छाउगोठ त्याग्दै महिला

कालीकोटका सात बस्ती छाउगोठमुक्त
तुलाराम पाण्डे

काठमाडौँ — १४ वर्षको उमेरमा पहिलो पटक छाउ (महिनावारी) भएपछि गोठमा बस्न सुरु गरेकी पलाता ९, थिर्पु चुलाकोटकी ३५ वर्षीया रुगु विश्वकर्मा फागुनदेखि छाउगोठ छाडेर घर बस्न थालिन्  । गोठमा बस्दा सधैं सर्पले टोक्छ कि भन्ने डरमा छाउ बस्न बाध्य उनले घरमा बस्न पाएपछि ढुक्कले सुत्न पाएकी छन्  ।

छाउगोठ त्याग्दै महिला

‘छुई पालो (महिनावारीको समय) आएपछि सुत्नकै डर हुन्थ्यो,’ चार छोरा र तीन छोरीकी आमाले भनिन्, ‘घरमा सुत्दा देउता रिसाउँछन् भन्ने गलत रै’ छ ।’ उनलाई महिनावारीमा घर बस्दा पनि कुनै असर पर्दैन भन्ने थाहा थिएन । पहिले सबै गोठमा बस्ने गरेकाले आफू पनि महिनावारी भएदेखि गोठमा बसेको उनको भनाइ छ । उनले छुई हुन थालेको २० वर्षपछि घरमै बस्न थालेको बताइन् । पलाता गाउँपालिकाको अगुवाइमा दिगो खानेपानी तथा स्वच्छता कार्यक्रम सुरु भएपछि सुरक्षित महिनावारीबारे थाहा पाएको उनको भनाइ छ । ‘यो त बार्ने कुरा रहेनछ,’ उनी भन्छिन्, ‘बरु सरसफाइमा ध्यान दिनुपर्ने रहेछ ।’ गोठ छाडेर घर बस्दा देउता रिसाउँछन्, घरपरिवार र आफंै बिरामी परिन्छ भन्ने सबै वाहियात भएको उनी बताउँछिन् ।

फागुनमा गाउँमा भेला भएका महिलाले स्वास्थ्य र सरसफाइका लागि गोठमा नबस्ने सामूहिक निर्णय गरेका थिए । अहिले गाउँका सबै महिला घरकै कोठामा बस्न थालेका छन् । स्थानीय सम्फु विकले पनि छाउगोठ छाडेको धेरै भएको छैन । ‘पहिले बुढा (पति) पनि घरमै बस्छु भन्दा कराउँथे,’ २७ वर्षीया सम्फुले भनिन्, ‘घरमा बस्दा पनि केही नभएपछि पाँच महिनादेखि गोठ बस्न छाडें ।’ पाँच वर्षअघि छाउ बसेका बेला गोठमै सर्प आएपछि आगोको धूवाँ हालेर भगाएको उनले सुनाइन् । घरमा बसेदेखि पहिलेको चिसोले हातखुट्टा पोल्ने, टाउको दुख्ने समस्या हटेको उनको भनाइ छ । चुलाकोटका महिलाले महिनावारी भएपछि तीन दिन, पाँच दिन र सात दिन पुगेपछि नुुहाउने गरेको जनाए । उनीहरू अहिले घरपरिवारसँगै बसेर एउटै भान्सामा खाना खान्छन् । देउता पनि कसैलाई नलागेको उनीहरूको भनाइ छ ।
पलाता गाउँपालिकाले समाजमा भएका सबैखाले अन्धविश्वास, विकृति र विसंगति अन्त्य गर्ने घोषणासहित पलाता ९ मा दिगो खानेपानी तथा सरसफाइ अभियान सुरु गरेको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले पलाताका वडा नं. १ देखि ६ सम्मका महिला महिनावारीको बेला घरमा बस्ने गरेको बताए । धौलागोह र खिनका महिलाले महिनावारीलाई स्वाभाविक प्रक्रियाका रूपमा लिन थालेको उनको भनाइ छ ।

छाउपडीविरुद्ध अभियान
तीन नगर र ६ गाउँपालिका भएको कालिकोटको बरातुलाई पाँच वर्षअघि छाउगोठमुक्त घोषणा गरिएको थियो । त्यसलगत्तै छाउपडी प्रथाविरुद्धको अभियान चलेको हो । खाडाचक्र ११, स्थित बरातु, जिम्जेडी वडा नं. ५ को राताडाव, पिली तलसेरा, पाखा, नानीकोटको कोटिला, फोइमहादेवलाई छाउगोठमुक्त गराइएको छ ।
त्यस्तै पाखाको दशाला र सेरावाडालाई छाउगोठमुक्त बस्ती घोषणा गरिएको छ । खाडाचक्र ५, छाउमुक्त गराइएपछि किशोरी र महिलाले महिनावारीको बेला गोठमा नबस्ने प्रतिबद्धता गरेका छन् । स्थानीय धामीझाँक्री नमराज शाहीले छाउ हुनु कुनै पाप नभएर स्वाभाविक चक्र भएको बताए । उनले आफ्नो घरमा कसैले पनि छाउ नबार्ने दाबी गरे ।

यसअघि जिल्लाभर ७५ प्रतिशत महिला महिनावारी भएका बेला छाउगोठमा बस्ने गरेको खाडाचक्र नगरपालिका उपप्रमुख विजया विष्टले बताइन् । हालै गरिएको एक अध्ययनले महिनावारी भएका बेला घरमा बस्दा देवता लाग्ने, परिवार बिरामी पर्ने अन्धविश्वासले महिलाहरू पाँच दिनसम्म छाउगोठमा बस्ने गरेको कुसंस्कारयुक्त चलन रहेको देखाएको छ । अध्ययनअनुसार ग्रामीण भेकमा बस्ने मासिका, स्वास्थ्य स्वयंसेविका र शिक्षिकासमेत छाउगोठमा बस्न जाने गरेका छन् । ‘महिनावारी स्वाभाविक प्रक्रिया हो भनेर थाहा नपाएका निरक्षर महिला गोठमा बस्नु त नौलो कुरा होइन,’ उपप्रमुख विष्टले भनिन्, ‘महिनावारी प्रक्रियाबारे थाहा पाएका स्वास्थ्यकर्मी र शिक्षिका पनि छाउगोठमा बस्ने गरेको देखियो ।’ उनले महिनावारीलाई सबैले स्वाभाविक शारीरिक प्रक्रियाका रूपमा लिन जिल्लाव्यापी अभियान थालिनुपर्ने बताइन् । उनका अनुसार यो चलन बाह्मण, क्षेत्रीमा बढी छ । जिल्लामा पहिलो पटक महिनावारी हुँदा किशोरीले आमाबुवालाई मुख देखाउनु हुँदैन भन्ने अन्धविश्वासले महिनावारीको पाँच दिनसम्म घरबाहिर लुकेर बस्ने चलन छ । ‘महिनावारी भएका बेला दूध, दही, घिउ खान नदिने, घरमा बस्न नदिने चलन छ,’ उनले भनिन्, ‘देवताको थान (मन्दिर) भएका घरमा अझ कडाइ हुन्छ ।’ उनले गाउँका ९५ प्रतिशत महिला महिनावारी हुँदा अलग्गै बस्ने गरेको सुनाइन् । सदरमुकाम मान्म बजारमा पनि महिनावारी बार्ने गरिएको उनको भनाइ छ । महिनावारी भएको बेला आरामको आवश्यकता भए पनि महिलालाई पोषिलो खाना नदिएर काममा लगाउने चलनले स्वास्थ्य अवस्था कमजोर भएको आधार परियोजना अधिकृत मोहनराज सुवेदीले बताए । उनले चेतनाका लागि गाउँगाउँमा छाउपडी कुप्रथा अन्त्य गर्न अभियान थालिएको जनाए ।

महिनावारी भएका बेला गोठ र छाना (छाप्रो) मा बस्दा महिलाहरू असुरक्षित हुने गरेको महिला अधिकारकर्मी दमिला शाहीले बताइन् । ‘ग्रामीण बस्तीमा महिनावारी भएका बेला महिला बलात्कारको सिकार हुने गरेका छन्,’ उनले भनिन्, ‘सुत्ने ठाउँ सुरक्षित नहुँदा समस्या हुने गरेको छ ।’ पाँच वर्षअघि एसएलसी दिन गएकी गेलाकी पाखाकी एक छात्रा महिनावारी बार्न गोठमा बस्दा बलात्कारमा परेकी थिइन् । २० प्रतिशत महिला महिनावारी भएका बेला बलात्कारमा पर्ने गरेको तथ्यांक छ । दुई वर्षको अवधिमा जिल्ला प्रहरीमा आएका जबरजस्ती करणीसम्बन्धी सातमध्ये चार मुद्दामा छाउ बसेका महिला पीडित बनेको तथ्यांक छ ।

प्रकाशित : आश्विन २८, २०७५ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?