२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मानसखण्ड धार्मिक महोत्सव सुरु

मनोज बडू

दार्चुला — जिल्ला सदरमुकामस्थित महेन्द्र नमुना माध्यमिक विद्यालयको विकासका लागि ‘मानसखण्ड दार्चुला धार्मिक महोत्सव २०७५’ सुरु भएको छ । महायज्ञ महेन्द्र नमुना माध्यमिक खलंगा र सु–संस्कार समाज नेपालको संयुक्त आयोजनामा सञ्चालन गर्न लागिएको उक्त महोत्सवको बिहीबार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको हो  ।

मानसखण्ड धार्मिक महोत्सव सुरु

‘प्राविधिक धारतर्फको सिभिल इन्जिनियरङको पढाइ सञ्चालनका लागि आर्थिक सहयोग जुटाउन महायज्ञ सञ्चालन गर्ने हुन लागेको हो,’मूल आयोजक समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्कीले भने,‘सीटीईभीटीबाट हालै प्राविधिक शिक्षा सञ्चालनका लागि सम्बन्धन प्राप्त गरेको विद्यालय सञ्चालनका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले मानसखण्ड दार्चुला श्रीमद्भागतवत् महायज्ञ सञ्चालन गर्न लागिएको हो ।’

धार्मिक सहिष्णुता र ज्ञानको प्रचारका साथै मानसखण्डको बारेमा वर्तमान पिँढीलाई जानकारी गराउनु महोत्सवको आयोजना गरिएको संयोजक कार्कीको भनाइ छ । राष्ट्र शान्ति, पितृमोक्ष, सहस्र शालिग्राम पूजा अर्चना, संगीतका साथ हुन लागेको श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञको सुरुवात कलशयात्राबाट भएको हो । कलशयात्राले बिहीबार खलंगा बजारसँगै सीमावर्ती धारचुला बजारको पनि परिक्रमा गरेको थियो ।

महोत्सवमा ६ सय शान्ति कलश बिक्री भइसकेको आयोजकले जनाएको छ । महोत्सवमा राखिने कलशलाई हजारौं मन्त्रहरूद्वारा पूजन हुने तथा उक्त कलशहरूलाई घरमा लगेर राख्दा पाप नष्ट भई पुण्य प्राप्ति हुने महोत्सव मूल आयोजक समितिले जनाएको छ ।

महोत्सवमा योग शिविर, धार्मिक प्रवचन, नैतिक शिक्षा लगायत विभिन्न कार्यक्रम सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले बताए । महोत्सवको उद्घाटन प्रदेश सांसदद्वय गेल्बुसिंह बोहरा, मानबहादुर धामी, अन्तर्राष्ट्रिय भागवत प्रवक्ता एवं महोत्सवका प्रमुख वाचक पुज्य किशोरशरण महाराज, महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्ट लगायतले गरेका थिए ।

प्रकाशित : कार्तिक ९, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?