कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

लाखौंका संरचना अलपत्र

मोहन शाही

डोटी — लाखौं सरकारी लगानीमा बनाइएका संरचना पाँच वर्ष नपुग्दै उपयोगविहीन बनेका छन्  । साविकको सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलको पिपल्ला बजार व्यवस्थापनका लागि बनाइएका नाली, रेलिङहरू, सडकपेटीहरू प्रयोगविहीन भएका हुन्  ।

लाखौंका संरचना अलपत्र

सहरी तथा भवन विकास डिभिजन राजपुर र दिपायल सिलगढी नगरपालिकाको संयुक्त लगानीमा बनाइएको नाली माटोले पुरिसकिएको छ । विभिन्न बहाना बनाउँदै व्यापारीले रेलिङ झिकेर फालेका छन् भने सडकपेटी अहिले व्यापारिक सामग्री राख्ने ठाउँ बनेको छ ।

ती संरचना निर्माणका लागि दिपायल सिलगढी नगरपालिकाले जगेडा कोषबाट ८० लाख र नगर विकासले ३० लाख रुपैयाँ खर्चेको थियो । सो रकमबाट ढकनसहितको नाली, सडकका दुवैतर्फ रेलिङ र सडकपेटीमा ब्लक बिछ्याइएको थियो । तर अहिले यी संरचना अनुपयोगी भइसकेका छन् । कतिपय ठाउँका रेलिङ माटाले पुरेर आधा भाग मात्र देखिएका छन् ।

दिपायल सिलगढी नगरपालिकाले निर्माण गरेको संरचनाको सदुपयोग स्थानीयबाट हुन नसक्दा समस्या उत्पन्न भएको आरोप छ । नगरपालिकाका प्राविधिक ज्ञानबहादुर शाहले व्यापारीहरूले आफ्नो मन मर्जीले रेलिङ झिक्ने, व्यापारिक सामान राख्ने र भवन निर्माणका क्रममा गिट्टी, बालुवा, ढुंगा, माटो जथाभावी फाल्दा नाली पुरिन गएको बताए । उनले नालीलाई ढलमा परिवर्तन गरिनुपर्ने सुझाव दिए । भवन तथा सहरी विकास डिभिजन डोटीका प्राविधिक श्याम नेगी पनि शाहकै सुझावमा सहमत छन् ।

तर, स्थानीय भने नगरपालिका र डिभिजनले निर्माण गर्दा नै प्राविधिक त्रुटि गरेकाले सदुपयोग नभएको बताए । ‘सडकको सतहभन्दा नाली अग्लो बनाएपछि सडकको पानी कहाँ जान्छ र सदुपयोग होस्’ स्थानीय घनश्याम पाठकले भने ।

प्रकाशित : कार्तिक १२, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?