खानेपानी लिन ४ घण्टा
डडेलधुरा — प्रदेश सरकारको एक अर्ब बढी लगानी, अधिकांश स्थानीय सरकारको ४० प्रतिशतभन्दा बढी लगानी खानेपानीमा भएपनि नवदुर्गा गाउँपालिकाअन्तर्गतका आधा दर्जन गाउँवासीले भने खानेपानीका लागि दैनिक ४ घण्टा पैदल हिँडेर पनि उनीहरूले सहज रूपमा पानी पाउन सकेका छैनन् ।
नवदुर्गा गाउँपालिका ५ का ठाँटा बजार, कुणी, खाणा पोखरी, दुलौना, मल्लाउ, उनीगैरसहितका एक दर्जन गाउँमा बासिन्दाले खानेपानीका लागि दैनिक चार घण्टासम्म पैदल हिँड्नुपरेको हो ।
परम्परागत पानीका स्रोत सुक्दै जान थालेपछि गाउँमा पानीको हाहाकार भएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । ‘गाउँ नजिक पानीका कुनै पनि मुहान छैनन्,’ स्थानीय हर्कबहादुर साउदले भने, ‘मुहान टाढा भएका कारण खानेपानीका योजना सञ्चालन गर्न कुनै पनि निकायले चासो राखेका छैनन् ।’
स्थानीय सरकार खानेपानी डिभिजन कार्यालय डडेलधुरा, प्रदेश सरकार र खानेपानीसम्बन्धी काम गर्ने आधा दर्जन बढी गैरसरकारी संघसंस्थासँग अनुरोध गर्दा पनि खानेपानीका लागि गाउँमा योजना आउन नसकेको उनले बताए ।
‘प्रदेश सरकारले व्यक्तिका कुला, नहर र निजी खानेपानी योजनामासमेत करोडौं लगानी गरेको छ,’ स्थानीय देव साउदले गुनासो गर्दै भने, ‘हाम्रो वडामा भने एउटा पनि खानेपानी योजना सञ्चालन हुन सकेको छैन ।’ आफ्नै गाउँपालिकामा विभिन्न गैरसरकारी संस्था र सरकारको लगानीमा ३ दर्जन बढी खानेपानी योजना संचालनमा रहेको बताउँदै उनले भने ‘एउटा वडाका आधा दर्जन गाउँलेले भने खानेपानीका लागि घण्टौं पैदल हिँडेर पनि सहज रूपमा पानी पाउन सकेका छैनन् ।’
५ वर्षयता गाउँका अधिकांश खानेपानीका परम्परागत मूल सुकेपछि खानेपानी समस्या भएको हो । गाउँदेखि १० किलोमिटरभन्दा पनि दूरीमा मात्र खानेपानीका मुहान रहेका छन् । वडाको सामान्य बजेटबाट मात्र खानेपानी योजना सम्पन्न हुन नसक्ने भएकाले स्थानीयले पटक पटक खानेपानी डिभिजनसंग अनुरोध गरेका हुन् । ‘पछिल्लो समय प्रदेश सरकारसँग पनि लिखित र मौखिक खानेपानीको माग गरेका हौं,’ स्थानीय बासिन्दा साउदले भने, ‘कुनै पनि निकायबाट खानेपानीका लागि उचित पहल हुन सकेको छैन ।’
खानेपानीको समस्या भएपछि यस क्षेत्रका महिला र बालबालिकाले बिहान ४ बजे उठेर खानेपानीको जोहो गर्नु दैनिकी नै बनेको छ । दैनिक २ घण्टाको दूरीमा रहेको मुहानबाट हरेक बिहान खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यता भोग्दै आएका छन् ।
स्थानीय विद्यालयमा कक्षा ५ मा पढ्ने वीरबहादुर साउँद भन्छन्, ‘खानेपानी बोक्नुपर्ने भएपछि धेरैजसो बालबालिका समयमा विद्यालय पुग्न पाउंदैनन् ।’ घरमा पालो लगाएर विद्यालय जानुपर्ने बाध्यता रहेको पनि उनले बताए । पानीको मुहान भेट्टाउन दुई घण्टा हिंड्नुपर्ने भएकाले समूह बनाएर बालबालिकाले पानी बोक्ने गरेका छन् ।
८ घरधुरी रहेको उक्त वडाका खानेपानी समस्या भएका आधा दर्जनमा ७ हजार बढी जनसंख्या रहेको छ । गाउँलेले खानेपानीको जेनतेन जोहो गरेपनि नुहाउन र पशु चौपायालाई पानी खुवाउन भने कठिन भएको छ । पानी नहुँंदा घर घरमा बनेका शौचालय पनि प्रयोगविहीन बनेका छन् । खुला दिसामुक्त भएको गाउँ भए पनि पानीको समस्याले शौचालय जति स्थानीयले घाँसपात राख्ने गरेका छन् ।
नवदुर्गा गाउँपालिका अध्यक्ष कविन्द्र विष्टले खानेपानीको समस्या भएका गाउँमा आवश्यक सर्भे गरेर यसैपालि खानेपानी योजना सुरु हुने जानकारी दिए । विष्टले भने ‘पानीका मुहान नहुँदा गाउँमा खानेपानीको गम्भीर समस्या देखिएको हो ।’
यस आर्थिक वर्षभित्र गाउँमा शुद्ध खानेपानीको व्यवस्था गरिसक्ने पनि उनले बताए । ‘यो आर्थिक वर्षमा ३ वटा खानेपानी योजना सम्पन्न गर्ने लक्ष्य राखेका छौं,’ अध्यक्ष बिष्टले भने, ‘लक्ष्यअनुरूप काम भइरहेकाले समयमा खानेपानी योजना सम्पन्न हुनेछन् ।’ ठूला योजना गाउँपालिकाको बजेटले भ्याउन नसक्ने भएकाले साना साना योजना बनाएर काम अगाडि बढाउने पनि उनले बताए ।
प्रकाशित : कार्तिक २६, २०७५ ११:३४