३२ सिँचाइ योजना अलपत्र

मोहन बुढाऐर

धनगढी — कैलालीको बर्दगोरिया गाउँपालिका–२ दोदोधराको पिरुवा सिँचाइ योजनाको कुल लागत ४ करोड छ  । सरकारले आर्थिक वर्ष ०७५/७६ का लागि ८ लाख ४८ हजार मात्र विनियोजित गरेको छ  ।

योजनामा प्रदेश सरकारबाट बजेट थपेको छैन ।५० प्रतिशत निर्माण सम्पन्न भइसकेको योजनाको नहरमा अगामी वर्ष पानी सञ्चालन हुने अवस्था थियो । बजेटको अभावमा योजना अलपत्र पर्ने देखिएको छ । ठेकेदार कम्पनीले २ करोड बराबरको काम सम्पन्न भइसकेकाले भुक्तानीका लागि ताकेता गरिरहेको छ । हालसम्म भुक्तानी ४८ लाख मात्रै भएको छ । यस्तो अवस्थामा ठेकेदार कम्पनीले पाउनुपर्ने रकम नपाउँदा निर्माण कार्य बीचमै अलपत्र छोडिदिने जोखिम बढेको डिभिजन कार्यालयका एक इन्जिनियरले बताए ।

पिरुवा सिँचाई योजना एउटा उदाहरण मात्र हो । कैलाली जिल्लामा साना ठूला गरी ३२ वटा सिँचाइ योजना क्रमागत रूपमा संचालनमा रहेका छन् । लक्ष्य अनुरूपको बजेट निकासा नह‘ँुदा जिल्लामा १ अर्बभन्दा बढी लगानीमा निर्माण भइरहेका सिँचाइ योजनाको अलपत्र पर्ने भएका छन् ।

सरकारले उक्त क्रमागत योजनामा अािर्थक वर्ष २०७५/०७६ मा ८ करोड मात्रै विनियोजन गरेको छ । २० करोड लागतमा निर्माण हुने भनिएको खुरखुरिया सिंँचाइ योजनामा ८ लाख ४८ हजार बजेट विनियोजित भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ८ गुना कम हो । यही हाराहारीमा बजेट विनियोजित हुँदै गएमा ‘नातिको पाला’ सम्म पनि यो योजना सम्पन्न हुन हम्मे पर्ने प्राविधिक बताउँछन् ।

गत आर्थिक वर्षमा भने ७८ लाख ८३ हजार बजेट विनियोजित भएको थियो । यो योजनाको ‘कमाण्ड एरिया’ गौरीगंगा नगरपालिका–४ मा ६ सय हेक्टर पर्छ । यो पुन: निर्माण योजना हो । निर्माण सम्पन्न भएको तीन वर्षपछि ०६६ को बाढीले इन्टेक भत्काएपछि नहरमा पानी सञ्चालन हुन सकेको छैन ।

गौरीगंगा नगरपालिका प्रमुख भीमबहादुर देउवा उक्त सिँचाइ योजनामा परेको बजेटप्रति असन्तुष्ट छन् । ‘२० करोडको योजनामा ५/७ लाख बजेट दिने हो भने योजना कहिल्यै पूरा हुन सक्दैन’ उनले भने, ‘ यो भनेको पैसाको चुहावट मात्रै गरेको हो । सदुपयोग हँुदैन ।’

त्यस्तै सिँचाइ डिभिजन कार्यालयका अनुसार जिल्लाका महत्वपूर्ण जाइजाली, गुर्गी, बग्धौली, झाप्रेखोला, बन्देगडा, टेडिबाँध लगायतका सिँचाइ योजनामा समेत काम सुरु नै गर्न नसकिने गरी ७/८ लाख हाराहारीमा मात्रै बजेट विनियोजन भएको छ । त्यसैगरी नयाँ प्रविधिमा आधारित पातभारा, जानकी टोल, गोदावरी लिफ्ट, भक्तपुर सिँचाइ योजना, बहुलिया निमकोट ताल र बडीमालिका सिँचाइ योजनामा पनि पर्याप्त बजेट विनियोजन भएको छैन ।

Yamaha

बजेटको अभावमा यसै वर्ष सम्पन्न हुन सक्ने नयाँ प्रविधिमा आधारित सिँचाइ योजना सम्पन्न हुन मुस्किल छ । कैलाली जिल्लामा लागू भएका १३ वटा सेती महाकाली सिँचाइ विकास योजनामा पनि न्यून बजेटले कुनै काम गर्न सकिने अवस्था छैन । उक्त योजनामा ७५ हजारदेखि ५ लाख जति मात्रै बजेट विनियोजन भएको छ ।

जिल्ला डिभिजन कार्यालय प्रमुख अमरबहादुर पालले आफू भर्खरै सरुवा भई आएकोले जिल्लाको समग्र सिँचाइ योजनाको बजेट र प्रगतिबारे बुझ्न बाँकी रहेको बताए । ‘कुन योजनामा कति बजेट परेको छ ? र कति प्रगति भएको छ ? बुझ्न बाँकी छ’ उनले भने, ‘अनुमानित लागत बढी भएको योजनामा थोरथोरै बजेट विनियोजन हुनु भनेको काम ढिलोसुस्ती हुनु र राज्यको बजेटको चुहावट मात्रै हो ।’

उनले क्रमागत विकासका योजना चाँडो सम्पन्न गर्ने बजेट विनियोजन हुन आवश्यक रहेको बताए । कैलाली जिल्लाको कुल खेतीयोग्य जमिन ८९ हजार ९३५ हेक्टरमध्ये धान खेती ७२ हजार हेक्टरमा भइरहेको छ ।

प्रकाशित : कार्तिक १८, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

तरकारी बेच्न ६० किमि यात्रा

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको महाकाली नगरपालिका १० कुतियाकभरमा खड्के बुढा तरकारी खेतीका लागि चिनिएका किसान हुन्  । उनको बारीमा अहिले पनि मुला, परबल, भण्टा, तरुल लगायतको तरकारी छ  ।

उक्त तरकारी बेच्न उनी दैनिक ६० किलोमिटर यात्रा गर्छन् । बिक्री गर्ने तरकारी अघिल्लो दिन नै तयार गरेर बुढा बिहान झिसमिसेमै हिँड्छन् । उज्यालो हुँदासम्म महेन्द्रनगर पुग्छन् । ‘दैनिक एक/डेढ क्विन्टल तरकारी महेन्द्रनगर पुर्‍याउँछु’ बुढाले भने, ‘महेन्द्रनगरमा तरकारीको माग पनि बढी छ, मूल्य पनि राम्रो पाइन्छ ।’ महाकाली नदीमा निर्मित झोलुंगे पुल भएर महेन्द्रनगर आउने गरेका छन् । कुतियाकभरदेखि महेन्द्रनगरसम्मको दूरी ३० किलोमिटरभन्दा बढी छ ।

नेपाल–भारत सीमा क्षेत्रको बस्ती भएकाले बुढाका लागि भारतीय बजार नजिक छ । तर त्यहॉँ तरकारीको उचित मूल्य पाइँदैन । त्यही भएर धेरै टाढा भए पनि महेन्द्रनगर पुग्नुपरेको उनले बताए । उनले आधा बिघा आफ्नो र आधा बिघा वार्षिक ५० हजार भाडामा लिएको जमिनमा तरकारी खेती गरेका छन् । खुर्सानी, तरुल, मुला, परबर, भण्टासँगै बेसार र अदुवा समेत उनको बारीमा पाइन्छ ।

कुतियाकभरकै मानवीर सुनारले पनि मुला, बोडी र परबर उत्पादन गरेका छन् । उनी पनि खड्केसँगै दैनिक महेन्द्रनगर पुगेर आफ्नो तरकारी बिक्री गर्दै आएका छन् । ‘पारि भारतीय बजारभन्दा महेन्द्रनगरमा प्रतिकिलो ५/१० रुपैयाँ बढी पाइन्छ’ मानवीरले भने, ‘टाढा भए पनि तरकारीको मूल्य हामीले सोचेभन्दा राम्रो पाइन्छ ।’

मानवीर पनि दैनिक एक/डेढ क्विन्टल तरकारी महेन्द्रनगर पुर्‍याउँछन् । महेन्द्रनगरबाट फर्किंदा पनि सानो तिनो सामान लिएर आउँछन् । अहिले महेन्द्रनगरमा मुला प्रतिकिलो २०, परबर ४०, भण्टा ४० र बोडी ६० मा बिक्री हुने गरेको उनले बताए । ‘भारतमा यसको आधा मूल्य पनि पाइँदैन’ उनले भने, ‘नजिक भएर मात्रै के गर्नु, फाइदा हँुदैन ।’

कुतियाकभर तरकारी खेतीका लागि चिनिएको क्षेत्र हो । कुतियाकभरसँगै जोडिएको भारतको बंगाली बस्तीभरि तरकारी खेती गरिने भएकाले त्यहींको सिको नेपालीले पनि गरेका छन् । सिजन अनुसारका तरकारी लगाएर दोधारा चांँदनी र महेन्द्रनगरसम्म पुर्‍याउने गरिन्छ । ‘यहाँको माटो तरकारीका लागि निकै उर्बर छ’ लामो समयदेखि व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका खड्केले भने, ‘तर बजारको अभावका कारण कि त आफैंले बोकेर टाढासम्म लैजानुपर्छ, कि सस्तोमै बेच्नुपर्छ ।’

कुतियाकभरमा करिब ४० परिवारको बसोबास छ । यहांँ अधिकांश तरकारी उत्पादनमै लागेका छन् । तर यहांँका कृषकहरूले न त कुनै बीउ बीजन पाउँछन् न कुनै प्राविधिक सुविधा नै । छिमेकी बंगालीहरूबाट बीउबीजन लिएर तरकारी लगाउने गरेको उनीहरू बताउँछन् । बंगालीबाटै खेतीपाती गर्ने तरिकासमेत सिक्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।

प्रकाशित : कार्तिक १८, २०७५ १०:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT