कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चौकीदारी छोडेर फर्निचर व्यवसाय

मोहन बुढाऐर

धनगढी — कैलारी गाउँपालिका–५ का जितबहादुर चौधरी धनगढीमा बेतबासको फर्निचर व्यवसाय गर्छन्  । आफैंले बनाएका बेत र बाँसका कलात्मक फर्निचर र सामानको बिक्रीबाट उनको पारिवारिक जीवन खुसी र सुखी छ  ।

चौकीदारी छोडेर फर्निचर व्यवसाय

(धनगढी) - कैलारी गाउँपालिका–५ का जितबहादुर चौधरी धनगढीमा बेतबासको फर्निचर व्यवसाय गर्छन् । आफैंले बनाएका बेत र बाँसका कलात्मक फर्निचर र सामानको बिक्रीबाट उनको पारिवारिक जीवन खुसी र सुखी छ । पाँच वर्ष अघिसम्म यस्तो थिएन । चौधरी भारतका विभिन्न सहरमा काम खोज्न भौतारिन्थे । कमाइबाट घर खर्च धान्नै मुस्किल थियो । ‘भारत नपसेर धरै थिएन । अरू रोजगारीको विकल्प केही थिएन,’ उनले भने, ‘मेरो एकल कमाइले घरमा श्रीमती जहिले तनावमा पर्थिन् ।’


अहिले चौधरीको व्यवसाय फस्टाइरहेको छ । उनले भारत पस्नुपरेको छैन । कुनै आर्थिक अभाव झेल्नुपरेको छैन । ‘केटाकेटीलाई राम्रै स्कुलमा पढाउन पाएका छौं । चाडपर्वमा मिठोमसिनो खान पाएका छौं,’ उनले भने । फर्निचर व्यवसायमा चौधरीले गाउँकै दुई/चार जनालाई रोजगारीसमेत दिएका छन् ।


श्रीमान्को कमाइले घरखर्च चल्न नसक्ने अवस्था आएपछि पत्नी सोचमानीले नै अग्रसरता देखाइन् । उनले केही उद्यम गर्ने जमर्को गरिन् । अहिले पत्नी सोचमानीले सुरु गरेको व्यवसायले चौधरीले भारत जानुपरेको छैन । यही व्यवसायले चौधरी दम्पतीको जीवनमा कायापलट भएको छ । सुखपूर्वक दैनिकी बिताइरहेका छन् ।


सोचमानीले २०६८ सालमा बेतबाँसको काम गर्न सुरु गरेकी थिइन् । चौधरी पत्नीको व्यवसायमा २०७० बाट संलग्न भए । सोचमानीले आफूले थालेको बेतबाँसका सामग्री बनाउने काममा सफलता हात लाग्दै जाँदा भारतमा काम गरिरहेका श्रीमानलाई घर बोलाएकी हुन् । ‘घर फर्केका पतिलाई आफूसंँगै काम लगाएँ,’ उनी उत्साहित देखिइन्, ‘अहिले पतिकैं भरमा बेतबाँस फर्निचर व्यवसाय चलिरहेको छ ।’


चौधरी स्वयम् बेतबाँसबाट सबै प्रकारका फर्निचर र अन्य सजावटमा सामान बनाउन सक्छन् । उनले पत्नी सोचमानीबाटै यस्तो कला सिकेका हुन् । ‘पत्नीले चलाएको व्यवसाय राम्रो लागेर साथ दिन सुरु गरे,’ चौधरीले भने । सोचमानीको अधिकांश समय भने आफ्नो व्यवसायमा भन्दा अरूलाई सीप सिकाउनेमै बित्न थालेको छ । घरेलु विकास लगायत विभिन्न संस्थाहरूले बेतबाँसको तालिममा प्रशिक्षकका रूपमा उनलाई बोलाउने गरेका छन् । यसबाट उनी महिनामा कम्तीमा ३० हजार कमाउँछिन् ।


केही वर्षअघि उनको गाउँ हसुलियामा लघु उद्यम विकास कार्यालयले बेतबाँसका सामग्री बनाउने तालिम सञ्चालन गरेको थियो । गाउँका अन्य १५ जना महिलासँगै सोचमानी पनि तालिममा सहभागी भइन् । पन्ध्र दिने नि:शुल्क तालिममा उनले बेतबाँसका कलात्मक फर्निचर र सामान बनाउने सीप सिकिन् ।


सोचमानीले यो व्यवसायमा लाग्नुअघि बजार र कच्चा पदार्थको बारेमा बुझेको बताइन । ‘सुरुमा सीप सिकाउने संस्था लघु विकासको कार्यालयमा गएर लगानी, बजार र मेहेनतका बारेमा बुझ्े,’ उनले भनिन्, ‘त्यसपछि घरमै फुर्सदको समय मिलाएर बेतका सामग्री बनाउन सुरु गरेँ ।’ गाउँघरबाट बेत संकलन गरी बनाएका सामग्री आफ्नै घरबाट बेच्न सुरु गरेको बताइन् ।


२०६८ मंसिरमा धनगढीमा भएको महोत्सवमा आफूले पहिलो पटक स्टल राखेको उनले बताइन् । ‘महोत्सवमा बेतबाँसका सामग्री राम्रो बिक्री भयो,’ उनले भनिन्, ‘त्यसपछि धनगढीमा एउटा बेतबास फर्निचर तथा सामग्रीको पसलै थाप्न मन लाग्यो ।’ उनले सुरुवाती अवस्थामा सीप सिकाउने लघु उद्यम विकास कार्यालयले समेत प्राविधिक र बजारमा सहयोग पुर्‍याएको बताइन् ।


उनले धनगढीमा आफ्ना श्रीमान्लाई भारतबाट बोलाएपछि २०७० बाट बेतबाँसको फर्निचर पसल खोलेकी थिइन् । उनका अनुसार माग बढेको बेला गाउँका १०/१२ जनाले काम पाउने गरेका छन् ।

प्रकाशित : आश्विन ३०, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?