कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सिटामोल लिन २ दिन पैदल

कोही बिरामी हुदाँ गाउँ नै खाली हुन्छ ।
यहाँ मान्छे छन् भन्ने सरकारलाई थाहा छैन : स्थानीय
बसन्तप्रताप सिंह

बड्ज्यावन, बझाङ — नेपालको संविधानले आधारभूत स्वास्थ्यको अधिकारलाई मौलिक हकको रूपमा मान्यता दिएको दुई वर्ष पूरा भइसक्यो  । तर बझाङमा अझै पनि यस्ता गाउँहरू छन्, जहाँका स्थानीयहरूले सिटामोल लिनकै लागि पनि आउँदा जाँदा दुई दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ  ।

सिटामोल लिन २ दिन पैदल

जिल्लाको दक्षिणी भेगमा रहेको बुङ्गल नगरपालिका वडा नं. ६ मा पर्ने दुर्गम गाउँ बड्डी ज्यावनका स्थानीयहरू वर्षाैदेखि यो समस्या झेल्दै आएका छन् । यस गाउँका मानिसहरूले उपचारको लागि जाने ठाउँ भनेको साबिक पिपलकोट गाविसको खौलाधारमा रहेको स्वास्थ्य चौकीमा हो । यो गाउँबाट त्यहाँ पुग्न स्वस्थ मान्छेले लगातार ७ घण्टा पैदल यात्रा गर्नुपर्छ । बिरामी मान्छे हिंडेर जाँदा पूरै दिन लाग्छ ।


‘गाउँमा मेडिकलसम्म पनि छैन । सामान्य बिरामी भए पनि खौलाधार नै पुग्नुपर्छ’ स्थानीय सुरेश धामीले भने ‘हिंड्न सक्ने बिरामी दिनभर हिंडेर साँझ पुग्छन् । हिंड्न नसक्नेलाई बोकेर लैजानुपर्छ’ गाउँमा स्वास्थ्य सुविधा नभएका कारण यहाँका मानिसहरू सामान्य बिरामी हुँदा धामीझाक्रीकै भर पर्ने गरेको उनले बताए ।


यस गाउँमा ३० परिवार धामी र बोहरा जातिको बसोबास रहेको छ । यहाँबाट नजिकको अर्काे गाउँ पुग्न कम्तीमा ५ घण्टा पैदल यात्रा गर्नुपर्ने हुन्छ । कोही बिरामी भयो र बोकेर लैजानुपर्‍यो भने गाउँ नै खाली हुने गरेको स्थानीय बेलमती बोहरा बताउँछिन् । उनी भन्छिन् ‘टाढाको बाटो छ । एक जना बिरामी भयो भने पालैपालो बोक्नका लागि २०/२५ जना सँगै जानुपर्छ । एक जना बोक्नुपर्ने बिरामी भयो भने गाउँ नै खाली हुन्छ ।’


गाउँमा प्रसूति केन्द्र तथा खोप केन्द्र नहुँदा बढी समस्या हुने गरेको धना बोहराले बताइन् । ‘कुनै महिलालाई व्यथा लाग्यो भने स्ट्रेचरमा बोकेर दौडाउनुपर्छ । भनेको बेला बोक्ने मान्छे पनि हँुदैनन्’ उनले भने ‘कतिपय बाटैमा बच्चा जन्माउँछन् । कतिपय बाटैमा ज्यान गुमाउँछन्’ । उनले नवजात शिशुलाई खोप केन्द्रसम्म ल्याउँदा लैजादा सुत्केरी महिलाले लामो यात्रा गर्नुपर्ने भएकाले विभिन्न स्वास्थ्य समस्या देखिने गरेको बताए ।


खोप केन्द्र लैजानका लागि दिनभर लाग्ने भएका कारण यहाँका कतिपयले बच्चाहरूलाई खोप नै नलगाउने गरेको अर्की स्थानीय देउमली बोहराको भनाइ छ । ‘खोप लगाउन जान दिनभर लाग्छ’ उनले भनिन् ‘खोपको महत्व बुझेकाहरू त हिंडेरै गएर पनि लगाउँछन् । धेरैजसो अशिक्षित र नबुझेकाहरू आजसम्म लगाइएन अब लाएर के नै पो हुन्छ भनेर खोपै लाउँदैनन्’ उनले गाउँमै खोप केन्द्र भइदिएको भए कोही पनि बालबालिका खोप लिनबाट वञ्चित हुन नपर्ने बताइन् ।


स्वास्थ्य संस्था टाढा भएका कारण बिरामी हुने बित्तिकै उपचार नपाउने र बिरामी थलिएपछि मात्र बोकेर उपचारका लागि लैजाने गरेको प्रताप धामीले बताए । यसो गर्दा कतिपय बिरामीहरू सिकिस्त भइसकेपछि मात्र स्वास्थ्य संस्थामा पुग्ने र ज्यानैसमेत गुमाउने गरेको उनको भनाइ छ । यो गाउँको जनसंख्या २ सयको हाराहारीमा संख्या रहेको उनले बताए । 


सरकारी उपेक्षा
यहाँको समस्यालाई लिएर स्थानीयहरू नगरपालिका र जिल्लाका विभिन्न निकायमा धाए पनि उनीहरूको कुराको कतैबाट सुनुवाइ नभएको बड्डी ज्यावनबासीको गुनासो छ । ‘यहाँ मान्छे बस्छन् भन्ने कुरा सरकारलाई थाहै छैन जस्तो लाग्छ’ स्थानीय कल्यान धामीले भने ‘सरकारलाई थाहा भए त हाम्रो समस्याको पनि सुनुवाइ हुँदो हो । न स्कुल छ, न स्वास्थ्य चौकी छ, हिंड्नलाई बाटो छैन ।

समस्यै समस्या छ’
दुर्गममा भएको कारण यस गाउँमा जनप्रतिनिधिहरू पनि नआउने गरेको यहाँका स्थानीयको भनाइ छ । ‘जिल्लाका नेता, नगरपालिकाको मेयरको त कुरै छोडौं वडा अध्यक्ष पनि यो गाउँमा आएका छैनन्’ स्थानीय नरबहादुर धामीले भने ‘भोट माग्दा खेरी सबै समस्या समाधान गर्छांै भनेर गफ लाएर गएका हुन् त्यसपछि फर्केर हेरेनन् ।’


भोट माग्नका लागि भनेर पूर्व सांसद नरेशबहादुर सिंह र वर्तमान प्रतिनिधि सभा सदस्य भैरवबहादुर सिंह एक पटक यस गाउँमा पुगे पनि अरू कोही पनि यहाँ नपुगेको स्थानीयहरू बताउँछन् । यस गाउँमा ८ वर्षअघि एकपटक तत्कालीन जिशिअ लोकनाथ पौडेल आएको र त्यसपछि कुनै पनि सरकारी अधिकृतले समेत पाइला नटेकेको उनीहरूको भनाइ छ ।


यता बुङ्गल नगरपालिका प्रमुख धनबहादुर बिष्टले भने आफू ज्यावन पुगेको र त्यहाँको समस्याको बारेमा जानकार रहेको बताए । उनले ‘वडा अध्यक्ष पुगेका छन् कि छैनन् मलाई थाहा छैन । म चाहिं २/३ पटक त्यहाँ पुगेको छु । त्यहाँका जनताको समस्या बुझेको छु भने ।’


उनले बड्डी ज्यावन र यो जस्तै टाढा रहेका गाउँहरूको पायक पर्ने गरी पारिबगर भन्ने ठाउँमा सामुदायिक स्वास्थ्य इकाइ संचालन गर्ने तयारी भइरहेको बताए । नगरपालिकाले स्वास्थ्य इकाइ स्थापना गर्ने ठाउँ पारिबगर पुग्नका लागि बड्डी ज्यावनबाट ४ घण्टा पैदल हिंड्नुपर्छ ।

प्रकाशित : कार्तिक १७, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?