२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

स्वास्थ्य चौकी भवन अलपत्र

मेनुका ढुंगाना

अछाम — अछामको कमलबजार नगरपालिका ३ बयालामा निर्माणाधीन स्वास्थ्य चौकी भवनको काम ३ वर्ष सम्म पनि अधुरै रहेको छ  । नयाँ भवन नबन्दा स्वास्थ्यकर्मी र बिरामीलाई समस्या भएको छ  ।

स्वास्थ्य चौकी भवन अलपत्र

उक्त भवनको ०७२ चैतमा सम्झौता भई ०७३ असारमा काम सम्पन्न गर्ने सम्झौता भएको थियो ।

‘४ महिनामा काम सक्ने सम्झौता भएको हो । तर अहिले सम्म काम पूरा हुन सकेको छैन,’ अहिले प्रयोगमा आएको स्वास्थ्य चौकी भवन धेरै पुरानो हो । २ वटा कोठा छन् । त्यो पनि चुहिन्छ’ स्वास्थ्य चौकी इन्चार्ज प्रेम विष्टले भने, ‘म बयालामा आएको ४ वर्ष भयो, ४ पटक नै स्वाथ्य चौकीको छानो उडाइ सक्यो । फागुन/ चैत लागेपछि आफ्नो ज्यान जोगाउनै गाह्रो पर्छ ।’

उनका अनुसार ४ कोठाको स्वास्थ्य चौकीको भवन निर्माणका लागि २३ लाखको इस्टमेट तयार भएको थियो । तर भवन निर्माण सम्पन्न नहुँदासम्म नै ४० लाख खर्च भइसकेको छ ।

पूर्व सांसद जानकी रावलको सांसद विकास कोषबाट ३ लाख, आव ०७४/०७५ मा कमलबजार नगरपालिकाले छुट्याएको २० लाख तथा वल्र्ड भिजनको सहकार्यमा वाक नेपाल नामक गैरसरकारी संस्थाले भवन निर्माणका लागि दिएको १० लाख बराबरको सामग्री भवन निर्माणको नाममा खर्च भइसकेको छ । तर भवन निर्माणको काम अझै आधा मात्र भएको छ । गैरसरकारी संस्थाले सहयोग गरेको ६० बोरा सिमेन्ट समयमै प्रयोग नगर्दा काम नलाग्ने भएर फ्याँकिएको छ ।

गैरसरकारी संस्थाले केही सहयोग गर्ने प्रतिबद्धता जनाएपछि कमलबजार नगरपालिकाले तत्काल ५ लाख छुट्याएको र उपभोक्ता समितिको लापरबाहीले सो रकम फ्रिज गएको स्थानीयले बताए । ‘जोखिम मोलेर घरमा सुत्केरी हुनुपर्ने बाध्यता र सामान्य उपचारको लागि पनि मंगलसैन जानुपर्ने समस्या छ,’ स्थानीय यशोदा खत्रीले भनिन्, ‘श्रमदान भए पनि गर्छौं भनेर स्थानीयले स्वास्थ्य चौकीको काम सुरु भयो ।

भवन निर्माणको लागि पैसा समेत आउन थालेपछि उपभोक्ता समितिले काममा होइन पैसामा हेर्‍यो ।’ उनका अनुसार स्वास्थ्य चौकी भवन निर्माणका लागि मजदुरी गरेका स्थानीयले पारिश्रमिक समेत पाएका छैनन् । उपभोक्ता समितिको लापरबाहीले समयमै स्वास्थ्य चौकी निर्माण हुन नसकेको स्थानीयको भनाइ छ ।

स्वास्थ्य चौकीको भवन नहुँदा सबैभन्दा धेरै ज्येष्ठ नागरिक, बालबालिका र गर्भवती महिलालाई समस्या भएको स्थानीय चन्द्रा विकले बताइन् । ‘गाउँका समस्या उपभोक्ता समितिले बुझेनन् । पटकपटक काम गर्न आग्रह गर्दा पनि वास्ता नै गरेका छैनन् ।’

बयालामा मात्र नभई जिल्लाको चौरपाटीमा ९ वर्षदेखि निर्माण सुरु भएको स्वास्थ्य भवन, मष्टाबण्डाली, तुर्माखाद, धमाली, रहफ, पुल्लेतोला, बैजनाथ, कालागाउँका स्वास्थ्य चौकी भवनसमेत अलपत्र अवस्थामा रहेको जनस्वास्थ्य निरीक्षक झनक ढुंगानाले बताए । ‘बयाला बाहेक अन्य ठाउँका स्वास्थ्य चौकी भवन सहरी डिभिजन कार्यालय डोटीले हेर्नुपर्ने हो । तर काम ढिलो गर्ने ठेकेदारलाई कसैले कारबाही गर्न नसक्दा भवन अलपत्र छन् ।’

प्रकाशित : कार्तिक ७, २०७५ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?