२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

वृद्धभत्ताले टुहुरालाई छात्रवृत्ति

डीआर पन्त

डडेलधुरा — धन कमाएर सामाजिक सेवामा खर्च गर्नेको ठूलो संख्या हुन सक्ला तर आफैं गरिब त्यसमा पनि दुर्गम गाउँमा बस्ने एक वृद्धले भने आफूले पाएको वृद्धभत्ताको रकम जम्मा गरेर विद्यालय उमेरका टुहुरा बालबालिका पढाउन अक्षय कोषको स्थापना गरेर उदाहरणीय काम गरेका छन्  ।

वृद्धभत्ताले टुहुरालाई छात्रवृत्ति

डडेलधुरा अजयमेरु गाउंँपालिका ५ सिम गाउंँका ८५ वर्षीय वृद्ध डम्बरराज पनेरूले आफूले मासिक –पमा पाउने बृद्धभत्ताको रकम जम्मा गरेर स्थानीय अजयमेरु निम्न माध्यमिक विद्यालयमा ५० हजारको अक्षयकोष स्थापना गरेका छन् । वृद्ध पनेरूले २५ महिनाको वृद्धभत्ता जम्मा गरेर उक्त विद्यालयमा पढ्ने विद्यालय उमेरका टुहुरा बालबालिकालाई सहयोग गर्न अक्षयकोष स्थापना गरेका हुन् । ‘२५ महिनाको वृद्धभत्ता जम्मा गरेर अक्षयकोष स्थापना गरेको हुँ,’ ८५ वर्षीय वृद्धले भने, ‘आफूले सामान्य लेखपढ गर्न जाने पनि बुवाआमा गुमाएका बालबालिकाले सानो भए पनि सहयोग पाऊन् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको हुँ ।’

गाउंँघरमा आर्थिक अभावका कारण आजभोलि पनि धेरैजसो विद्यालय उमेरका बालबालिका विद्यालयबाहिर रहने गरेको पनेरूले बताए । उनले भने, ‘२/४ जना भए पनि टुहुरा बालबालिकाले पढ्न पाए भने आफूले गरेको सहयोगको सदुपयोग भएको सम्झनेछु ।’

पनेरूले अबको २५ महिनासम्म पाएको वृद्धभत्ता पनि यसरी नै अनाथ र टुहुरा बालबालिकालाई पढाउन सहयोग पुग्ने गरी अक्षयकोषमा वृद्धि गर्दै जाने बताए । ‘हरेक वर्ष अक्षयकोषको रकम बढाउँंदै जान्छु,’ वृद्ध पनेरूले भने, ‘आफूले कमाएर केही गर्न नसकिए पनि सरकारले वृद्धको जीविकोपार्जनका लागि दिएको रकमले भए पनि टुहुरालाई केही सहयोग गर्न पाएकोमा खुसी लागेको छ ।’

अक्षयकोष स्थापनाका लागि कानुनी प्रावधान अनुसार विधान आदि नबन्दासम्म पनेरूले सहयोग गरेको ५० हजार रकम विद्यालयको खातामा जम्मा गरिएको प्रधानाध्यापक गणेशदत्त भट्टले जानकारी दिए । उनले भने, ‘अक्षयकोषको विधान दर्ता भएपछि मात्र उक्त रकम अक्षयकोषको खातामा जम्मा गरी आउने ब्याजबाट बर्सेनि ४ जना टुहुरा र अनाथ बालबालिकालाई छात्रवृत्ति प्रदान गरिनेछ ।’ ८५ वर्षीय वृद्ध पनेरूले सुरुवात गरेको अक्षयकोषमा विद्यालयका शिक्षक र कर्मचारीले पनि केही रकम थप गर्ने जनाएका छन् । प्रधानाध्यापक भट्टले भने, ‘केही रकम विद्यालयले पनि थप गर्ने भएको छ भने शिक्षक र कर्मचारीले गर्ने सहयोग पनि अक्षयकोषमा नै थप गरी थप गरिब, अनाथ विद्यार्थीलाई
पढ्नका लागि छात्रवृत्ति प्रदान गरिनेछ ।’

वृद्धभत्ताको रकम जम्मा गरेर अक्षय कोष स्थापना गर्ने पनेरूको सराहनीय काम देखेर गाउँंका अन्य समाजसेवी वृद्धवृद्धाले पनि सहयोग गर्न मन चाहिने रहेछ भन्दै आफूहरूले पनि केही गर्ने बताएका छन । अजयमेरुका स्थानीय सामाजिक अगुवा रामचन्द्र ऐरले भने, ‘समाज यसरी प्रेरणादायी काम गर्ने व्यक्तिका कारण अरूलाई पनि केही गर्न प्रेरणा मिलेको छ ।’

आफ्नो समयमा विद्यालय नभएको, विद्यालय नहुंँदा धेरैले पढ्न नपाएको सम्झना गर्दै समाजसेवी पनेरूले भने, ‘अहिले विद्यालय छन्, पढ्ने अवसर धेरै छन् तर पनि गरिब र टुुहुरा धेरै बालबालिकाले अझै पनि आर्थिक अभावमा पढ्न नपाएको देख्दा चित्त दुखेर यसरी अक्षयकोष स्थापना गरेको हुंँ ।’

स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार तीन/ तीनवटा सरकार भए पनि ग्रामीण भेगका दलित, असहाय र टुहुरा बालबालिकाको शिक्षाको सुनिश्चितता अझै हुन नसकेको पनि उनले बताए । हुन पनि ग्रामीण क्षेत्रमा टुहुरा, अनाथ र असहाय बालबालिका कति छन् भन्ने तथ्यांक कसैसँग पनि छैन ।

डडेलधुरा जिल्लामा मात्र यस्ता बिद्यालय उमेरका टुुहुरा बालबालिकाको संख्या २ सय बढी रहेको अनुमान गरिएको छ । जिल्लामा बालबालिकाका क्षेत्रमा दर्जन बढी गैससले काम गरिरहेको भए पनि टुहुरा अनाथ बालबालिकाका विषयमा कसैले खोज अनुसन्धान गरेको देखिँदैन ।

प्रकाशित : कार्तिक ६, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?