१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

औलो जाँच्न सीमामा ‘हेल्थ डेस्क’

भारतबाट नेपाल भित्रिनेको स्वास्थ्य परीक्षण गरी औलो रोगको जोखिम घटाउन हेल्थ डेस्क सञ्चालन
कान्तिपुर संवाददाता

टीकापुर/दार्चुला — दार्चुलाको महाकाली नगरपालिकामा एक जना औलो संक्रमित भेटिएपछि रोग परीक्षण र परामर्शका लागि सीमामा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ  । साताअघि महाकाली–३ की १५ वर्षीया बालिकामा औलोको संक्रमण भेटिएको थियो  ।

औलो जाँच्न सीमामा ‘हेल्थ डेस्क’

त्यसपछि महाकाली नगरपालिका–४ स्थित नेपाल–भारत जोड्ने झोलुंगे पुल नजिक घाटबजारमा हेल्थ डेस्क राखिएको हो ।


सदरमुकाम खलंगासँगै जोडिएको मालबेलाकी १५ वर्षीया दीपा भट्टमा औलोको संक्रमण भेटिएको थियो । ती बालिकालाई ज्वरो आएपछि उपचारका लागि जिल्ला अस्पताल दार्चुलामा जाँच गर्दा औलो रोगको संक्रमण भेट्टिएको जिल्ला अस्पतालले जनाएको छ । जिल्लामा औलोको औषधी नभएको र अहिले धनगढीबाट मगाएर बालिकाको उपचार भइरहेको जनस्वास्थ्य अधिकृत नरेन्द्रराज जोशीले जानकारी दिए ।


महाकाली नगरपालिकाको स्वास्थ्य शाखाले रोजगारीको सिलसिलामा भारत तथा अन्य मुलुक गएका र भारत भएर नेपाल आउने नेपालीहरूमा औलो रोगको परीक्षण तथा परामर्श सेवा उपलब्ध गराउन हेल्थ डेस्क स्थापना गरिएको जनाएको छ ।


खासगरी रोजगारीमा भारतका विभिन्न सहर गएर घर फर्किने नेपालीलाई लक्षित गरी हेल्थ डेस्क स्थापना गरिएको महाकाली नगरपालिका स्वास्थ्य शाखाकी उपसंयोजक लालजिरा भट्टले जानकारी दिइन् । जिल्ला सदरमुकाम खलंगामा रहेको नेपाल भारत जोड्ने झोलुंगे पुलछेउमा औलो रोग परीक्षण तथा परामर्शका लागि डेस्क स्थापना गरिएको हो । भारतबाट नेपाल भित्रिंदै गरेका मानिसहरूको रगत परीक्षण गरिएकोमा उनीहरूमा औलो रोगको संक्रमण नभेटिएको उनले बताइन् । भारतका विभिन्न क्षेत्रमा दैनिक ज्यालादारी गर्न आएका मानिसहरू यो नाकाबाट स्वदेश फिर्ता हुन्छन् । ‘हेल्थ डेस्कमा दुई जना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन,’ उपसंयोजक भट्टले भनिन्, ‘अहिलेसम्म रगत परीक्षण गरेका कुनै पनि व्यक्तिमा औलो रोगको संक्रमण भेटिएको छैन । यो रोगको संक्रमण भेटिए तुरुन्त औषधी उपचार गर्ने तथा आवश्यक परामर्श दिइरहेका छौं ।’


टीकापुर नाकामा पनि डेस्क
कैलालीको टीकापुर नजिक नेपाल–भारत सीमा नाकामा पनि हेल्थ डेस्क सञ्चालन गरिएको छ । भारतबाट नेपाल भित्रिने नेपालीको स्वास्थ्य परीक्षण गरी औलो रोगको जोखिम घटाउन हेल्थ डेस्क सञ्चालन गरिएको हो । भारतको बरेलीमा औलो रोगबाट ४६ जनाको मृत्यु भएको समाचार सञ्चार माध्यममा आएपछि कैलालीका ३ वटा सीमा नाकामा हेल्थ डेस्क राखेर औलोको परीक्षण गरी औषधोपचार गर्ने काम भइरहेको टीकापुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बलबहादुर रावलले बताए । उनले भने, ‘नेपालमा पनि संक्रमणको खतरा नहोस् भनेर सीमामा चेकजाँच थालिएको हो ।’


भारतबाट आउने व्यक्तिलाई निगरानी गर्दै ज्वरो आएको नआएको सोधपुछ गर्ने र ज्वरो आएको व्यक्तिको चेकजाँच गर्ने रावलले बताए । उनका अनुसार संक्रमित व्यक्ति फेला परे ७ दिनको औषधी दिने र बाँकी ७ दिनको औषधोपचार बिरामीको ठेगानासहितको विवरणको आधारमा सेवा दिने गरिन्छ ।


सीमा नाकाको हेल्प डेस्कमा औलो रोग जाँचका लागि सूचनापाटी मार्फत सबैलाई सूचित गरी प्रहरीको सहयोगमा औलो रोग परीक्षण भइरहेको उनले बताए । उनले टीकापुरको खक्रौलाको नाका भएर आउनेमध्ये ज्वरो आउने ५५ जनाको औलो रोग परीक्षण गरिए पनि हालसम्म कसैमा उक्त रोगको जीवाणु फेला नपरेको रावलले बताए । सुदूरपश्चिम प्रदेशको मूल नाकाको रूपमा रहेको धनगढी उपमहानगरपालिकाको गौरीफन्टा नाका, भजनी नगरपालिकाको गुलरिया घाट र टीकापुर नगरपालिकाको खक्रौला नाकामा हेल्थ डेस्क सञ्चालन गरिएको छ । यो सेवा तिहारसम्म सञ्चालन गरिने छ ।

प्रकाशित : आश्विन ३०, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?