सुकुम्वासीका नाममा डेढ सयद्वारा निजी जग्गा कब्जा प्रयास

गणेश चौधरी

टीकापुर — टीकापुर नगरपालिका–९ पायलगाँउस्थित गोविन्दप्रसाद श्रेष्ठको जग्गा सुकुम्वासीका नाममा कब्जा प्रयास भएको छ ।

सुकुम्वासीका नाममा डेढ सयद्वारा निजी जग्गा कब्जा प्रयास

श्रेष्ठको व्यक्तिगत तथा मोहीयानी हकदार लौटन चौधरी, जोगीलाल चौधरी र महादेव चौधरीले भोगचलन गर्दै आएको ६ विगाह ४ कठ्ठा जग्गा ऐलानी भन्दै करिब १ सय ५४ वटा त्रिपाल हालेर बुधबार साँझदेखि कब्जा प्रयास गरेका हुन् ।

उक्त जग्गामा दैलेख, बाजुरा, अछाम र सुर्खेत र कालीकोटबाट सुकुम्वासीको नाममा आएकाहरुले टहरा बनाउने प्रयास गरेका थिए । प्रहरी, प्रशासन र नगरपालिकाको पहलमा उनीहरुलाई जग्गाबाट हटाइएको छ ।

श्रेष्ठको जग्गामा सुकुम्बासीको नाममा कब्जा गर्न आएकालाई टहरा नबनाउन आग्रह गर्दै स्थानीय, प्रहरी र जनप्रतिनीधिको पहलमा जग्गा खाली गराइरहेको टीकापुर–९का वडा अध्यक्ष लौटन चौधरीले बताए ।

धान बाली भित्र्याइ सकेपछि खाली रहेको जग्गामा पहाडी जिल्लाबाट उनीहरु सुकुम्बासीका नाममा बस्न आएका थिए । सत्ती भन्सार कार्यालय नजिकैको यो जग्गा ऐलानी भनेर आफूहरु बस्न आएको सुुकुम्बासीहरुले बताएका छन् । जग्गा कव्जा गर्न आएका अधिकांश दलित समुदायका रहेको जनाइएको छ ।

दैलेख सिंगौरीबाट सुकुम्बासीका नाममा जग्गा कव्जा गर्न आएका रंगे टमटा तराइमा सुकुम्बासीका लागि शिविर खुल्यो भन्ने सुनेर आएको सुनाए । उनले भने, ‘पहाडमा पनि जग्गा जमीन छैन । तराइमा जग्गा खुल्यो भन्ने सुनेर आए ।’

टीकापुरको विशाल नगर सुकुम्बासी शिविरका जलेश्वर सार्कीको नेतृत्वमा उनीहरु जग्गा कव्जा गर्न आएका इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए । उनले भने, ‘कसको डिजाइनमा कसरी यिनीहरु रातारात जग्गा कव्जाका लागि आए खुल्न सकेको छैन ।’

व्यक्तिगत जग्गा अतिक्रमण गरि अवैधानिक रुपमा नबस्न आग्रह गर्दै जग्गा खाली गराइएको टीकापुरका प्रहरी नायब उपरीक्षक सिंहले बताए । ‘सुकुम्बासीका नाममा जग्गा गर्न आएका उनीहरुसँगको छलफलपछि उक्त जग्गा खाली भएको छ । फेरि नआउने भनेका छन् । पछि के गर्छन्,’ सिंहले भने ।

प्रकाशित : कार्तिक १५, २०७५ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?