कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

थेग्नै नसक्ने सवारी चाप

७ किलोमिटरमा ७५ हजार सवारी, दुर्घटना बढ्दो
अर्जुन शाह

धनगढी — प्रदेशको अस्थायी राजधानी धनगढीको सडक पूर्वाधारले थेग्नै नसक्ने सवारी चाप बढेको छ  । धनगढीको बजार क्षेत्र करिब ७ किलोमिटर लम्बाइमा एकोहोरो छ  ।

थेग्नै नसक्ने सवारी चाप

सेती यायायात व्यवस्था कार्यालयमा दर्ता भएका डेढ लाखमध्ये आधा बढी सवारी साधनहरू यही सडकमा गुड्छन् ।


धनगढीमा एकोहोरो सडक मात्रै छ । चटकपुरदेखि क्याम्पस रोड मोती चोकसम्म करिब ७ किलोमिटरमै मुख्य बजार छ । यही सडकको किनारमा वारिपारि पसल व्यवसाय सञ्चालनमा छन् । धनगढीको बसपार्क पनि मूल सडकसँगै जोडिएको छ । इन्धन बिक्री केन्द्रहरू मेनरोडमै छन् ।


मन्त्रिपरिषद्लगायत प्रदेशका मन्त्रालयहरू, प्रदेशसभा, अस्पतालहरू, विद्यालय, बैंकहरू यही सडक किनारमै छन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, सहरी विकास लगायतका कार्यालयहरू पनि मूल सडकमै जोडिएका छन् । ‘किनमेल गर्नेहरू र कार्यालयका सेवाग्राहीको चापले धनगढी सडकमा सुरक्षा खतरा छ’ स्थानीय व्यवसायी प्रेम बोहराले भने, ‘वैकल्पिक मार्गहरू विस्तार नगर्ने हो भने दुर्गटनाको संख्या बढ्दै जाने देखिएको छ ।’


३० वटा बैंक पनि मुख्य बजार सडक किनारमै छन् । बैंकिङ कारोबार गर्नेहरूका कारण पनि बजारमा भीडभाड सवारी साधनहरूको पार्किङ सडक किनारमै हुन्छ । ‘अस्थायी राजधानी तथा प्रदेशको मुख्य व्यापारिक केन्द्र धनगढीको सडक पूर्वाधारले सवारी साधनहरूको चापलाई थेग्नै नसक्ने अवस्था छ’ क्षेत्रीय ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केशव रजौरेले भने, ‘सवारी चाप बर्सेनि बढ्दै छ, तर सडक पूर्वाधारको अवस्था जहाँको त्यहीं छ ।’ पछिल्लो समयमा धनगढीमा सञ्चालन हुने इ–रिक्साको चापले सडक सुरक्षामा जोखिम थपेको स्थानीय बासिन्दाहरू बताउँछन् ।


धनगढीमा पार्किङ अवस्था झन् अस्तव्यस्त देखिन्छ । प्रमुख व्यापारिक केन्द्र पनि भएकाले सवारी चाप बढ्दै जानु स्वाभाविक भएको सुरक्षाकर्मीहरू बताउँछन् । त्यसैमा सीमावर्ती भारतीय सहरबाट आउने व्यापारी र पर्यटकहरूको पनि धनगढी मुख्य गन्तव्य हो । ‘एकोहोरो तथा साँघुरो सडक भएकाले सवारी साधनहरूको पार्किङ व्यवस्थापन जटिल हुँदै गएको छ’ एसपी रजौरेले भने, ‘धनगढी बजार क्षेत्रको ३ ठाउँमा पार्किङ केन्द्र तोकेका छौं, तर अधिकांशले नियम उल्लंघन गर्छन् ।’ साँघुरो सडकमा जथाभावी गाडी रोक्ने र व्यापारिक सामान लोड अनलोड गर्ने चलनले पनि ट्राफिक व्यवस्थापनमा अप्ठ्यारो भएको ट्राफिक प्रहरी बताउँछन् ।


बर्सेनि १० हजारको संख्यामा मोटरसाइकलहरू थपिंदै गएको तथ्यांक छ । हालसम्म सेती यातायात व्यवस्था कार्यालयमा ५९ हजार ५० मोटरसाइकल दर्ता भएका छन् । अटो रिक्साहरूको संख्या २ हजार ९ सय रहेको उल्लेख छ । हाल धनगढीको मोहनादेखि अत्तरिया खण्डको करिब १४ किलोमिटर सडक चौडा गर्ने काम निर्माणाधीन छ । यो सडकको निर्माण सम्पन्न भए सवारी साधन संचालनमा केही सहजता आउने सुरक्षाकर्मीहरू बताउँछन् ।


धनगढीको मुख्य बजार खण्डलाई समेत विस्तार गर्ने योजना रहेको धनगढी उपमहानगरको कार्यालयले जनाएको छ । त्यसका लागि सघन सहरी विकास आयोजना लागू भएको नगरप्रमुख नृप वड बताउँछन् । बजार क्षेत्रको मुख्य सडक बढ्दो सवारी चापसँगै सुदूरपश्चिमका जिल्लाहरूमा दुर्घटनाको संख्या पनि वृद्धि हुँदै गएको पाइएको छ ।


कैलाली कञ्चनपुरमा दुर्घटनाको जोखिम अझ बढी छ । साउनयताको तीन महिना अवधिमा कैलालीमा भएका २२ घटनामा १३ जनाको मृत्यु भएको छ । यस अवधिमा प्रदेशका ९ जिल्लामा ४३ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा २५ जनाको मृत्यु भयो । ‘अन्य ८ जिल्ला बराबर कैलालीमा भएका दुर्घटनाको संख्या छ’ क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर जोराले भने, ‘कैलालीमा बढ्ता जोखिम देखिन्छ सडक फराकिलो गर्न सके मात्र यातायात व्यवस्थापन सहज हुनेछ’ उनले भने ।

प्रकाशित : कार्तिक १६, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?