कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

साइपाल हिमाल आरोहण गर्न असफल, भरियाको ज्यान गयो 

बसन्तप्रताप सिंह

बझाङ — सात हजार ३१ मिटर अग्लो बझाङमा रहेको साइपाल हिमाल आरोहणको प्रयास गरिहेको एक टोली आरोहण गर्न नसकेर फर्किएको छ । करिब २५ दिन देखी आरोहणको प्रयास गरिरहेको अमेरिकी र क्यानेडिन आरोहीहरुको टोली हिमाल आरोहण गर्न असफल भएको हो । 

साइपाल हिमाल आरोहण गर्न असफल, भरियाको ज्यान गयो 

अमेरिकी नागरिक र्फोरेस्ट सि कोट्सको नेतृत्वमा रहेको उक्त टोली दक्षिणी मोहडाबाट साइपाल हिमाल आरोहण गर्नका लागि अक्टोवर ३ तारिखका दिन साइपाल आधार शिविर पुगेको थियो । अमेरीकाका स्की खेलाडी विलियम एस लासेल्स, ट्यालेर जोन, वेनार्ड स्ट्राग्वलेवस्की, जोन्सन थम्पसन र क्यानाडाका चाड सार्यस समेत रहेको उक्त टोलीले हिमालको चुचुरोमा पुगेर स्की खेल्दै फर्कने योजना बनाएको थियो ।


अक्टोबर २७ तारिखको विहान आरोहण दलका सदस्य मध्ये ट्यालेर जोन र वेनार्ड स्ट्राग्लेवस्की ६ हजार ७ सय मिटर सम्म पुगेको थिए । अप्रत्यासित रुपमा तापक्रम घटेको र तिव्र गतिमा हावा चलेका कारण उनिहरु चुचुरोमा पुग्न नसकी फर्किएका थिए । यो अवधीमा उनीहरुले तिन पटक साइपाल आरोहणको प्रयास गरेको तर तिन वटै प्रयास असफल भएको आरोहण दलका सहयोगी शेर्पा दिल बहादुर थापा मगरले बताए ।


‘६० डिग्रीभन्दा बढी भिरालोपन भएका कारण दक्षिणी मोहडाबाट साइपाल आरोहण गर्न उसै पनि गाह्रो छ’ उनले भने ‘त्यसै माथि लगातार हिमपात हुने र जोरले हावा चल्ने भएका कारण हाम्रो टोली चुचुरोमा पुग्न सकेन’ दिउँसो १ घण्टा र बिहान सबेर एक डेढ घण्टा जतिमात्र हावा बन्द हुने र त्यो समय चुचुरोसम्म पुग्न अपर्याप्त हुने उनको भनाइ छ ।

अमेरिकी र क्यानेडिन टोली असफल भए पनि चार जना बझाङी चेलीसहितको विश्वविख्यात आरोहीहरुको टोलीले भने आरोहणको प्रयास गरिरहेको छ । जिल्लामै पहिलोपटक साइपाल गाउँपालिकाका लक्ष्मी बुढा, संगिता रोकाया, सुर्मा गाउँपालिकाकी पवित्रा बोहरा र तल्कोट गाउँपालिकाकी सरस्वती थापाले साइपाल हिमालको दक्षिणी मोहडाबाट कार्तिकको तेस्रो हप्तातिर आरोहणको प्रयास गर्नेछन् । यो हिमालको दक्षिणी मोहडाबाट हालसम्म कसैले पनि सफल आरोहण गर्नसकेका छैनन् ।


उनीहरुलाई आरोहणमा सहयोग गर्नका लागि संसारभर रहेका आठ हजार मिटर भन्दा बढी उचाईका सबै १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गरिसकेका गिनिजबुक रेकर्डधारी स्पेनिश नागरिक डा. जर्ज इगोचेएगा र आठ हजार मिटरभन्दा माथिकै सबै हिमाल चढिसकेकी संसारकी प्रथम महिला एडुर्ने पासावनलगायत १२ जना विदेशी आरोहीको टोली साइपाल वेसक्याम्प रहेको क्षेत्र साइपाल गाउँपालिकाको औंलागाड पुगेको छ । यो टोलीमा इटालीकी ७५ वर्षीया आरोही ओडिना ग्रोसो पनि सहभागी छन् ।


आरोहण दलमा १० पटक सगरमाथाको सफल आरोहण गरिसकेका पेछोम्बे शेर्पासहितका ५ जना अनुभवी शेर्पाहरुको टोलीसमेत रहेको छ । शेर्पाहरुले आरोहण गर्नका लागि आरोहण मार्गमा डोरी टाँग्ने काम गरिरहेको र आधार शिविरबाट आरोहण दलका सदस्यहरु करिब ५ हजार ५ सय मिटरको उचाईमा रहेको हाइक्याम्पमा पुगेको पर्यटन विभागका सम्पर्क अधिकृत मुकेश डंगोलले बताए ।


यो टोली करिब १५ दिनसम्म साइपाल क्षेत्रमा रहने र मौसम अनुकूल हुनेबित्तिकै हिमाल आरोहणको प्रयास गरिने एकजना शेर्पा लाक्पा नोर्बु शेर्पाले जानकारी दिए । उनले दिनहुँजसो भइरहेको हिमपात र वेगवान हावाका कारण आरोहण मार्गमा डोरी टाँग्ने काममा समस्या भैरहेको बताए ।


भरियाको ज्यान गयो

साइपाल हिमाल आरोहण गर्ने टोलीको सामान बोकेर फर्कंदै गरेका एक जना भरियाको भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा तल्कोट गाउँपालिका ३ का ३२ वर्षीय पुरन खत्री रहेको प्रहरीले जनाएको छ । तल्कोट गाउँपालिका ७ मा पर्ने सुनपानी भन्ने ठाउँको भीरबाट करिब ३ सय ५० मिटर तल खसेर उनको ज्यान गएको प्रहरीले जनाएको छ । उनी हिमाल आरोहणको असफल प्रयास गरेर फर्कंदै गरेको अमेरिकी र क्यानेडिएन टोलीको भारी लिएर साइपालबाट फर्कंदै थिए ।

मंगलबार साँझ नै उनी भीरबाट लडेको भए पनि उनीसँगका अरु भरियाले हराएको खबर प्रहरीलाई गरेपछि तल्कोट इलाका प्रहरी चौकीबाट गएको टोलीले खोजी गर्दा बुधबार दिउँसो मात्र उनको शव फेला परेको प्रहरी निरीक्षक नयनबहादुर साउदले बताए । उनको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइने र घटनाको थप अनुसन्धान गरिने साउदले बताए ।

प्रकाशित : कार्तिक १४, २०७५ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?