१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

अस्पतालमा बिचौलियाको बिगबिगी

मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिम प्रदेशको एक मात्रै ठूलो र सुविधायुक्त सरकारी सेती अञ्चल अस्पताल भित्र बिरामी बिचौलियाको फन्दामा पर्ने गरेका छन् । सस्तो र राम्रो उपचार सेवा लिन अस्पताल भर्ना हुन आउने बिरामी बिचौलियाको फन्दामा परेर नजिकका निजी अस्पतालमा ठगिने गरेको गुनासो सेवाग्राहीको छ  ।

अस्पतालमा बिचौलियाको बिगबिगी

गत भदौमा डडेल्धुरा जोगबुढा–६ तातोपानी घर भएका पुस्कर नाथले अस्पताल भित्रका बिचौलियाको कारण आफू एक निजी अस्पतालमा ठगिनुपरेको पीडा सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई निवेदनै दिएर घर फर्केका थिए ।

उनले आफ्नो निवेदनमा सेती अस्पतालमा एनआईसीयू हँुदाहुँदै मेरी नवजात छोरीलाई नजिकको एक निजी अस्पतालमा किन रिफर गर्‍यो ? नवजात छोरीलाइ रिफर गर्नु थियो भने पनि सेती अस्पतालभन्दा ठूलो र राम्रो अस्पतालमा किन गरिएन ?’ पत्रमा उल्लेख गरेका छन् । नाथले निवेदनमा रिफर गरिएको निजी अस्पतालले छोरीको उपचार शुल्कको नाममा आफूलाई ठगेको र छोरीलाई बचाउन पनि नसकेको आरोप लगाएका छन् ।

‘एउटा दुर्गम टाढाको गाउँबाट श्रीमतीलाई धनगढी ल्याउने मेरो आर्थिक हैसियत थिएन,’ नाथले निवेदनमा भनेका छन्, ‘तर पनि श्रीमती र उनको गर्भमा रहेको शिशुको ज्यान जोगिएला भन्ने आशा बोकेर प्रदेशकै ठूलो र सुविधा सम्पन्न सेती अञ्चल अस्पतालमा ऋण सापटी लिएर ल्याएको थिएँ । यहाँबाट आखाँभरि आँसु र मुटुभरि पीडा बोकेर म घर फर्कनुपर्‍यो ।’

डडेल्धुराको अति विकट दुर्गम कुनाको बस्ती तातोपानीमा अझै पनि गर्भवती अवस्थामा महिलाले अस्पतालको सेवा पाउन सकेका छैनन् । महिलाहरू गाउँघरमै सुत्केरी हुन्छन् । यो परिवेशका नाथले अस्पतालभित्रका चिकित्सक र कर्मचारीको फन्दामा परेर आफ्नी २४ वर्षीया श्रीमती राधा र नवजात शिशुको मृत्यु भएपछि टाउकोमा बाँध्ने कफन किन्ने पैसासमेत नभएको पीडासहित घर फर्कनुपरेको निवेदनमा उल्लेख गरेका छन् ।

उक्त घटनाका सम्बन्धमा सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले पीडितले दिएको निवेदन माथि छानबिन गर्दा यथार्थ फरक भएको बताए । उनका अनुसार भदौ १६ गते भर्ना भएकी नाथकी श्रीमती राधिकाको ‘डेलिभरी केस’ लाई नेपालगन्ज वा अन्य कुनै ठूलो अस्पताल लगी सुरुमै रेफर गरेको बताए ।

‘नाथले आर्थिक अवस्थाका कारण अन्त कतै लैजान नसक्ने जिद्धी गरेपछि उनकी श्रीमतीलाई भर्ना गरिएको हो,’ डा. पन्तले भने, ‘अप्रेसनपछि श्रीमतीको स्वास्थ्य अवस्था बिग्रियो र नवजात शिशु पनि स्वस्थ जन्मेन ।’ उनले अस्पतालभित्र बच्चालाई कृत्रिम श्वासप्रश्वास दिने भेन्टिलेटर नभएकाले रिफर गरेको बताए । दुर्भाग्य यता सेतीमा पनि उनकी श्रीमतीलाई बचाउन नसकिएको डा. पन्तले बताए ।

सुदूरपश्चिम प्रदेशको रिफर सेन्टर सेती अञ्चल अस्पतालमा बिरामीले भोग्नुपरेको पीडा यो एउटा प्रतिनिधि घटना मात्रै हो । स्रोतका अनुसार सेती अञ्चल अस्पतालको पर्चा काटेर बिरामीलाई बेड भर्ना गर्ने बेला निजी अस्पतालमा पुर्‍याइरहेका दृश्य दिनहुँ देख्न पाइन्छ । दिल्लीका बसपार्कको जस्तो यात्रुलाई अस्पतालको गेटबाटै तानिरहेका हुन्छन् । अस्पतालभित्रकै स्टाप नर्स, कर्मचारी र ओजीटी गर्न आउनेहरू पनि निजी अस्पताल, क्लिनिक र मेडिकल पसलका दलाल छन् ।

मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेयले अस्पतालभित्र जानिने र थाहा पाउने गरी कसैबाट बिचौलियाको काम नभएको दाबी गरे । ‘आउनुहोस्, अनुगमन गर्नुहोस् । कतै गल्ती वा कमजोरी छ भने सच्याउने छौं र बिचौलिया फेला परे ‘वन द स्पट’ कारबाही गर्ने छौं’ डा. पाण्डेयले भने, ‘यहाँका चिकित्सकहरूले आफ्नो ड्युटीको समय बाहेक साँझ बिहान अन्यन्त्र क्लिनिक र अस्पतालमा काम गर्न पाउँछन् । त्यसलाई रोक्न सकिंदैन ।’

लामो समय सेती अस्पतालमा विशेषज्ञ सेवा दिएका डा. गणेशबहादुर सिंहले अस्पतालभित्रको प्रशासनिक तथा प्राविधिक व्यवस्थापनमा देखिएको कमीकमजोरीको फाइदा बिचौलियाले उठाउने गरेको बताए ।

‘अस्पतालभित्रका चिकित्सक, कर्मचारीको लागनी भएको बाहिरपट्टि क्लिनिक र अस्पताल र औषधि पसल छन्’ डा. सिंहले भने, ‘उनीहरूले क्लिनिक र अस्पताल र औषधि पसल चलाउनुपर्छ । अस्पतालभित्रको कमजोरीहरूको फाइदा उठाएर बिरामीलाई आफ्नो क्लिनिक र अस्पतालमा लैजाने गरेका हुन् ।’

उनका अनुसार अस्पतालभित्र उपकरण छन्, तर बिग्रेका र मर्मत नभएका छन् । चिकित्सक छन्, उपलब्ध हुँदैनन् । यो अवस्थामा बिरामी पर्खन सक्दैनन् । यही कमजोरीको फाइदा त्यहाँका बिचौलिया कर्मचारीले उठाउने गरेका छन् ।

उनी सेती अञ्चल अस्पतालले विश्वसनीय र गुणस्तरीय सेवा दिन ‘फिजिकल फेसलेटी’ र जनशक्तिलाई बढाउनुपर्ने बताउँछन् । उनले सेती अस्पतालमा हाल भएका उपकरणहरू पनि बिग्रेको बताए । ‘बिग्रेका उपकरणको मर्मत गर्दै नयाँ उपकरण ल्याउनुपर्छ,’ उनले भने, ‘अर्काेतिर भएका जनशक्तिलाई उपयोग गर्न जान्नुपर्छ ।’

उनले डाक्टर भेटिंदैनन्, अस्पताल फोहोर छ, कर्मचारी र नर्सको व्यवहार राम्रो छैन जस्ता सानातिनादेखि ठूला गुनासो सम्बोधन प्रशासनिक सुधारबाट मात्रै गर्न सकिने बताए । ‘जनशक्तिको उपभोग भनेको पनि भएका कर्मचारी, चिकित्सकबाटै बढीभन्दा बढी सेवा अर्थात् काम लिने नीति अवलम्बन गर्नु हो,’ उनले भने, ‘तब मात्रै अस्पतालले विश्वसनीय र गुणस्तरीय सेवा दिन सक्छ ।’

सेवा निवृत्त सुपरिटेन्डेन्ट डा. सिंहका अनुसार प्रदेशको एक मात्र ठूलो सरकारी अस्पतालमा ४ वटा मात्रै आईसीयू छ । ३० वर्षदेखि दरबन्दीअनुसार चिकित्सक छैनन् । स्थानीयस्तरमा बस्ने विशेषज्ञ चिकित्सक नै छैनन् । जिल्ला अस्पतालबाट उपक्षेत्रीय अस्पतालमा बिरामी रेफर हुन्छन् । नामको मात्रै उपक्षेत्रीयमा झन् जिल्ला अस्पताल जतिको पनि सेवा छैन । यो प्रदेशको सेती अस्पताल रेफरल अस्पताल हो । यहाँ सिटी स्क्यान, एमआरआई, टाउको, मुटु, मृगौला रोगका विशेषज्ञहरू छैनन् । कार्डियोलोजिष्ट दरबन्दी भए पनि पदपूर्ति भएको छैन । अन्यन्त्र पठाउनै पर्ने भएको छ । यस कारण सेती अस्पतालले विश्वास गुमाउनुपरेको बताए ।

‘निजी स्तरमा खुलेका अस्पतालहरू पनि ‘कम्प्लिट’ प्याकेजमा कुनै चीजको सुविधा छैन,’ उनले भने, ‘हालसालै खुलेका ४/५ वटा निजी अस्पतालले आईसीयू/ एनआईसीयूलगायत विविध सेवा प्रचार गरेको अवस्था हो । तर सुविधा छैन ।’

उनले कुनै पनि निजी अस्पतालमा २४ घण्टा चिकित्सक नै उपलब्ध नभएको बताए । निजी अस्पताले बिरामीअनुसार चिकिसत्कहरू बाहिरबाट बोलाउने गरेको बताए । निजीमा आउने चिकित्सक पनि सरकारी अस्पतालकै हुने गरेको उनी बताउँछन् । ‘प्राइभेटका संरचनाहरू बढ्दै छन् तर उनले एउटा बिरामीले प्याकेजमा पाउने सेवासहितको सुविधा सम्पन्न अस्पतालमा निजी स्तरबाट लगानी नभएको बताए । नर्सिङ होममा मात्रै लगानी भएको छ । ती पनि सरकारी अस्पतालका डाक्टरबाट चलिरहेका छन् ।

प्रकाशित : कार्तिक १०, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?