१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पुरातत्व विभागद्वारा बझाङका दरबारको अध्ययन

बसन्तप्रताप सिंह

बझाङ — पुरातत्व विभागको एक टोलीले तत्कालीन बझाङ्गी राजाहरुले बनाएका दरबारहरुको अध्ययन गरेको छ । टोलीले हाल अस्तिवमा रहेका र भग्नावशेषमा परिणत भइसकेका पुरातात्विक महत्वका दरबारहरुको अध्ययन गरेको हो । 

पुरातत्व विभागद्वारा बझाङका दरबारको अध्ययन

टोलीले मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहले निर्माण गरेको अनुमान गरिएको छविस पाथिभेरा गाउँपालिकाको मेल्लेकस्थित जयपृथ्वी नगर दरबारको भग्नावशेष, छविसपाथिभेरा गाउँपालिकामै रहेको ब्याँसीकोट दरबार, जयपृथ्वी नगरपालिकामा रहेको हातिसार दरबार र भोपुर दरबारको अध्ययन गरको हो ।


पुरातत्व अधिकृत प्रकाश खड्का र आर्किटेक्ट इन्जिनियर श्रद्धा अधिकारीको टोलीले दरबारहरुको ऐतिहासिक र पुरातात्विक महत्वको बारेमा अध्ययन गरेको थियो ।


पुरातात्विक र ऐतिहासिक महत्वका हिसाबले बझाङमा रहेका सबै दरबारहरु महत्वपूर्ण रहेको तर संरक्षणका दृष्टिले निकै नै लापरबाही देखिएको टोलीका सदस्य एवं पुरातत्व अधिकृत प्रकाश खड्काले बताए । हाल जिल्ला प्रशासन कार्यालयको प्राङंगणमा रहेको हातिसार दरबार तुलनात्मक रुपमा संरक्षणको पहल गरिएको भएपनि नेपाली सेनाको जिम्मामा रहेको भोपुर दरबारको अवस्था दिन प्रतिदिन जीर्ण हुँदै गएको उनले बताए ।


यस्तै छविस पाथिभेरा गाउँपालिकामा रहेको ब्याँसीकोट दरबारमा पुरातात्विक महत्वका सामाग्री शिलालेख र वास्तुकलाहरु रहेको भएपनि दरबार बेवारिसे अवस्थामा रहेको अध्ययन टोलीको भनाई छ । ‘सबै दरबारहरुको ऐतिहासिकताका हिसाबले निकै महत्वपूर्ण छन् ।’


खड्काले भने,‘यिनीहरुको संरक्षण गर्न कुनै पनि निकायको ध्यान गएको छैन । अहिले अस्तित्वमा भएका दरबारहरुको संरक्षण गर्न सकिएन भने हेर्दा हेर्दै भग्नावशेषमा परिणत हुन सक्छन्’ उनले दरबारको संरक्षण र प्रचार प्रसार गर्न सके पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने बताए ।


मेल्लेक दरबारको पुर्ननिर्माण गरिनेः

अध्ययनका क्रममा छविस पाथिभेरा गाउँपालिकाको मेल्लेक स्थित जयपृथ्वी नगर दरबारको भग्नावशेस ऐतिहासिकताका हिसाबले महत्वपूर्ण रहेको र यसको पुर्ननिर्माणका लागि विभागले दरबारको नक्सा र लागत स्टिमेट तयार गर्ने आर्किटेक्ट इन्जिनियर श्रद्धा अधिकारी बताइन् ।


छविस पाथिभेरा गाउँपालिकाको वडा नं २ मेल्लेक भन्ने ठाउँमा रहेको उक्त दरबारको भग्नावशेषमा पुरात्वविक र ऐतिहासिक महत्वका सामाग्री भेटिन सक्ने अनुमान रहेकाले दरबारको भग्नावशेषलाई तारबार गरेर सुरक्षित राख्नुपर्ने टोलीको सुझाव छ ।


विक्रम संवत् १९४७ सालतिर निमार्ण भएको अनुमान गरिएको उक्त दरबारको भग्नावशेषको उत्खनन्बाट आज भन्दा एक शताब्दी पहिलेको वास्तुकला, इन्जिनियरिङ, लगायत विभिन्न रहस्यहरु पत्ता लाग्ने सम्भावना भएको बताउँदै उनले भनिन्,‘अहिले भग्नावशेष उत्खनन् गर्नु भन्दा पनि संरक्षण गर्नु जरुरी छ । खुला र सबैको पहुँचमा भएकाले भग्नावशेषमा रहेका सामानहरु दिनप्रतिदिन हराउँदै जान सक्ने खतरा छ ।’


९ तल्ला रहेको अनुमान गरिएको उक्त दरबारको १ तला जमिन मुनि रहेको र दरबारको जग निमार्णमा बहुमूल्य घातुहरुको प्रयोग गरिएको बुढापाकाहरुले बताउने गरेको छविस पाथीभेरा गाउँपालिका वडा नं २ का अध्यक्ष विकास ऐडीले बताए । तर इन्जिनियर अधिकारीले दरबार कति तलाको थियो भन्ने कुरा अहिले नै पक्ता नलागे पनि ३ तला सम्मको संरचना रहेको कुरा देखिएको र भूमिगत रुपमा रहेको एक तलाको भग्नावशेष अहिले पनि सुरक्षित रहेको बताईन् । उनले हाललाई भग्नावशेषलाई सुरक्षित राखेर दरबारको नजिकै रहेको ठाँउमा त्यस्तै खालको अर्को दरबार बनाउनका लागि पुरातत्व विभागले डिजाइन बनाउने जानकारी दिइन् ।


दरबारको पुर्ननिर्माण भैसकेपछि यसलाई जयपृथ्वी बहादुर सिंह मानवतावाद अध्ययन प्रतिष्ठानको रुपमा यसको विकास गर्ने लक्ष्य रहेको वडा अध्यक्ष विकास अयडीको भनाई छ । ‘दोस्रो गौतम बुद्धको रुपमा रहेका जयपृथ्वीबहादुर सिंहको दरबार पुरानै स्वरुपमा पुर्ननिर्माण गर्ने र पुरातात्विक र ऐतिहासिक महत्वका वस्तुको संरक्षण गर्ने काम गर्न पहल गरिरहेका छौँ ।’ अयडीले भने,‘यसलाई प्रतिष्ठानको रुप दिएर मानवतावादको बारेमा अध्ययन गर्न चाहानेहरुको लागि अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्य रहेको छ ।’


यो दरबारलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्नका लागि गाउँपालिकाले गुरुयोजना तयार गरिहेको छविसपाथीभेरा गाउँपालिकाका अध्यक्ष अक्कलबहादुर धामीले बताए ।


भग्नावशेषको उत्खनन् र अध्ययनको लागि गाउँपालिकाले ४० लाख बजेट समेत विनियोजन गरेको बताउँदै अध्यक्ष धामीले भने,‘विश्वभर मानवताको सन्देश फैलाएर अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको गरिमा बढाएका सिंहको जन्मस्थललाई विश्वभर चिनाउने अभियान थाल्ने गरी हामीले गुरुयोजना सहित उत्खनन्को काम थालेका छौँ’ उनले गाउँपालिकाको स्रोतले मात्र उत्खनन् र पुर्ननिमार्णको काम सम्पन्न नहुने भएकाले नेपाल सरकारका अन्य निकायसँग पनि स्रोत जुटाउनका लागि आफूहरुले गृहकार्य गरिरहेको बताए ।


बझाङ जिल्लाको शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक पूर्वाधारको विकासमा निकै ठुलो योगदान दिएका राजा जयपृथ्वीबहादुर सिंहले यसै दरबारबाट ६ वर्ष जति शासन गरेको अनुमान छ । दरबारको उत्खनन् पछि जयपृथ्वीबहादुर सिंहको पालाका थुप्रै रहस्यहरु पत्ता लाग्ने र जयपृथ्वीनगर पर्यटकीय नगरको रुपमा विकास हुने आशा रहेको स्थानीय विक्रम मण्डेलले बताए ।


यसअघि पुरातत्व विभाग क्षेत्रीय संग्राहालय सुर्खेतका प्रमुख डबलप्रशाद शर्मा नेतृत्वको टोलीले यस दरबारको ऐतिहासिक एवं पुरातात्विक महत्वका बारेमा अध्ययन गरेको थियो ।

प्रकाशित : कार्तिक २६, २०७५ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?