटन विमानस्थलको कालोपत्रे गर्न ११ करोड बजेट
छुट्याइएको थियो । विमानस्थलको रनवे कालोपत्रेको कामै सुरु नभएको हो ।

निर्माण कम्पनीले अहिलेसम्म जमिन सम्याउने तथा पटान गर्ने काम मात्र सकेको छ । स्थानीय क्षेत्रमा ढुंगा तथा गिट्टी नपाएपछि कम्पनीले निर्माण कार्यस्थलमै अस्थायी क्रेसर स्थापना गरेर गिट्टी उत्पादन गर्ने काम गरिरहेको छ । दिपायल विमानस्थलमा रनवेको चारैतिर नाली बनाउने काम भने सम्पन्न गरिसकेको छ । ‘काम अझै बाँकी छ,’ विमानस्थल निर्माण कार्य हेरिरहेका इन्जिनियर बालकृष्ण रेग्मीले भने, ‘म्याद भने सकिसकेको छ ।’

उनले काम नगरी ढिलासुस्ती भइरहेकाले म्याद नथपेको बताए । ‘काम सुरु भएपछि मात्र म्याद थप्छौं, म्याद मात्र माग्ने । काम नगर्ने भनेपछि हुन्न,’ रेग्मीले भने । ती दुई विमानस्थलसँगै बजेट विनियोजन भएको अछामको साँफे एयरपोर्टको काम भने सम्पन्न भइसकेको छ । काम सम्पन्न गरी परीक्षण उडानसमेत भइसकेको स्थानीय गणेश तिरुवाले बताए ।

द्वन्द्वकालमा पहाडी जिल्लाहरूमध्ये सबैभन्दा बढी दिपायल विमानस्थल सञ्चालनमा आएको थियो । द्वन्द्वकालपछि भने उडानकार्य ठप्प छ । गौचरनमा परिणत भएको विमानस्थल सञ्चालन गर्न विभिन्न राजनीतिक दल, नेता तथा बहालवाला मन्त्रीहरूले आश्वासन दिए पनि कसैले बाचा पूरा गरेका छैनन् ।

०६८ सालमा विमानस्थल सञ्चालनका लागि डोटी उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरी तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र विष्टलाई ज्ञापनपत्रसमेत बुझाएको थियो । विष्ट एक वर्षपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालसहितका नेताहरूलाई तारा एयरलाइन्सको टवीनअटर विमान ल्याएर फर्किएका थिए ।

डोटीमा पत्रकार सम्मेलन गरी अर्को साताबाट विमान सञ्चालन हुने तालिकासमेत सार्वजनिक गरेका थिए । तर उनी चढेर आएपछि विमान फर्केर नआएको डोटी उद्योग वाणिज्य संघका महासचिव दीपक खडकाले बताए । उनले बहालवाला मन्त्रीदेखि सांसदहरूले चार्टर गरेर प्लेन ल्याएर स्थानीयको मन जित्न गरिएको प्रयास क्षणिक भएको बताए । ०३८ सालमा डोटीको दिपायलमा विमानस्थल निर्माण भएको थियो । प्रयोगमा नआउँदा अहिले विमानस्थलमा रहेको कार्यालय भवनसमेत जीर्ण छ । कर्मचारीहरूको पनि नियमित उपस्थिति छैन ।

प्रकाशित : आश्विन २८, २०७५ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?