पर्यटन विकास जहाँको त्यहीँ

मोहन शाही

डोटी — पर्यटन गन्तव्यहरूको प्रचारप्रसार तथा पूर्वाधार तयार गर्न नसक्दा डोटीको पर्यटन क्षेत्र ओझेलमा पर्दै आएको छ । जनप्रतिनिधिलगायत अन्य सरोकारवालाहरूले भाषणमा पर्यटन विकासका कुरा गर्दै आएका भए पनि कार्यान्वयन अवस्था भने जहाँको त्यहीँ छ  ।

पर्यटन विकास जहाँको त्यहीँ

डोटीको सबैभन्दा बढी पर्यटकीय सम्भावना बोकेको खप्तड र तेलेलेक वरपर रहेका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्भावनाबारे अहिलेसम्म सरकारी पक्षबाट अध्ययन भएको छैन । ‘डोटीको लागि पर्यटन सबैभन्दा बढी आयस्रोत क्षेत्र बन्न सक्छ,’ डोटी उद्योग वाणिज्य संघका महासचिव दीपक खडकाले भने, ‘यसले प्रदेश राजधानी अन्यत्र सारिएको चोटमा मलमपट्टी गर्न सक्थ्यो तर हामीकहाँ गफ बढी काम कम गर्ने प्रवृत्तिले समस्या पारेको छ ।’

पर्यटन क्षेत्रको विकासमा लगानी गर्न स्थानीय तहहरूबीच नै समन्वय हुन सकेको छैन । कतिपय सम्पदाहरूको संरक्षणका लागि स्थानीय तहहरूबीच संयुक्त लगानी हुनुपर्ने सुझाव पर्यटन व्यवसायी अमर शाहीको छ ।

पूर्वाधार अभाव झेल्दै खप्तड
भू–स्वर्गका रूपमा रहेको खप्तड क्षेत्रमा पूर्वाधार नहुँदा पर्यटकहरूको सहज आवतजावत हुन सकेको छैन । खप्तड क्षेत्रको विकासका लागि दिपायल सिलगढी नगरपालिका तथा सायल र पूर्वीचौकी गाउँपालिकाबीच संयुक्त लगानीबारे आपसमै तालमेल मिलिरहेको छैन । विगतदेखि खप्तड पर्यटन बोर्डका नाममा करोडौं भ्रष्टाचार भए पनि पूर्वाधार बन्न सकेको छैन ।

त्यहाँ अझै पर्यटकहरूलाई खान–बस्नसमेत समस्या हुने गरेको छ । विगतमा खप्तडको विकास नभए पनि स्थानीयतहबाट पहल गरिए नतिजा आउने आशा रहे पनि उनीहरूले समेत अग्रसरता देखाएका छैनन् । ‘सडक, आवास क्षेत्र तथा खप्तडसँग जोडिएका सम्पदाहरूको संरक्षण र विकासमा तिनवटै तह मिल्न जरुरी छ,’ जिल्लाका पुराना पत्रकार तथा कलाकार धनबहादुर मल्लले भने, ‘उनीहरू आफ्नै टुक्रे योजनाहरूमा रमाएका छन् । संयुक्त काम गर्ने विषयमा ठोस निष्कर्ष निकालेका छैनन् ।’

खप्तडलाई लक्षित गरी पूर्वीचौकी गाउँपालिकाको बगलेकमा होमस्टे स्थापना गर्ने, झिग्रानादेखि बिचपानीसम्म केबलकार वा पदलमार्ग बनाउने, सिलगढीदेखि झिग्रानासम्मको सडक कालोपत्रे गर्ने तथा बिचपानी र खप्तड पाटनमा सुविधासम्पन्न आवासीयसहितका होटलहरू सञ्चालन गर्न सके जिल्लामा पर्यटकको आगमन बढाउन सकिने डोटी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष नरेन्द्र खडका बताउँछन् । त्यससँगै सायलको भेलछडो झर्ना तथा पूर्वीचौकी गाउँपालिकाको धार्मिक, सांस्कृति पक्षको विकासमा जोड दिन सके ठूलो उपलब्ध हुने उनको भनाइ छ ।

तेलेलेक
खप्तडझैं पर्यटनको ठूलो सम्भावना बोकेको तेलेलेक क्षेत्र पनि हो । ठूलाठूला पाटनहरू, तालतलैया, जडीबुटी र खर्कको जीवन्त जीवनशैली तथा काफली शिखरको धार्मिक महत्त्व रहेको तेलेलेक शिखर नगरपालिका, जोरायल, बडिकेदार, केआईसिंह गाउँपालिकाको संगममा छ । तेलेलेक विकासका लागि चारवटै स्थानीय तहको संयुक्त पहल आवश्यक छ । तर, हालसम्म शिखर नगरपालिकाले मात्र अग्रसरता देखाइरहेको छ । तेलेलेकमा रहेका विभिन्न पाटन र तालहरूको संरक्षण गरी पर्यटक भित्र्याउने प्रयास भए पनि सबै पक्षबाट सहयोग पाउन नसकेको शिखर नगरपालिकाका नगरप्रमुख सीताराम जोशीले बताए ।

सेती नदीमा र्‍याफ्टिङ
निर्वाचनका बेला सबै उम्मेदवारहरूको एजेन्डा थियो, सेती नदीमा र्‍याफ्टिङ । निर्वाचन जितेपछि भने कसैले कार्यान्वयन गर्न सकेका छैनन् । नेपालमा सबैभन्दा कम जोखिमयुक्त, पारिवारिक वातावरणमा र्‍याफ्टिङ गर्न सकिने तथा लामो दूरीको जलयात्राका रूपमा सेतीलाई लिइएको भए पनि स्थानीय तहहरूले र्‍याफ्टिङमा लगानी गरेका छैनन् । बर्सेनि बजेट विनियोजन गर्ने प्रतिबद्धता भए पनि बजेट भने विनियोजन गर्न सकेका छैनन् । दिपायल सिलगढी नगरप्रमुख मञ्जु मलासीले पर्यटनका अन्य क्षेत्रमा नगरले लगानी गरिरहेकाले यस पटक र्‍याफ्टिङमा बजेट विनियोजन नभएको जानकारी दिइन् । खप्तडमा घुम्न आउने पर्यटकहरूलाई लक्षित गरी र्‍याफ्टिङ सञ्चालन गर्नुपर्ने मलासीको भनाइ छ ।

डोटी दरबार
दिपायलस्थित गनैरगौडा डाँडामा अवस्थित छ, डोटी दरबार । पहिला डोटी राज्यको मूल दरबार डडेल्धुराको अजयमेरमा थियो । जसलाई अहिले अजैमेरु कोट भनिन्छ । पहिला त्यहाँबाट नै डोटी राज्य व्यवस्था सञ्चालन हुँदै आएकोमा डोटेली राजा भूपति शाहको शासनकालमा गनैरगौडा डाँडामा राजदरबार बनेको थियो । अजैमेरुकोटमा हिउँदका बेला ज्यादै चिसो हुने भएपछि बीतकालीन दरबारको रूपमा दिपायलमा कोट निर्माण गरिएको थियो । तर, सन् १४३८ देखि ५० सम्म डोटी र कुमाउको युद्धपछि त्रसित तत्कालीन राजा कल्याण मल्लले दिपायलकोटमा राजधानी सारेका थिए ।

प्रकाशित : कार्तिक ११, २०७५ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?