१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

रानाथारूले यसरी मनाउँछन् ‘दिवारी’

रानाथारू समुदायको होली पछिको दिवारी दोस्रो प्रमुख चाड हो
भवानी भट्ट

कञ्चनपुर — तिहारको मुख्य दिन भाइटीका हो । दिदीबिहिनीले आफ्ना दाजुभाइलाई माला लगाएर पूजा गरिदिन्छन् । यसका साथै मिठो मसिनो खाना पनि दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसारको दान–दक्षिणा दिने गर्छन् । 

रानाथारूले यसरी मनाउँछन् ‘दिवारी’

पश्चिम नेपालको कैलाली र कञ्चनपुरमा मात्रै बसोबास गर्ने रानाथारू समुदायले भने तिहारलाई फरक तरिकाले मनाउने गर्छन् । उनीहरूले तिहारलाई ‘दिवारी’ चाडका रूपमा मनाउँछन् । औंसी (लक्ष्मी पूजा) को दुई दिनपछि दिवारी मनाउने चलन रहेको छ । उक्त दिन कुलदेवताको पूजा गरेर आफन्तकहाँ सबैजना भेला भएर दाल, भात र मासु खाने चलन रहेको छ ।

‘भाइटीका मनाउने हाम्रो चलन होइन,’ कञ्चनपुरको भीमदत्त नगरपालिका १६ का ७० वर्षिय केदारी रानाले भने, ‘दिवारीको दिन बिहान गोठबाट गोरु खोल्नुभन्दा पहिले नै कुलदेवताको पूजा गरिन्छ, ‘त्यसपछि गाउँमा पालैपालो एकअर्काको घरमा दालभात खाने चलन छ ।’ उनका अनुसार दिवारीको अघिल्लो र एक दिनपछि हरेक दिन बिहान पालो लगाएर एकअर्काको घरमा भात खाने र रक्सी पिउने चलन छ ।


दिवारीको दिनलाई रानाथारू भाषामा द्विज पनि भन्ने गरिन्छ । उक्त दिन २ भाले र २ पोथी गरी ४ वटा कुखुराको बलि दिएर कुलदेवताको पूजा गरिन्छ । यतिबेला राना थारू समुदायमा दिवारीका लागि घर लिपपोतदेखि पूजासामग्री जुटाउने काम धुमधामका साथ चलिरहेको छ । विगतमा पूजाका लागि चाहिने कुखुरा घरमै पालेको हुन्थ्यो । तर अहिले त्यो पनि किन्नुपर्ने अवस्था आएको भीमदत्त नगरपालिका १४ नयाँ कटानका ७१ वर्षीय हरिसिंह रानाले बताए । ‘अहिले दिवारी धेरै महँगो भयो,’ उनले भने, ‘सबैथोक किनेर ल्याउनुपर्ने अवस्था छ ।’

रानाथारू समुदाय अहिले पनि काठ र माटोले बनेको कच्ची घरमै बसोबास गर्छन् । उक्त घरको लिपपोत महिलाहरूले गर्छन् । ताल वा पोखरीको बर्खामा गलेको माटोको प्रयोग गरी घरको लिपपोत गरिन्छ । यसरी लिपेको घर निकै आकर्षक देखिन्छ । कतिपयले अहिले आएर पक्की घर पनि बनाउन थालेका छन् । यसले राना थारू समुदायको मौलिकता पनि जोखिममा परेको छ ।

कुलदेवताको पूजासँगै बिहान एक छाकमात्र खाना खाएर मनाइने रानाथारूको दिवारी अचेल परिवर्तन हुन थालेको छ । भैलो खेल्ने र भाइटीका लगाउने चलन पनि बिस्तारै सुरु भइसकेको छ । नयाँ पुस्ताका भाइबहिनीले टीका लगाउने, बालबालिकाले पहाडी समुदायका बालबालिकासँगै भैलो खेल्ने लगायतका चलन सुरु भएको केदारी बताउँछन् । ‘अहिले पनि बुढापाकाले भाइटीका लगाउने पहाडीहरूको जस्तो चलन सुरु गरेका छैनन्,’ उनले भने, ‘नयाँ पुस्ताले भने नयाँ चलन पनि सिक्दै गएका छन् ।’

नयाँ पुस्ताले पाँचै दिन तिहार मनाउन थालेको छ । विगतको जस्तै आफन्तकहाँ भात खान जाने वा आफन्तलाई बोलाउने कुरामा पनि कमी आउन थालेको छ । पुरानो पुस्ताले भने यसलाई निरन्तरता दिएको छ । ‘हाम्रो दिवारी भनेकै कुलदेवताको पूजा हो,’ नयाँ कटानकी शारदा रानाले भनिन्, ‘अहिलेका केटाकेटीले नयाँ कुरा पनि सिक्दै गए ।’

नयाँ कटानमा ४० परिवार रानाथारूको बसोबास छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा हालको अर्जुनी क्षेत्रबाट विस्थापित भएका उनीहरूलाई नयाँ कटानमा सट्टाभर्ना जग्गा दिएर बसोबास गराइएको थियो । त्यतिबेला १० परिवार मात्रै थिए । अहिले ४० पुगेको छ । पहिले २५–३० जनासम्मको ठूलो परिवार संयुक्त रूपमै सँगै बस्ने भएकाले चाडपर्वमा पनि रमाइलो हुन्थ्यो । तर अहिले स–साना परिवार बनेका छन् ।

प्रकाशित : कार्तिक २२, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?