कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आकस्मिक कोषले गर्भवतीलाई राहत

मोहन शाही

डोटी — स्वास्थ्य चौकीहरूमा स्थापना गरिएको आकस्मिक प्रसूति तथा नवजात शिशु सहायता कोषले विपन्न परिवारका गर्भवती महिलालाई ठूलो राहत दिइरहेको छ । कोषमा राखिएको रकम सानो भए पनि विपत्मा राहत पाएर लाभान्वित भएका छन्  ।

आकस्मिक कोषले गर्भवतीलाई राहत

गत फागुनमा गैरा सामुदायिक स्वास्थ्य इकाईमा जोरायल गाउँपालिका १ घण्टेश्वरकी वसन्ती महता सुत्केरी भइन् । सामान्य सुत्केरी भएर फर्किएकी महता घरमा बेहोस हुन पुगिन् । तर उनलाई तत्काल थप उपचारका लागि उप–क्षेत्रीय अस्पताल डडेलधुरा जानका लागि आर्थिक जोहो गर्न धेरै समय खर्च गर्नु परेन ।

उनले घण्टेश्वर स्वास्थ्य चौकीबाट आकस्मिक प्रसूति तथा नवजात शिशु सहायता कोषबाट ४ हजार सापटी लिइन् । यसैगरी चैतमा सुत्केरी हुन आएकी इन्द्रा डाँगीले पनि घण्टेश्वर स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि बाहिर जानका लागि सोही कोषबाट सापटी लिइन् ।

‘म बेहोस अवस्थामा थिएँ, अस्पतालमा लैजान आफन्तलाई पैसा नभएर समस्या भएको रहेछ,’ इन्द्राले भनिन्, ‘स्वास्थ्य संस्थामा राहत कोष स्थापना भएका कारण त्यहाँबाट ऋण सापटी लिन सहज भयो ।’ केही समस्या पर्‍यो भने कोषमा हाम्रो रकम छ भनेर सबै गर्भवती महिलालाई आशा र भरोसा हुने डाँगीले बताइन् ।

गर्भवती महिला तथा शिशुलाई समस्या भएपछि सापटी दिन सकिने उक्त रकम दुई महिनासम्म बिनाब्याज स्वास्थ्य संस्थाले उपलब्ध गराउने गरेको घण्टेश्वर स्वास्थ्य चौकीमा कार्यरत एनएनएम निर्मला पन्तले बताइन् । लगिएको ऋण रकम चाँडो चुक्ता होस् भनेर दुई महिनापछि ब्याज लगाउने गरिएको पन्तले जानकारी दिइन् ।

जिल्लाका ५ स्वास्थ्य चौकीमा कोष स्थापना गरिएको छ । युएमएन डोटी क्लस्टरको आर्थिक सहयोगमा समान पहुँच विकास केन्द्र सिड नेपाल मार्फत सञ्चालन भएको मातृशिशु तथा बाल स्वास्थ्य परियोजनाअन्तर्गत स्वास्थ्य संस्थामा कोष स्थापना गरिएको हो । कोषमा ७५ हजार देखि २ लाख रुपैयाँसम्म जम्मा गरिएको कार्यक्रम संयोजक डिल बहादुर सिंहले जानकारी दिए ।

जिल्लाको शिखर नगरपालिकाको तिजाली, वनलेक र जोरायल गाउँपालिकाको लक्ष्मीनगर, घण्टेश्वर र स्वरस्वतीनगर स्वास्थ्य चौकीमा ७५ हजारदेखि २ लाखसम्मका आकस्मिक प्रसूति तथा नवजात शिशु सहायता कोष स्थापना गरिएको छ । ‘सामान्य आर्थिक अभावका कारणले आमा तथा नवजात शिशुको स्वास्थ्यमा असर नहोस् भन्ने उद्देश्यका साथ कोषको स्थापना गरिएको कार्यक्रम संयोजक विकले बताए ।

कोष स्थापनाले स्वास्थ्य संस्थामा प्रसूति हुन आउनेको संख्यामा समेत वृद्धि भएको छ । घण्टेश्वर स्वास्थ्य संस्थामा २ सय ९० जना गत वर्ष सुत्केरी भएका थिए । स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने मध्य ३० प्रतिशतले कोषको रकम उपयोग गरेका छन् ।

पछिल्लो समय स्थानीय तहहरूले गर्भवती महिलाहरूलाई लक्षित गरी विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । स्वास्थ्य संस्थामा उपचारका लागि ल्याउन गर्भवती महिलाहरूलाई न्यानो लुगा वितरण, आयोडिनयुक्त नुन, नगद उपहार जस्ता कार्यक्रम जिल्लामा स्थानीय तहहरूले सञ्चालन गरेका छन् । यद्यपि अझै २० प्रतिशत गर्भवती महिलाहरू स्वास्थ्य संस्थामा आउन नसकेको जिल्ला स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : कार्तिक ९, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?