१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तिहारपछि रित्तिँदै गाउँ

मेनुका ढुंगाना

अछाम — दोस्रो ठूलो पर्व तिहार सकिएसँगै अछामका गाउँघरतिरको चहलपहल घटदै गएको छ । दसैंतिहारका लागि यहाँका गाउँघरमा आएका स्थानीय रोजगारी, अध्ययन र कामको सिलसिलामा सहर र भारततिर फर्किन थालेपछि गाउँघरमा चहलपहल घटदै जान थालेको हो । 

तिहारपछि रित्तिँदै गाउँ

चाडपर्व मनाउन आएकाहरू धमाधम फर्किरहेका छन् । पिपलतोली गाउँका ईश्वर ढुंगानाले केहीदिन चहलपहल देखिएको गाउँघर तिहार सकिए लगत्तै सुनसान बनेको बताए । जिल्लाका अधिकांश बस्तीमा घरैपिच्छे वैदेशिक रोजगारी तथा सहरी क्षेत्रलाई कार्यक्षेत्र बनाएकाहरू छन् । ‘गाउँमा सधैंलाई चहलपहल ल्याउन विकासका पूर्वाधार भित्र्याउन जरुरी छ,’ उनले भने ।


तिहार मानेर काठमाडौं फर्कंदै गरेकी मंगलसैन नगरपालिका ६ की कमली भण्डारी सबै जना सहरतिरै बस्न चाहने भएकाले गाउँबस्ती सुनसान हुनुलाई स्वाभाविक ठान्छिन् । काठमाडौंमा रोजगारको सिलसिलामा बस्दै आएकी उनी तिहार मान्न जसरी पनि पहाडकै गाउँ आउने गरेको बताइन् । ‘अरू समय जहाँ रहे पनि जन्मथलो नपुगी दसैं/तिहार आएजस्तै लाग्दैन,’ उनले भनिन्, ‘तर पेसा अन्यत्र रहेपछि गाउँमा बस्न मन लाग्दालाग्दै फर्कन बाध्य हुनुपर्छ ।’ लिंगे पिङ खेल्दा अनि साथीसंगी भेटेर बाल्यकालका स्मरण सुनाउँदा निकै रमाइलो हुने गरेको उनको भनाइ छ ।


चौरपाटी गाउँपालिकाको सिउडीबासी पनि तिहारपछि गाउँबस्ती सुनसान हुने बताउँछन् । यो गाउँमा बसाइँसराइको समस्या चरम छ । बसिरहेका थोरै घरधुरीमा चाडपर्वमा आफन्त आउँदा पनि निकै रमाइलो हुने स्थानीय नम्रता धामी बताउँछिन् ।


तिहार मनाउन र खेतीपाती भित्र्याउन भारतका विभिन्न ठाउँबाट गाउँघरमा फर्किएका युवासमेत काममा फर्किन थालेका छन् । जिल्लाबाट कामको सिलसिलामा बिदेसिएका हजारौं युवा दसैं मनाउन र काममा घरपरिवारलाई सघाउन असोज महिनामा घर आएर कात्तिक महिनामा फर्किने गरेका छन् । यहाँका ग्रामीण क्षेत्रका अधिकांश युवा गहुँ छर्ने काम सम्पन्न गर्नुका साथै विभिन्न शक्तिपीठहरूमा लाग्ने जात्रा सम्पन्न भएपछि काममा फर्किने गरेका छन् ।


गाउँबाट कर्मक्षेत्र फर्किनेको संख्यामा वृद्धि भएसँगै अछामका विभिन्न सडकमा चल्ने जिप तथा गाडीमा यात्रुको भिड लाग्ने गरेको छ ।

प्रकाशित : कार्तिक २६, २०७५ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?