कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भ्यु टावर निर्माण गरिने

मनोज बडू

दार्चुला — समुद्र सतहदेखि १५ सय मिटरको उचाइबाट देश–विदेशका हिमशृंखला अवलोकनका लागि दार्चुलाको महाकाली नगरपालिकाले भ्यु टावर निर्माण गर्ने भएको छ । नगरपालिकाको अग्लो स्थानमा पर्ने क्षेत्र छापरीबाट जिल्लाका अधिकांश बस्ती तथा हिमाल र भारतीय क्षेत्रको ठूलो भूभागको अवलोकन गर्न सकिने भ्यु टावर निर्माण हुन लागेको हो  ।

भ्यु टावर निर्माण गरिने

उत्कृष्ट मौसम, भूगोल, तथा विभिन्न सम्पदाहरू भएको छापरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न चालु आर्थिक वर्षमा भ्यु टावर निर्माणका लागि नगरपालिकाले विस्तृत आयोजना प्रतिवेदन बनाउँदै छ ।

छापरीबाट दार्चुला र भारततर्फको धारचुलाको मुख्य बजार, अपिहिमाल तथा स्वदेश र विदेशका विभिन्न हिमशृंखला तथा नेपाल–भारतका दर्जनौं बस्तीहरू अवलोकन गर्न सकिने गरी भ्यु टावर निर्माण गर्न लागेको महाकाली नगरपालिकाका नगरप्रमुख हंसराज भट्टले बताए । नगरपालिकाले भ्यु टावर निर्माणका लागि चालु आवमै ४५ लाख र नगरपालिकाभित्रका अन्य पर्यटकीय क्षेत्रहरूको विकासका लागि १ करोड ४० लाख बजेट विनियोजन गरेको छ ।

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन भ्यु टावर निर्माण गरिन लागेको हो । ‘छापरी भ्यु टावर निर्माणका लागि डीपीआर तयार हुन लागेको छ । भ्यु टावर निर्माणको कार्य चाँडै सुरु गरिन्छ,’ नगरप्रमुख भट्टले भने, ‘भ्यु टावरसँगै पर्यटकलाई आकर्षण गर्ने अन्य भौतिक पूर्वाधार बनाउने योजना रहेको छ ।’

पर्यटकहरूको सहज आवागमनका लागि खलंगादेखि छापरीसम्म पदमार्ग निर्माण, यातायात विस्तार र आवश्यक भौतिक पूर्वाधार निर्माणको थालनी गरिने उनको भनाइ छ ।

नगर क्षेत्रभित्र रहेका पर्यटकीय स्थलहरूको विकास गरी आर्थिक रूपमा समृद्ध नगरपालिका बनाउने लक्ष्यका साथ भ्यु टावर निर्माणको कार्य अगाडि बढेको नगरप्रमुख भट्टले बताए । भ्यु टावरसँगै पर्यटकलाई लक्षित गर्दै सुविधा सम्पन्न रेस्टुरेन्ट, पार्क लगायत पर्यटकहरूलाई आकर्षण गर्ने संरचनाहरू निर्माण गरिनेछन् ।

छापरीबाट महाकाली नगरपालिकाको बजार क्षेत्र, डुंगरी तीर्थस्थल, गल्फै, किम्तडी, धाप तथा भारतको धारचुला, बलुवाकोट लगायतका दर्जनौं बस्तीहरू अहिले पनि अवलोकन गर्न सकिन्छ । भ्यु टावरसम्म पुग्नका लागि गत आर्थिक वर्षदेखि श्रीबगड, मलेरा हुँदै छापरी जोड्ने सडक निर्माणाधीन अवस्थामा रहेको छ ।

यस्तै यो क्षेत्रका नेपाली तथा भारतीय नागरिकको आस्थाको धरोहर डुंगरी तीर्थस्थलको समेत विकास गरिने भएको छ । डुंगरी तीर्थस्थललाई विकास गरी आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने उद्देश्यले डुङरी पर्यटन पूर्वाधार निर्माण गरिने नगरप्रमुख भट्टको भनाइ छ ।

डुंगरी तीर्थस्थलमा हरेक हप्ताको सनिबार र मंगलबार भारतीय तथा नेपाली नागरिकको घुइँचो लाग्ने गर्छ । डुंगरी तीर्थस्थलमा पूजा गरे भागेको कुरा मिल्ने जनविश्वासका कारण नेपाल–भारतका स्थानीयको मुख्य तीर्थस्थलका रूपमा रहेको छ ।

जिल्ला सदरमुकाम खलंगाबाट तीन किलोमिटरको दूरीमा रहेको डुंगरी मन्दिरमा पूर्णरूपमा छुवाछूतमुक्त तीर्थस्थलको रूपमा विकास गरिने नगरपालिकाले जनाएको छ । डुंगरी तीर्थस्थललाई पर्यटकीय दृष्टिकोणले विकास गर्न नगरपालिकाले चालु आर्थिक वर्षबाट ४५ लाख बजेट विनियोजन गरेको छ ।

यस तीर्थस्थलबाट नगरको आर्थिक समृद्धिका साथै स्थानीयको रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको नगर प्रमुख भट्टले जानकारी दिए । पर्यटकीय स्थलहरूको विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटकहरू भित्रिने हुँदा रोजगारीका अवसरहरू सिर्जना हुने उनको विश्वास छ । नगरपालिका क्षेत्रभित्र रहेका अन्य पर्यटकीय क्षेत्रको विकासका लागि थप ५० लाख रुपैयाँ विनियोजन गरिएको महाकाली नगरपालिकाले जनाएको छ ।

प्रकाशित : कार्तिक ७, २०७५ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?