सोख बन्यो व्यवसाय

गणेश चौधरी

टीकापुर — घर–ऑगनमा फूल रोप्नु घरको वातावरण राम्रो बनाउनु सबैको सोख हो  । टीकापुर नगरपालिका–१ बनगाउँका सीताराम चौधरी पनि आफ्नो घर आँगन ढकमक्क फूलले सिंगार्दै आएका हुन्  ।

सोख बन्यो व्यवसाय

अहिले भने उनले त्यो सोखलाई व्यवसाय बनाएका छन् ।

‘सभा, समारोह, उत्सव या जुनसुकै शुभकार्यमा फूलको प्रयोग हुन्छ । प्राकृतिक फूलको ठाउँमा कृत्रिम फूलको प्रयोगले पनि आवश्यकता पूर्ति गरेको पाइन्छ तर त्यसको ओज फरक हुन्छ,’ सीताराम भन्छन्, ‘तिहारमा दिदी बहिनीले दाजुभाइलाई फूलको मालाको साटो प्लास्टिकजन्य सामग्रीबाट बनेका माला लागाइदिएको देखँे । पुष्प खेतीको सम्भावना देखे र फूल खेती थाले ।’

पश्चिम नेपालको टीकापुुरमा व्यावसायिक पुष्प खेती गर्ने उनी पहिलो हुन् । १० कठ्ठा जमिनमा सयपत्री फूल ढकमक्क फुलेको छ । चितवनको पाख्रिन नर्सरीबाट ११ हजार बेर्ना ल्याएर साउनको दोस्रो साता उनले यो फूल रोपेका हुन् । एउटा बोटमा ३ देखि ५ वटासम्म माला बनाउने फूल फुलेको सीतारामले बताए । उनले भने, ‘एउटा माला ६० देखि ८० रुपैयाँसम्ममा स्थानीय बजारमा बिक्री भइरहेको छ ।’

सुरुमा बजारको समस्या हुने हो कि भन्ने उनलाई लागेको थियो । चुनौतीका बीच आफूले अवसर खोजिरहेको सीताराम सुनाउँछन् । उनले भने, ‘स्थानीय बजारमा बिक्री नभए फूल बिक्रीका लागि काठमाडौं लाने योजना छ ।’

फूल उत्पादनदेखि प्याकिङसम्मको तालिम लिएका चौधरीले फूल उत्पादक संघ फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फयान) सँग आबद्ध भएर काम गरिरहेको बताए । उनले भने, ‘फूलको आयात रोक्न फूल खेती विस्तार गर्दै जाने सोच छ ।’

टीकापुरलगायत यस क्षेत्रका साना ठूला बजारमा हुने कार्यक्रम र विभिन्न संघसंस्थामा हुने कार्यक्रममा टीकापुरको सयपत्री फूल देख्न पाइन थालेको छ । टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष परशुराम चपाईले संघको कार्यक्रमका लागि भारतबाट फूल ल्याउने गरिएकोमा अब त्यो बाध्यता रोकिएको बताए । उनले भने, ‘टीकापुरमा फरक खालको व्यवसाय सुरु भएको छ । राम्रो सम्भावना पनि छ ।’ तिहारमा मात्र करिब १० करोड बराबरको फूल खपत हुने गरेको तथ्यांक छ ।

करोडौं रुपैयाँको फूल भारतबाट आयात हुने गरेको पुष्प व्यवसायीहरू बताउँछन् । कैलालीमा त व्यावसायिक रूपमा पुष्प व्यवासाय सुरु भएकै थिएन । सीताराम भन्छन्, ‘पुष्प खेती व्यवसायमा अरू पनि आउन जरुरी देख्छु ।’

प्रकाशित : कार्तिक ११, २०७५ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?